अब पाँच दलीय गठबन्धनलाई चुनावसम्मै लैजान्छौं ः प्रचण्ड – ‘माधव नेपाल नेतृत्वको टिम हामीसँगै रहन्छ भन्नेमा विश्वस्त छु’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले दिएको फैसलाले संविधान र लोकतन्त्रको जित भएको बताएका छन्।
प्रतिनिधि सभा पुनर्स्थापना गर्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि सँग संक्षिप्त कुरा गर्दै प्रचण्डले यसलाई जनताको जित भएको बताए।
‘पटक-पटकको संसद विघटनले मुलुक निकै अप्ठेरो परिस्थितिबाट गुज्रिरहेको थियो। आज सर्वोच्चले जो फैसला गरेको छ, त्यसले संविधान, राष्ट्रियता, लोकतन्त्र र जनताको हितको पक्षमा सही निर्णय गरेको छ। फैसलालाई म स्वागत गर्छु,’ प्रचण्डले भने,‘संवैधानिक इजलास, न्यायाधीश, प्रधानन्यायाधीशसहित सबैलाई धन्यवाद र बधाई दिन चाहन्छु।’
उनले अब विपक्षी गठबन्धनको सहकार्य चुनावसम्मै जारी रहने बताए।
‘अब हामी गठबन्धन बनाएर नै अगाडि बढ्छौं। हामीले तीन वटा मूलभुत कुरा भनेका थियौं – संविधानवादको रक्षा, लोकतन्त्रको मूल्य मान्यताको रक्षा र राष्ट्रियताको रक्षा यसैका लागि हामीले गठबन्धन बनाएर अगाडि बढेका थियौं,’ प्रचण्डले भने,‘अब पनि गठबन्धनकै सरकार बन्छ र सरकारमात्र होइन अलि परसम्म नै यो गठबन्धनमार्फत् राष्ट्र र जनताको हितमा समर्पित भएर लाग्ने हाम्रो प्रतिवद्धता छ।’ उनले चुनाव र जनताको विकास निर्माण र समृद्धिको यात्रा, लोकतन्त्रको सुदृढिकरण सबैमा हामीले अलिक लामै रणनीतिक सोच बनाएर नै यो गठबन्धन बनाएका हौं,’ प्रचण्डले भने,‘हामी परैसम्म जान्छौं।’
उनले अब नेकपा एमाले पनि माधवकुमार नेपालकै नेतृत्वमा आउने विश्वास व्यक्त गरे ‘अहिले हामी माधवजीसमेत ५ दलको बैठक बस्ने निर्णय गरिसकेका छौं। बैठक बसेर गठबन्धनलाई नै सुदृढ गरेर लैजाने कोशिशमा हुन्छौं। हिजो राति उहाँहरूले जे गर्नुभएको थियो, रातारात जुन नाटकीय ढंगले। त्यो गलत थियो भनेर माधवजीले नै भनिसक्नुभएको छ,’ प्रचण्डले भने,‘ मलाई विश्वास छ। पुरै एमाले माधव नेपालकै नेतृत्वमा आउनेछ। त्यस्तो स्थिति बन्यो भने धेरै राम्रो हुन्छ। यदि त्यस्तो भएन भने पनि माधवजीको नेतृत्ववाला जुन टिम छ त्यो टिमचाहिँ गठबन्धनलाई जोगाएरै लाने हुन्छ। हाम्रो कोशिस पनि उहाँलाई सहयोग गर्ने नै हुन्छ।’








