सम्भव छैन ३५ दिनमा सवा दुई खर्ब खर्च

चालु आर्थिक वर्ष २०७७/०७८ सकिन ३५ दिन मात्र बाँकी रहँदा २ खर्ब १५ अर्ब रुपैयाँ बराबरको पुँजीगत खर्च गर्न अझै बाँकी छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बाँकी दिनमा उक्त रकम खर्च गर्न प्रत्येक दिन ५ अर्ब ९८ करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ ।

सरकारले हालसम्म लक्ष्यको ३८-९६ प्रतिशत अर्थात् १ खर्ब ३७ अर्ब रुपैयाँ मात्र पुँजीगत खर्च गरेको कार्यालयले जनाएको छ । सरकारले चालु वर्षमा ३ खर्ब ५२ अर्ब बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो । तर, लक्ष्यभन्दा धेरै कम खर्च गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा ७१।३ प्रतिशत पुँजीगत खर्च हुने अनुमान गरेका छन् । उनले गरेको अनुमान अनुसार खर्च हुने हो भनेपनि अब दैनिक ३ अर्ब भन्दा बढी खर्च हुनुपर्ने देखिन्छ । तर मंगलबार मात्र १ अर्ब ५ करोड रुपैयाँ खर्च भएको छ । यसैले पनि लक्ष्य अनुसारको खर्च नहुने अनुमान लगाउन सकिन्छ ।

तर, अर्थविद्हरु भने असार महिनामा धेरै भन्दा धेरै पुँजीगत रकम खर्च हुने गरेको बताउँछन् । अर्थविद् तथा पूर्व अर्थसचिव सुमन शर्मा वर्षको अन्तिम चौमासिकमा ४६ प्रतिशत, अन्तिम महिनामा २७ प्रतिशत र अन्तिम हप्तामा १३ प्रतिशत खर्च हुने अध्ययनले देखाएको बताउँछन् । ‘पुँजीगत रकम अन्तिम महिनाको अन्तिम हप्ताको अन्तिम दिनमा सबैभन्दा धेरै खर्च हुने गरेको छ,’ उनी भन्छन्, ‘त्यसैले यस वर्ष ७० देखि ७५ प्रतिशत सम्म खर्च हुने अनुमान गरेको छु ।’

यसरी अन्तिम समयमा रकम खर्च हुँदा विभिन्न समस्या देखिने गरेको शर्मा बताउँछन् । ‘अन्तिम महिनामा धेरै रकम खर्च भयो भन्नुको अर्थ सबै काम अन्तिममा नै भए भन्ने त होइन । कतिपय काम पहिले नै भएर भुक्तानी अन्तिममा भएको पनि हुन्छ,’ उनी भन्छन्, ‘बढी भन्दा बढी काम अन्तिममा नै भएका हुन्छन् । त्यसैले हतपतको काम लतपत भने झैं गुणस्तरमा निकै ठूलो समस्या देखिने गरेको छ ।’ अन्तिम समयमा काम भएर क्यास फ्लो बढ्दा बजारमा समेत असन्तुलन बढ्ने गरेको उनी बताउँछन् । ‘अरु समयमा पैसा नभएर तरलताको समस्या हुन्छ । असार महिनामा एकै पटक ठूलो रकम बजारमा आउँदा मौद्रिक क्षेत्रलाई प्रभाव पार्छ । बजारलाई असन्तुलित बनाउँछ ।’

यसको असर रोजगार क्षेत्रलाई गर्ने शर्मा बताउँछन् । उनका अनुसार निर्माण कार्य वर्षभरि रोजगारी सिर्जना गर्ने क्षेत्र हो तर, ९ महिनासम्म खर्च नहुँदा रोजगारी पनि सिर्जना हुन नसकेको र कामदारहरु विदेशिनु परेको उनको तर्क छ । एकातर्फ मानिसहरु विदेशिने अर्कोतर्फ असार महिनामा काम हुँदा कामदार नपाएर भारतबाट चर्को पैसा तिरेर कामदार ल्याउनुपर्ने शर्मा बताउँछन् ।

अर्का पूर्वअर्थसचिव कृष्णहरि बास्कोटा पनि शय प्रतिशत पुँजीगत खर्च हुने अवस्था नरहेको बताउँछन् । ‘मन्त्रीले ७१ प्रतिशत खर्च हुने भन्नु भएको छ । कोरोनाका कारणले बाहिर निस्किने अवस्था छैन । त्यसैले ५० देखि ६० प्रतिशतको हाराहारीमा खर्च हुने देखिन्छ,’ उनले भने ।

उनका अनुसार पनि पुँजीगत रकमको ठूलो हिस्सा असार महिनामा खर्च हुने गरेको छ । यसरी असार महिनामा रकम खर्च हुनुका पछाडि विभिन्न कारण रहेको उनी बताउँछन् । ‘पहिलो कुरा त कुनै कुनै ठेकेदारले बीचमा पैसा लिए मासिएर जान्छ, त्यसैले एकमुष्ट अन्तिममा लिन्छु भनेका हुन्छन् । पैसा असार अन्तिममा मात्र लिन्छन् । साथै कतिपयमा भने यसको ठिक उल्टो अर्थात् ठेकेदारले पैसा भुक्तानी गर्न अपिल गर्छ तर भुक्तानी नपाउने गरेको अवस्था छ,’ उनले भने ।

चालुतर्फ ७२।२३ प्रतिशत अर्थात् ६ खर्ब ८५ अर्ब रुपैयाँ खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षमा ९ खर्ब ४८ अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो । साथै वित्तीय व्यवस्थापनतर्फ सरकारले हालसम्म ४१।७६ प्रतिशत अर्थात् ७२ अर्ब रुपैयाँ खर्च गरेको छ । सरकारले चालु वर्षमा १ खर्ब ७२ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो ।





error: Content is protected !!