म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने सप्लायर्सलाई कारबाही

जाजरकोट ः दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने सप्लायर्सलाई स्वास्थ्य सेवा कार्यालय जाजरकोटले कारवाही गरिएको छ।
अक्सिजन प्लान्ट स्थानका लागि ठेक्का सम्झौता गरेको नेपटेक मेडिकल सप्लायर्स काठमाडौंलाईसम्झौता तोड्दै धरौटी जफत गरिएको छ। सप्लायर्सको फार्मलाई कालोसूचीमा राख्न खरिद अनुगमन कार्यालय काठमाडौं सिफारिस गरिएको छ।
४५ दिनभित्र अर्थात जेठ १५ गतेभित्र अक्सिजन प्लान्ट जडान गर्ने सम्झौता गरेकोे उक्त सप्लायर्सले सम्झौता म्याद सकिएर दुईपटक म्याद थप गर्दा पनि काम गर्न नसकेपछि कालो सूचीमा राखेर धरौती जफत गरी ठेक्का सम्झौता तोड्ने निर्णय गरिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक टीकाराम जैसीले बताए।
सप्लायर्सले म्याद सकिनुभन्दा एक दिनअघि अर्थात् गत जेठ १४ मा पत्र पठाएर कोरोना महामारी र लकडाउनका कारण समयमा काम गर्न कठिन भएको भन्दै १५ दिन थप समय माग गरेको थियो। कार्यालयले पटक पटक गरेर उक्त म्याद पनि थप गर्यो। तर, थपिएको १५ दिन अर्थात् जेठ मसान्तसम्म पनि काम नगरेपछि सुरुमा ७२ घण्टे र त्यसपछि २४ घण्टे स्पष्टीकरण सोधिएको जैसीले बताए। स्पष्टीकरण चित्त बुझ्दो नआएपछि कारवाही गरिएको उनको भनाइ छ।
ठेक्का सम्झौता तोडिएसँगै सप्लायर्सका प्रोप्राइटर नरबहादुर लिम्बुले अक्सिजन प्लान्ट ठेक्का सम्झौता गर्दा धरौटी राखेको दुई लाख ९१ हजार ४३० रुपैयाँ जफत भएको व्यवस्थापक जैसीले बताए।
पहिलेको तुलनामा अक्सिजन दिनुपर्ने कोरोना संक्रमित घट्दै गए पनि अक्सिजन प्लान्ट जडान ढिलाइले कोभिडका बिरामीको उपचारमा समस्या परेको अस्पतालका मेडिकल अधिकृत डा। ओसरसिंह राठोरले बताए। अक्सिजन प्लान्ट जडान नहुँदा खाली सिलिन्डर नेपालगञ्ज पठाउनुपर्ने बाध्यता छ। सिलिन्डर पठाउन, भर्न र ल्याउन पनि उत्तिकै समस्या लाग्ने गरेको छ।
सप्लायर्स कारवाहीमा परेसँगै प्लान्ट स्थापना अलपत्र परेको छ। पुनः टेन्डर गरेर नयाँ प्रक्रिया थालनी गर्ने कार्यालयले जनाएको छ।










