विभाजनकारी, अस्थिर र अवसरवादीका कारण एमाले र माओवादी मिल्न सकेनन्‌ ः ओली

काठमाडौं ः नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवम्‌ प्रधानमन्त्री केपी शर्मा ओलीले विभाजनकारी, अस्थिर र अवसरवादीका कारण एमाले र माओवादीबीच एकीकरण अभियान निष्कर्षमा पुग्न नसकेको दाबी गरेका छन्‌।

आज परेको २८ औं मदन आश्रित स्मृति दिवसका अवसरमा प्रेस वक्तव्य जारी गर्दै ओलीले विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक-आर्थिक रूपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रूपमा नेपाल कम्युनिष्ट पार्टीलाई स्थापित गर्ने तथा राष्ट्रिय आकांक्षाको च्याम्पियन बनाउने इमान्दार प्रयास गरेपनि सो सफल नभएको ओलीले उल्लेख गरेका हुन्‌।

​कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहन आफूहरू कृतस्संकल्पित रहेको पनि ओलीले सो वक्तव्यमा लेखेका छन्‌।

​२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय ढंगले निधन भएको थियो।

सो दिनको सम्झनामा एमालेले जेठ ३ गते मदन-आश्रित स्मृति दिवस मनाउने गर्छ। तीन वर्षयता एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपा (हाल विभाजित) ले दिवस मनाउन थालेको थियो।

दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भएपनि जीप चालक अमर लामा भने जीवित थिए। लामाको २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन।

मदनकी श्रीमती विद्यादेवी भण्डारी हाल राष्ट्रपति रहेकी छन्।





error: Content is protected !!