विकासले देखाएको संमृद्धि , आशा र भरोसा

हेमन्त केसी
जाजरकोट , नेपालगन्जबाट नुन बोकेर जाजरकोट बारेकोट –५ पाखा घरमा पुर्याएको दिन सम्झदा खम्बहादुर सिंहलाइ अचम्म लाग्छ ? भारी बोक्दा , बोक्दा टाउकोमा नाम्लोको खतका कारण सिंहको कपाल समेत टाउकोबाट हराएको छ ।

उहाँको टाउकोमा कपाल हराएसँगै अहिले बारेकोटका गाउँ , गाउँमा गाडी ,मोटरसाइकलका धुनहरु बज्न सुरु भएको छ । सिंह भन्नुहुन्छ ,“ हाम्रो पालामा सबै खालका परिवर्तन मात्र होइन , विकासको आधार पनि देख्न पाइयो । ” गाउँभरिका मानिसहरु जम्मा भएर कर तीरको रेडियो मार्फत बोलेको आवाज सुन्दा अचम्म मान्ने आफ्नो पुस्ता अहिले मोबाइल मार्फत एफ एम रेडियो देखि टर्च , समय समेत हेर्न पाउदा अनौठो लाग्ने गरेको सिंहको भनाइ छ । पेट दुख्दा होस वा , ज्वारो आउदा किन नहोस ? धामी झाँक्रीको सहायता लिनुपर्ने अवस्थाबाट आएका सिंह अहिले सामान्य स्वास्थ्य समस्य देखिन साथ घरबाट ५ मिनेट नजिकैको दुरीमा रहेको स्वास्थ्य संस्थामा गएर उपचार गरिरहेको बताउनुहुन्छ ।

उहाँलाइ छोरा र नाती पस्ताले हरेक नयाँ कुराको जानकारी मात्र दिदैनन् , इन्टरनेटको माध्यमबाट सबै खालका पुराना कुराहरु देखाएर पुरानो कुराको याद समेत दिलाउने गरेका छन् । बारेकोटबाट एक महिना लगाएर नेपालगन्ज र नेपालगन्जबाट एक महिना लगाएर बारेकोट पुग्ने सिंहको पुस्ता विगत सम्झदा सपना झैँ लाग्ने गरेको बताउँनुहुन्छ । अहिलेको जस्तो ठाउँमा , ठाउँमा पुल ,पुलेशा नभएको कारण काठको लाप्कोबाटो नदी तर्नुपर्ने , होटल नहुँदा ओडारको बास बसेको पीडा उहाँसँग अहिले पनि झलझली सम्झना आउने गर्दछ । बारेकोटबाट नेपालगन्ज जाँदा बाटोमा लुकाएर राखेको मकै ,फापरको पिठो फर्कदा जंगली जनावर ,मुसाले खाइदिदा कैयान दिन भोको पेट आफू भन्दा बढी तौल बोकेर हिड्ने परेको पीडा सिंह संग सही नसक्नु छ । दुइ महिना सम्म घरबाट छुटिएका आफन्तहरु घर नपुग्दा घरका आफन्तले पठाएको रैवार बाटोमा सुन्न पाइथ्यो उहाँले भन्नुभयो ।

भारी बोक्दा , बोक्दा मुटुमा रगत जमेर मरिने रहेछ आजभोली पो थाहा भयो ? हामीले उ बेला भुत ,प्रेत र राक्षसले खाएको भन्दै विश्वासमा अडिएका थियौँ अर्का नलगाड नगरपालिका –८ का हरिबहादुर खत्रीले भन्नुभयो । उहाँ थप्नुहुन्छ“ आजभोली सदरमुकाम जादा होस वा अन्य ठाउँमा जाँदा किन नहोस ? मोटरसाइकलमा जान्छु , आउछु ,विगतमा नुन , कपडा बोकेका बाटोहरु राम्रो हेर्ने गर्छु ।” जाजरकोट सदरमुकाम भन्दा बाहिरका सबै स्थानीय तहका सर्बसाधारणहरु अहिले कच्चीबाटोमै यातायातका साधनहरुमा चढेर निश्चित गनतव्यमा जाने र आउने गरेका छन् । आफ्ना आधारभुत आवश्यकताहरु गाउँमै हल गदै अगाडी बढेको सर्बसाधारणहरु बताउँछन् । अहिलेको विकास र अन्य परिवर्तन आउन धेरै पुस्ताको बलिदानी , भोको पेट र साधनाले काम गरेको बारेकोट गाउँपालिका –५ का पूर्व शिक्षक जनकबहादुर शाहीले बताउनुभयो ।

