डोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा आमाको मृत्यु, दुई वर्षीय छोरा बेपत्ता

डोल्पाको जगदुल्ला गाउँपालिकाअन्तर्गत वडा नम्बर १ मा पर्ने हुरिकोटमा ट्रयाक्टर दुर्घटना भएको छ । हुरिकोटबाट बालुवा बोकेर सोही गाउँपालिकामा पर्ने माझगाउँतर्फ जाँदै गरेको लु४त ३२२८ नम्बरको ट्रयाक्टर काठेपुल तर्ने क्रममा खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय काईगाउँले जनाएको छ ।

दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने एकजना खोलामा बेपत्ता भएका छन् । दुर्घटनामा दुईजना घाइते छन् । दुर्घटनाबाट सोही गाउँपालिका वडा नम्बर ५ बस्ने ३५ वर्षीया सेतु विकको उपचारका क्रममा काईगाउँ स्वास्थ्य चौकीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए । विकको हातखुट्टामा गम्भीर चोट लागेपछि उपचारका लागि काईगउँ स्वास्थ्य चौकीमा पुर्‍याइएको थियो ।

मृतक विकका दुई वर्षीय छोरा किरण विक पनि खोलामा खसेर बेपत्ता भएको डिएसपी पाण्डेले बताए । दुर्घटनामा परेर सोही ठाउँका १९ वर्षीय अबितिर विक र ४५ वर्षीय कुसे विक सामान्य घाइते भएकाले स्वास्थ्य चौकीमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिम चौहरजहारी नगरपालिका बस्ने २६ वर्षीय चालक ठगेन्द्र खत्री फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।





error: Content is protected !!