घाङ्ग्री घापी हिउल र लाङ्गेन हिउँ चितुवामा रेडियो कलार जडान

हेमन्त न्यौपाने
जाजरकोट  -शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा चारवटा हिउँ चितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको छ ।
अघिल्लो वर्ष दुइ र यो वर्षमा दुइ गरि चारवटा हिउँ चितुवामा ‘स्याटेलाइट जीपीएस कलार जडान गरिएको निकुन्जले जनाएको छ । वन तथा वातावरण मन्त्रालयको २०७५,५, २५ गते मन्त्री स्तरिय निर्णय अनुसार दुइ पटकमा चार हिउँ चितुवामा जीपीएस कलार जडान गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व एवं राष्ट्रिय प्रकृति संरक्षण कोष र (डब्ल्यूडब्ल्यूएफ)  नेपालको प्राविधिक, आर्थिक सहयोगमा २०७६÷७७ मा दुईवटा र यही जेठ २ गतेदेखि सञ्चालित अनुसन्धान गरि दुईवटा हिउँ चितुवामा स्याटेलाईट जिपिएस कलार जडान गरेको निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिनुभयो ।

साल्दाङ ब्लकको निजाल गाउँलाई केन्द्र बनाएर स्याटेलाईट कलार जडान गरिएको निकुन्जले जनाएको छ । साल्दाङ ब्लकको राप्का क्षेत्रमा ३७ के.जी. तौलको अन्दाजी ७ वर्षको वयस्क भालेहिउँ चितुवाको घाँटिमा जिपिएस कलार जडान गरिएको छ । उक्त हिउँ चितुवाको नाम घाङ्ग्री घापी हिउल राखिएको छ । त्यस्तै जेठ ११ गते साल्दाङ ब्लककै धोरामा ३८ केजी तौल भएको अन्दाजी ६ वर्षको वयस्क भाले हिउँचितुवामा पनि कलार जडान गरेको छ । सो हिउँचितुवाको नाम लाङ्गेन दिईएको छ ।

स्याटेलाईट टेलिमेट्री जडान कार्यलाइ थप प्रभावकारी बनाउन मंगोलियामा हिउँचितुवामा कलरिङ गर्दा प्रयोग भएको‘अर्बिस’ नामको स्वचालित ट्रयाप अनुगमन प्रविधि पहिलो पटक प्रयोग गरिएको छ । स्याटेलाईटकलार जडान गरिएका हिउँचितुवाको आनुवांशिक अध्ययन गर्न एवं डिएनए प्रोपाईल तयार गर्न रगतको नमुना समेत लिईएको छ ।


स्याटेलाईटबाट प्राप्त सूचना तथा स्थलगत अनुगमनको माध्यमबाट कलार जडन गरिएका हिउँ चितुवाको विचरणको अध्ययन गरिएको निकुन्जले जनाएको छ । हाल सम्मका तथ्याङ्कलाई हेर्दा दुवै हिउँचितुवाले सामान्य रुपमा आ–आफ्नो बासस्थानमा ३०६९ देखी ४९६० मिटरको उचाईमा विचरण गरिरहेको निकुनजले जानकारी दिएको छ । घाङ्ग्री घापी हिउलले ७ दिनमा २४ किमी दूरी पार गरेको छ भने लाङ्गेन ले १ दिनमा २ किमी दूरी पार गरेको छ । यि हिउँचितुवाहरु एक अर्काबाट ६ किलोमिटरको दूरीमा विचरण गरिरहेको बताएको छ ।

स्याटेलाइटबाट प्राप्त सूचना तथा स्थलगत अनुगमनको माध्यमबाट कलार जडान गरिएका हिउँ चितुवाको विचरणबारे अध्ययन गरिएको छ । यसबाट उनीहरुले बासस्थानमा गरेको विचरण, पार गरेको दूरी, आनीबानी, व्यवहार लगायतका विषयमा जीपीएस कलारले १८ महिनासम्मको तथ्यांक दिने र त्यसबाट संरक्षणको रणनीति तथा योजना तर्जुमा गर्न सहयोग पुग्ने निकुञ्जले बताएको छ । हिउँ चितुवामा जडान गरिएका कलार जर्मनीको कम्पनीले निर्माण गरेको हो ।

हिउँचितुवामा स्याटेलाईट कलर जडान गरिएको स्थान चीनको सीमानाबाट करिब १२ किलोमिटरको दूरी मा रहेकाले नेपालबाट हिउँचितुवाहरु चीन तर्फ विचरण गर्न जान्छन कि जाँदैनन भन्ने जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।

साथै कलरिङ बाट प्राप्त तथ्याङकले हिउँ चितुवाको आनिबानी, व्यवहार, विचरणको बारेमा जानकारी प्राप्त हुने आशा लिइएको छ । हिउँचितुवा–मानव द्वन्द्व न्युनीकरण, बासस्थान ब्यवस्थान, अन्तरदेशीय सहकार्य लगायतका बारेमा समेत अध्ययन हुने बताएको छ । हिउँचितुवा र यसको आहार प्रजाति संरक्षणको लागि मुख्य सवालहरु पहिचान गरी संरक्षणको रणनीति तथा योजना तर्जुमा गर्न सहयोग पुग्ने निकुन्जले जनाएको छ । स्याटेलाईट कलार जडान गरिएका घाङ्ग्री घापी हिउल र लाङ्गेनबाट प्राप्त जि.पि.एस. लोकेशनको आधारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग , (डब्ल्यूडब्ल्यूएफ  नेपाल) र शे– फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट अनुगमन गरिएको छ ।

यो भन्दा अगाडी कलार जडान गरिएका सामलिङ , जेवोरोङको मृत्यु भइसकेको छ । कलार जडान गरेको ६ महिना सम्मा मात्र सम्पर्कमा रहका सामलिङ , जेवोरोङका पछि एकाएक सम्पर्क बाहिर रहेका थिए । सम्पर्क विहिन भएका ति दुवैको मृत्यु भएको प्रतिवेदन वन विभागमा पुगिसकेको छ ।





error: Content is protected !!