२०६५ साल सम्म जाजरकोट सदरमुकाममा ठाउँ , ठाउँमा गाडीहरु बदल्दै यात्रा गर्नुपर्ने अवस्था थियो । जब जाजरकोटी यूवा नेता तथा जनयुद्धले जन्माएका पूर्वमन्त्री शक्तिबहादुर बस्नेत राज्यको नीति निर्माण गर्ने ठाउँमा पहुँच राख्ने अवस्थामा पुगेपछि विकासको विजारोपन भएको पाइन्छ । त्यो भन्दा अगाडी केही नेताहरु भएपनि सदरमुकाम मात्र केन्द्रीत हुदा जाजरकोटको विकास हुन नसकेको शाहीको तर्क छ । सदरमुकाम सम्म कच्ची सडक निर्माण भएकोमा २०६५ यत्ता सदरमुकाम सम्मा सडकहरु पिच भएको छ । सबै भन्दा जोखिम र १३ वर्ष सम्म निर्माण हुन नसकेको राकम स्थित भेरी पुल शक्तिबहादुर बस्नेत गृहमन्त्री हुँदा नै भारी दबाबका बीचमा निर्माण कार्य सम्पन्न भयो । छिन्चु – जाजरकोट खण्डको ( भेरी करिडोर) सबै ठाउँमा पुलहरु निर्माण भएका छन् । मध्यपहाडी लोकमार्ग , भेरी करिडोर र लम्विनी –रारा जोड्ने सडकको समेत कामहरु भइरहेका छन् । मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डमा पिचको काम धमाधम चलिरहेको छ ।

२०६४ भन्दा अगाडी सदरमुकाममा एलएलसीको परीक्षा दिन आउने देखि विद्यार्थी देखि उच्च शिक्षा अध्ययन गर्नेहरु सदरमुकाम आउनुपर्ने बाध्यता हटेको छ । तीन ठाउँमा क्याम्पसहरु र डिग्री पढाइ हुने १ क्याम्पस मात्र होइन , प्राविधिक धारको कृषि , भेटेनरी पढाइ जाजरकोटमै हुने गरेको छ । जाजरकोटको काफलचौरमा बहुप्राविधिक शिक्षालय समेत स्थापना भइ पढाइ कार्य जारी रहेको छ । स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादन गर्ने उदेश्यले फार्मेसी पढाइ भइरहेको छ । जाजरकोट – डोल्पा सडक खण्डको जाजरकोट खण्ड भरी पुल निर्माण कार्य जारी रहेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख धुर्व झाले जानकारी दिनुभयो । झाका अनुसार जाजरकोटमा हुने विकास निर्माणमा कुनै ठाउँमा पनि अवरोध नआवस भन्दै पूर्वमन्त्री शक्तिबहादुर बस्नेतको ठुलो दवाव छ ।

त्यस्तै नलगाड जलविद्युत आयोजना (४१७ मेगावाट) को मुआव्जाको काम सकिएको छ भने अन्य सुरुङ निर्माणका लागि जाचको काम जारी रहेको छ । जिल्लाको खजिन पर्दाथ प्रशोधन तथा व्यवस्थापनका लागि अहिलेको बजेटमा समेत व्यवस्थापन भइ काम सुरु गर्ने उदेश्य राखिएको पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । जिल्लामा खाद्यान्न अभाव हुन नदिनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपोहरुको संख्या ९ ठाउँमा स्थापना गरिएको छ । त्यहाँबाट समुलिएतामा खाद्यान्न विक्री हुने गरेको छ । त्यस्तै जिल्लाका अधिकांश ठाउँमा टेलिफोन टावरहरु सञ्चालनमा आएका छन् । टावर निर्माण भएर पनि सञ्चालनमा नआउदा कुशे गाउँपालिका समस्य देखिएको छ ।

२०६५ यता विकास निर्माणको लागि हालिएका जगहरुको परिणाम देखिन थालेको पूर्वमन्त्री बस्नेत बताउनुहुन्छ । दुर्गम जिल्लाहरुको भिडहरुमा जाजरकोटको स्थान माथी आएको उहाँको बुझाइ छ । उहाँले भन्नुभयो , “ गर्नुपर्ने कामहरु अझै धेरै छन् , जिल्लाको खाद्यान्न वृद्धी , कृषकहरुको जीवन स्तर माथी उठाउन हामी निकै मेहनत गरिरहेका छौँ । त्यसका लागि जिल्ला भरि नयाँ नयाँ सम्भावना खोजी गरि छौँ ।” जिल्लामा बिभिन्न खाद्यान्न तथा अन्य बालीको विकासका लागि नयाँ जोनहरु थपेर काम गरिरहको उहाँले बताउनुभयो ।

जिल्लाको चार ठाउँ मध्य एक ठाउँमा विद्युतको सव स्टेशन निर्माण पुरा भइसकेको छ भने अन्य दुइ ठाउँमा निर्माण कार्य जारी रहेको छ । अन्य दुइ ठाउँमा जग्गा अधिग्रहणको काम जारी रहेको जाजरकोट विद्युत प्राविकरणको विशाल लामीछानेले बताउनुभयो । ५० शश्याको जिल्ला अस्पताल निर्माण कार्य जारी रहेसँगै जिल्लाका अधिकांश पालिकामा १५ शश्याको अस्पताल निर्मण कार्य चलिरहेको छ । जिल्लामा १० जना डाक्टरले काम गरिरहेकाछन् ।





error: Content is protected !!