ओलीलाई एक्ल्याउन खोज्दै माधव नेपाल, बृहत कम्युनिष्ट एकताकोे प्रयास

काठमाडौं – लामो समयदेखि तीक्ततापूर्ण सम्बन्ध रहेको नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहकार्य अब टुट्दै गएको देखिन्छ । नेपाल पक्ष अन्य कम्युनिष्ट घटकसँग बृहत एकता गर्ने तयारीमा रहेको नेपाल समूहका नेताहरू बताउँछन् । नेपालले अध्यक्ष ओलीलाई एक्ल्याएर अघि बढ्ने तयारीमा हुनुहुन्छ । यसका लागि उहाँलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साथ दिइरहनुभएको छ । यसैको तयारी स्वरूप बिहीबार नेपाल निवास कोटेश्वरमा अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको बताइन्छ । सो भेटमा बृहत् कम्युनिष्ट एकताबारे छलफल भएको स्रोतले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष ओलीले निषेधको नीति लिएपछि वरिष्ठ नेता नेपाल शक्ति सञ्चयतर्फ केन्द्रित हुनुभएको हो । प्रधानमन्त्रीको सरकारी निवासबाट बिदा हुँदै गर्दा ओलीले नेपाललाई अब एमालेमा कुनै पनि ठाउँ नभएको बताउनुभएको थियो । यसअघि एकता कार्यदलले बनाएको सहमतिको १० बुँदे प्रस्तावमाथि पनि शीर्ष तहमा कुनै सहमति नजुटेपछि नेपाल आफ्नो पक्षमा शक्ति सञ्चय गर्नतर्फ केन्द्रित हुनुभएको हो ।

अहिले एमालेको शीर्ष नेताहरूको झगडा कार्यकर्ताबीचमा पनि पुगेको छ । दोस्रो तहका नेताहरूले एकताका लागि प्रयासरत रहेको बताउँदै आए पनि ओली र नेपाल एक हुने सम्भावना न्यून हुँदै गएको छ ।

ओलीले प्रधानमन्त्रीबाट सत्ताच्युत हुनेबित्तिकै पार्टीको भ्रातृ संगठन युथ फोर्स ब्युँतिएको थियो । ओलीनिकट नेता महेश बस्नेतले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी युथ फोर्स ब्युँतिएको घोषणा गर्नुभएको थियो । ओली पक्षका नेताहरूले एमालेलाई चौतर्फी घेराबन्दी गरिएकाले त्यसलाई प्रतिकार गर्न युथ फोर्स ब्युँताउने निर्णय गरेपछि नेपाल पक्षको युवा संगठनले पनि त्यसलाई काउन्टर दिएको छ । बिहीबार नेपाल पक्षले युथ फोर्सको काउन्टरमा अखिल फोर्स स्थापनाको घोषणा गरेको हो ।

नेपाल पक्षीय विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले अखिल फोर्स गठनको घोषणा गरेको हो । अनेरास्ववियु केन्द्रीय कमिटीले उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै अखिल फोर्स गठनको घोषणा गरेको हो । तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स गठन गरिएको अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले जानकारी गराउनुभयो ।

उहाँले वरिष्ठ नेता नेपाललगायतका आफ्ना नेताहरूलाई एमाले अध्यक्ष ओली पक्षधरबाट धम्कीपूर्ण व्यवहारहरू प्रस्तुत भइरहेको भन्दै त्यसको विरुद्धमा प्रतिकार गर्नका लागि अखिल फोर्स गठन गरिएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत आफ्ना नेताहरूलाई गाली गरिरहेको भन्दै उनीहरूलाई भौतिक रूपमा पहिचान गरेर कारबाही गरिने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आज केपी ओलीले बालकोटमा बसेर माधव नेपालहरूप्रति वक्रदृष्टि लगाइरहनुभएको छ । केपी ओलीको वक्र दृष्टिकोण न्यायालयप्रति पनि ठडिएको थियो । तर, न्यायालयले केपी ओलीको वक्र दृष्टिकोणको औँलालाई काटिदिएको छ । अब माधव नेपालहरूप्रति ठड्याएका वक्र दृष्टिकोणहरू समाप्त पार्ने हो । यसका लागि अनेरास्ववियु लाग्छ । आज हामी अखिल फोर्स बनाउदैछौँ ।’

अध्यक्ष पराजुलीले ओली पक्षीय युवा विद्यार्थीले माधव नेपालको घर घेर्ने समाचारहरू बाहिर आएको भन्दै माधव नेपालको घरतर्फ कसैले आँखा लगाए वा खुट्टा लम्काए आफूहरू भौतिक कारबाहीमा उत्रिने चेतावनीसमेत दिनुभयो ।

प्रचण्ड र विप्लवसँगको भेट अर्थपूर्ण

केपी ओली सत्ताबाट बाहिरिनुको प्रमुख कारण नेकपा माओवादी केन्द्रसँगको एकता बदर र एमाले नेता नेपालको भूमिका रहेको विश्लेषण भइरहेको छ । स्वयम् ओलीले पनि नेता नेपालका कारण आफ्नो नेतृत्वको सरकार ढलेको बताउँदै आउनुभएको छ । यसैबीच प्रचण्ड, नेपाल र नेत्रविक्रम चन्द विप्लवको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

बुधबार प्रचण्डलाई भेट्न विप्लव उहाँकै निवास पुग्नुभएको थियो भने बिहीबार प्रचण्ड र विप्लव नेता नेपालको निवास कोटेश्वर पुगेर भेट गर्नुभएको थियो ।

भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको विप्लवको सचिवालयले जानकारी दिएको छ ।

अहिले प्रचण्ड र नेपाल ओलीबाहेकको कम्युनिष्ट घटक निर्माणको स्थापनाका लागि प्रयासरत रहेको बताइन्छ । ओलीकै कारण नेकपा एमाले र माओवादी केन्द्रको एकता बदर भएको बताउँदै आउनुभएका प्रचण्ड र नेपाल विप्लव नेतृत्वको पार्टीसमेत सम्पूर्ण कम्युनिष्ट घटकहरूबीच बृहत एकताको प्रयास गरिरहनुभएको छ ।

प्रचण्डसँगको भेटमा विप्लवले पनि पूर्व(माओवादी घटकहरूबीच एकताको प्रस्ताव गर्नुभएको थियो । खुमलटार पुगेर विप्लवले प्रचण्डलाई यस्तो प्रस्ताव गर्नु र त्यसको भोलिपल्ट नेता नेपालसँग भेट हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

नेता नेपालनिकट एक नेता ओलीका कारण कम्युनिष्ट आन्दोलन धरापमा परेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हिजो ओलीका कारण कम्युनिष्ट पार्टीको एकता बदर भयो । अहिले पनि ओली आफैँलाई राजा घोषणा गरेर अगाडि बढिरहनुभएको छ । उहाँसँग मिल्ने सम्भावना त छैन । तर अब कम्युनिष्ट घटकहरूबीच ध्रुवीकरण हुनुपर्छ भन्ने मान्यता सबैको हो ।’

गत फागुन २१ गते निवर्तमान प्रधानमन्त्री ओली नेतृत्वको सरकार र विप्लवबीच तीन बुँदे सहमति भएको थियो । विप्लवले ओली सरकारले उक्त सहमति पालना नगरेर धोका दिएको भन्दै नयाँ सरकारले आफूसँगका सहमति कार्यान्वयन गर्नुपर्ने माग प्रचण्ड र नेपालसँग पनि गर्नुभएको स्रोतले हिमालय टाइम्सलाई जनायो ।

कार्यदलका नेताबीच १० बुँदेबारे छलफल

एमालेको एकता लगभग टुंगिएको जस्तै देखिएको अवस्थामा दोस्रो तहका नेता भने अझै पनि पार्टी एकताको प्रयासमा रहेका छन् । एकताका लागि १० बुंदे सहमति गरिए पनि त्यसको मसी सुक्न नपाउँदै सर्वोच्चको फैसलाले आक्रोशित बन्नुभएका पार्टी अध्यक्ष ओलीले नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको अभिव्यक्ति दिनुभएको थियो । तर, पनि दोस्रो तहका नेता पार्टी एकताका लागि प्रयासरत रहेको देखिन्छ । उनीहरूले बिहीबार १० बुँदे कार्यान्वयनका लागि थप छलफल गरेका छन् ।

२७ असार राति १० बुँदे सहमति जुटाउन कार्यदल सफल भए पनि भोलिपल्ट आएको सर्वोच्चको फैसलापछि एमालेभित्र उक्त सहमति भाँडिने अवस्था बनेको हो । छलफलमा कार्यदलमा नरहनुभएका स्थायी कमिटी सदस्य भीम आचार्यको पनि सहभागिता थियो । छलफलमा नेताहरूले पार्टी एकताका लागि सहमतिको कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने र अबका निर्णय संस्थागत हिसाबले हुनुपर्ने निष्कर्ष निकालेका छन् ।

छलफलकै बीच नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले ओली पक्षका संयोजक सुवास नेम्वाङलाई फोन गरेर चाँडो बैठक बस्न ताकेता गर्नुभएको थियो । ‘हामी ६ जना बसेर सहमतिबारे छलफल ग¥यौँ, समीक्षा गर्‍यौँ,’ रावलले भन्नुभयो, ‘सिंगो कार्यदल बस्नुपर्छ भनेर अर्को पक्षका संयोजक सुवास नेम्वाङजीलाई मैले फोन गरेको छु । चाँडै बस्छौं ।’ दुवै पक्ष कहिले बस्ने भन्नेबारे भने केही टुंगो भएको छैन ।

आज बस्दै एमाले संसदीय दलको बैठक, नेपाल समूह नजाने

नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । आज ९शुक्रबार० दिउँसो तीन बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा दलको बैठक बस्ने भएको हो । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दलको बैठक बोलाइएको जानकारी गराउनुभयो । उहाँले नेपाल पक्षका २३ जना सांसदहरूलाई पनि बैठकका बारेमा जानकारी गराइएको र सहभागिताका लागि आग्रह गरिएको हिमालय टाइम्सलाई बताउनुभयो ।

सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाउनुभएको हो । सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउने आदेश दिएकाले त्यसअघि पुनःस्थापित संसद्मा एमालेको भूमिकाबारे छलफल हुने बताइएको छ ।

यता, नेपाल पक्ष भने बैठकमा सहभागी नहुने भएको छ । अहिले पनि पार्टीभित्र विवाद कायमै रहेकाले बैठकमा सहभागी हुने अवस्था नभएको नेपाल पक्षका नेता मेटमणि चौधरीले हामीलाई बताउनुभयो । विवाद समाधान कार्यदलले तयार पारेको प्रतिवेदनका सन्दर्भमा समेत छलफल नभएको अवस्थामा बैठकमा सहभागी हुने अवस्था नरहेको उहाँको भनाइ छ ।

एमाले वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेपछि ओली प्रधानमन्त्रीबाट हट्नुभएको थियो ।





error: Content is protected !!