कर्णाली प्रदेशका तीन सांसदले गरे एकीकृत समाजवादीको पक्षमा सनाखत

सुर्खेत –   कर्णाली प्रदेशका तीन सांसदले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । उनीहरू एमाले छाडेर एकीकृत समाजवादीमा लागेका हुन् ।

मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदम रोकाय र रुकुमकी देवी ओलीले बुधबार कर्णाली प्रदेशस्थित निर्वाचन आयोगको कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

सांसद देवी ओलीले कर्णालीका अरु सांसद पनि एकीकृत समाजवादीमा आउने बताइन् । ‘मलगायत तीन सांसदले सनाखत गरेका छौं,’ उनले भनिन्, ‘सनाखत गर्ने समय बाँकी रहेकाले अरु सांसद थपिन्छन् ।’ २२ भदौसम्म सनाखत गर्ने समय रहेको छ ।

तीन सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेसँगै प्रदेशसभामा अब एमालेका १३ जना सांसद छन् । प्रदेशमा एमालेका २० सांसद थिए । माधव नेपाल समूहसँग विगतमा रहेका प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा, नन्दसिंह बुढाले फ्लोर क्रस गरेपछि एमाले सांसदबाट कारबाही गरिएको थियो ।

नेपाल समूहमा रहेका सुर्खेतका पद्मा खड्का, जाजरकोटका करवीर शाही संस्थापन पक्षमा देखिएका छन् भने दैलेखका सुशील थापाले अझैसम्म प्रस्ट धारणा बनाइसकेको अवस्था छैन ।





error: Content is protected !!