एक वर्षदेखि थन्कियो रुकुम पश्चिममा भेन्टिलेटर

रुकुम पश्चिम ः जिल्ला अस्पतालमा दैनिक ३ देखि ७ बिरामी भेन्टिलेटरमा राखेर उपचार गर्ने खालका छन् । अस्पतालमा भेन्टिलेटर पनि छ तर त्यसको सहयोग लिन पाएका छैनन् । झन्डै एक वर्षअघि ल्याइएको भेन्टिलेन्टर थन्किँदा बिरामी मारमा परेका छन् ।

उक्त भेन्टिलेटर यत्तिकै थन्किएको छ । दक्ष जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगमा आउन नसकेको हो । गत वर्ष कोरोना संक्रमितको संख्या बढेपछि करिब एक करोड रुपैयाँ खर्चेर भेन्टिलेटर जोडिएको थियो । ‘भेन्टिलेटरमा राख्ने खालका बिरामी त छन्, तर त्यसले काम दिइरहेको छैन,’ जिल्ला अस्पतालका डा।राजकुमार भुजेलले भने, ‘बिरामीमा समस्या बढे पनि त्यसको प्रयोग हुन सकिरहेको छैन ।’

जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार अहिलेसम्म रुकुम पश्चिममा आठ संक्रमितको ज्यान गइसकेको छ । ती सबै जना भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने समस्याका थिए । ‘भेन्टिलेटर छ, तर भेन्टिलेटरकै छेउमा संक्रमितको ज्यान गइरहेको छ,’ डा।भुजेलले भने, ‘भेन्टिलेटर चलाउने जनशक्ति र अरू सामग्रीको अभाव भएपछि त्यत्तिकै थन्क्याएका हौं ।’ प्रदेश र संघीय सरकारले भेन्टिलेटर चलाउने विशेषज्ञ चिकित्सक नपठाएपछि त्यत्तिकै थन्किएको उनले बताए । जिल्ला स्वास्थ्य सेवा कार्यालयले जिल्ला अस्पताललाई कोभिड अस्पताल बनाएको छ, जसमा ३० जना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये झन्डै एक चौथाइ बिरामी भेन्टिलेटर चाहिने अवस्थाका रहेको आइसोलेसनमा खटिएका स्वास्थ्य सहायक मिलन रावतले बताए । ‘भेन्टिलेटर कामविहीन छ, अक्सिजन पुगिरहेको छैन,’ उनले भने, ‘एकपटक रिफिल गरेर ल्याएको अक्सिजन दुई दिन टिक्दैन, कसरी उपचार गर्ने रु’

जिल्ला अस्पतालमा झन्डै एक दर्जन सिलिन्डर थपिए पनि छिटो खाली हुने समस्या छ । ‘केही बिरामी हरसमय अक्सिजन दिनुपर्ने अवस्थाका छन्, सिलिन्डर रिफिल गर्न दाङ, नेपालगन्ज वा भैरहवा जानुपर्छ,’ उनले भने, ‘त्यहाँ सजिलै अक्सिजन पाइए पनि यहाँ पुर्‍याउँदासम्म बिरामीको ज्यान जाने जोखिम छ ।’ अक्सिजनको मात्रा हेरेर लगाइरहेको संक्रमितको अक्सिजन छुटाएर अर्कोलाई दिनुपर्ने बाध्यता रहेको भुजेलले बताए । ‘अरू उपचारका विधि पनि अपनाएका छौं, तर तर मुख्य भनेको अक्सिजन नै हो,’ उनले भने, ‘अन्तिम अवस्थामा मात्र अस्पताल ल्याउने प्रवृत्तिले पनि संक्रमितको ज्यान जोखिममा छ ।’ घरमै अरू उपचार र झारफुक गरेर अन्तिम अवस्थामा संक्रमित ल्याइँदा मृत्यु बढेको उनले बताए । उनका अनुसार सामान्य लक्षण देखिनेबित्तिकै आउने संक्रमित भने निको भएर घर फर्किएका छन् । जिल्लामा झन्डै ४ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये झन्डै ३ सय ५० होम आइसोलेसनमा छन् ।





error: Content is protected !!