कर्णालीमा एक वर्षमा २१ किलोमिटर सडक कालोपत्रे

सुर्खेत ः कर्णाली प्रदेश सरकारले एक वर्षमा २१ किलोमिटर सडक कालोपत्रे गरेको छ। आर्थिक वर्ष २०७७/ ७८ मा सुर्खेत र सल्यानमा २१ किलोमिटर सडक कालोपत्रे गरिएको हो। यसअघिका दुई वर्षमा गरिएको आठ किलोमिटर कालोपत्रेमध्ये अधिकांश सडक सुर्खेतको वीरेन्द्रनगरका हो।

वीरेन्द्रनगरमा सरकारी कार्यालय र हटलाइन सडकहरु कालोपत्रे गरिएको हुन्। सरकारी कार्यालयहरु केन्द्रित सडकहरु आँखा अस्पताल चोकदेखि जिल्ला प्रशासन कार्यालय हुँदै खारखोलीसम्म, नेपाल टेलिकमदेखि प्रदेशसभा कार्यालय हुँदै गुरुङचोकसम्म, आन्तरिक मामिला मन्त्रालयदेखि पूर्वाधार विकास निर्देशनालयसम्म, शिवालयचोक–इत्राम स्कुल हुँदै घण्टाघरदेखि क्याम्पस रोडसम्मको सडक खण्ड कालोपत्रे भएका छन्।

प्रदेश सरकारले वीरेन्द्रनगरमा मात्रै ३० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको थियो। तर‚ १९ किलोमिटर सडक मात्रै कालोपत्रे गरिएको छ। वीरेन्द्रनगरका विभिन्न ३६ वटा सडकको स्तरोन्नति थालिएको थियो। ३६ सडकमध्ये २५ वटा सडकलाई सहरी सडकका रुपमा स्तरोन्नति गरिएको छ।

साढे सात सय किलोमिटर नयाँ सडक

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७र७८ मा ७५८ दशमलब २ किलोमिटर नयाँ सडक निर्माण गरेको छ।

त्यस्तै‚ गत आर्थिक वर्षमा ११३ किलोमिटर सडक ग्राभेल गरिएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका प्रवक्ता गोपाल शर्माले जानकारी दिए। जबकि आर्थिक वर्ष २०७६र७७ मा प्रदेशभर जम्मा ४९ किलोमिटर मात्रै सडक ग्राभेल गरिएको थियो।

प्रदेश सरकारका मुख्य उपलब्धि

कोरोना महामारीको प्रतिकूल अवस्थामा पनि साढे ६५ प्रतिशत बजेट कार्यान्वयन हुनुलाई प्रदेश सरकारले सबैभन्दा ठूलो उपलब्धि ठानेको छ। यो आर्थिक वर्ष २०७६र७७ को तुलनामा ३३।३३ प्रतिशतले बढी हो। त्यस्तै‚ निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन हुनुलाई पनि प्रदेश सरकारले अर्का उपलब्धिको रूपमा लिएको छ।

गत आर्थिक वर्ष प्रदेश सरकारले ३२ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। तर‚ ५० करोड रूपैयाँ संकलन भएको छ।

त्यस्तै‚ अन्य उपलब्धिमा कर्णालीको दुध काठमाडौं निर्यात गर्नु, प्रदेशका ४० वटा स्थानीय तहमा प्राङ्गारिक खेतीको नक्सांकन तयार पार्नु, फलफूल खेतीको क्षेत्रफल विस्तार, एक लाख खसीबोका निकासीलाई पनि कोरोना नियन्त्रणका लागि आइसियु, भेन्टिलेटर, अक्सिजन प्लान्ट, एम्बुलेन्स, होल्डिङ सेन्टर एवं रणनीतिक अस्पताल निर्माणलगायत स्वास्थ्य पूर्वाधार विकास, विभिन्न जिल्लामा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालयका भवन निर्माणलगायतका पूर्वाधार निर्माण, लघु औद्योगिक ग्राम स्थापना लगायतलाई पनि प्रदेश सरकारले आफ्नो प्रगतिका रुपमा समेटेको छ।

७०० दलित परिवारलाई घर

कर्णाली प्रदेश सरकारले ७६७ दलित परिवारलाई घर निर्माण गरिदिएको छ। दलित समुदायका विपन्न परिवारलाई प्रदेश सरकारले घर निर्माण गरिदिएको हो। जनता आवास कार्यक्रमअन्तर्गत दलित परिवारलाई घर निर्माण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

त्यस्तै‚ पाँच हजार ७१० घरधुरीमा खानेपानी सुविधा पुर्‍याइएको छ। प्रदेशभर दुई हजार १४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा र नदी नियन्त्रणका लागि १८ दलमलव ७७ किलोमिटर तटबन्धन निमार्ण गरेको जनाएको छ। ऊर्जा तथा विद्युतीकरणबाट तीन हजार ५४० घरधुरीमा विद्युत सुविधा विस्तार गरेको, विभिन्न स्थानमा ११ वटा झोलुङ्गे पुल र सात वटा सडक पुल निर्माण भएको जनाएको छ।





error: Content is protected !!