महेश बस्नेतको रेखदेखमा यहाँ राखेका छन् महन्थ ठाकुरले सांसदहरूलाई

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरु एमालेका सांसद महेश बस्नेतको व्यवस्थापनमा भक्तपुरको एक रिसोर्टमा बसेको खुलेको छ।

स्रोतले दिएको जानकारी अनुसार भक्तपुरका सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा रहेको डोलेश्वर भिलेज रिसोर्टमा महन्थ ठाकुर पक्षका सांसदहरु राखिएको छ।

त्यहाँ जसपाका करिब १५ जना सांसदहरुको व्यवस्थापनमा एमालेका स्थानीय नेताहरु खटिएका छन् । त्यसको नेतृत्व भक्तपुरबाटै प्रतिनिधित्व गर्ने एमाले सांसद महेश बस्नेतले गरिरहेको स्रोतको भनाइ छ ।

रिसोर्टमा बसिरहेका जसपा सांसदहरु बैठक भनेर आफूलाई यस ठाउँमा बोलाइएको र स्थानको बारेका कसैलाई जानकारी नदिन भनेको बताइरहेका छन् ।

उनीहरुको व्यवस्थापनमा सांसद बस्नेतसँगै सूर्यविनायक नगरपालिकाका मेयर वासुदेवी थापा, सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापा स्थानीय नेताहरु समेत खटिएका छन् ।

उनीहरुलाई बस्नेत सहितको टोलीको रेखदेखमा राखेर जसपाका अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो विभिन्न पक्षसँग भेटघाट छलफलका व्यस्त छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय सरकार निर्माणका लागि आज राति ९ बजेसम्मको समय दिएकी छिन् ।
सो समयसम्म अर्को पक्षमा जानबाट रोक्नका लागि सांसदहरुलाई यसरी राखिएको हो ।





error: Content is protected !!