अझै पुगेन चामल

डोल्पा ः डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र साल्दाङमा गत वर्ष मंसिरमा ठेक्का लागेको चामल अझै पुगेको छैन ।
ठेक्का सम्झौता भएको ६ महिना पूरा भइसक्दा पनि चामल नपुगेपछि स्थानीयवासी खाद्यान्न अभावको समस्या भोग्न बाध्य छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत वर्ष साल्दाङका लागि १ हजार ५ सय क्विन्टल चामलको कोटा तोकेको थियो । खाद्यान्न ढुवानीको ठेक्का लिएको बाँकेको दिनेश ढुवानी सेवाको लापरबाहीले साल्दाङमा ६ सय क्विन्टल चामल मात्र पुगेको छ ।
उक्त कम्पनीले उपल्लो छार्काताङसोङ, डोल्पोबुद्ध र शे– फोक्सुन्डो गाउँपालिकामा चामल ढुवानीको ठेक्का लिएको थियो। अरू दुई स्थानीय तहको चामल भने कम्पनीले पु¥याएको छ । गत वर्षकै ठेक्काबाट छार्काताङसोङको ढारगाउँमा ७ सय र डोल्पोबुद्धको धोमा ८ सय ७५ क्विन्टल चामल पुगेर वितरण भइसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । ‘केही समय चिसो र हिउँले ढुवानीमा समस्या बनायो,’ कम्पनीका डोल्पा शाखा प्रमुख कमलराज पाण्डेले भने, ‘छिटो चामल ढुवानी गर्न कम्पनीलाई ताकेता गरिरहेका छौं ।’ उनका अनुसार माथिल्लो डोल्पा पु¥याउनुपर्ने केही चामल दुनै आइपुगेको छ ।
केही चामल सुर्खेतबाट डोल्पा पुग्ने बाटोमा छ । माथिल्लो डोल्पामा अनुदानको चामल पुगेपछि स्थानीयले सस्तो मूल्यमा चामल पाएका छन् । स्थानीयले यसअघि स्थानीयलाई प्रतिक्विन्टल २० हजार रुपैयाँ तिरेर बजारको चामल किन्नुपर्ने बाध्यता थियो । कम्पनीले जिरा मसिनो चामल ७ हजार र सोना चामल ५ हजार ६ सय रुपैयाँमा उपलब्ध गराइरहेको शाखा प्रमुख पाण्डेले बताए ।
कोटा अनुसार चामल नपुग्दा गाउँमा खाद्यान्न समस्या भएको शे–फोक्सुन्डो गाउँपालिका अध्यक्ष टसितुन्डुप गुरुङले बताए । समयमै चामल नपुगेको बताए । ‘पुगेको चामल सबै वितरण भयो,’ उनले भने, ‘थप चामल आएन ।’ उनका अनुसार कोरोना महामारीका कारण चीनले नाका बन्द गरपछि माथिल्लोे डोल्पामा दुई वर्षदेखि चामल पुग्न सकेको थिएन । विगत वर्षहरूमा चीन हुँदै चामल माथिल्लो डोल्पा पठाइन्थ्यो। यो वर्ष सदरमुकाम दुनै हुँदै चामल ढुवानी गरिएको हो।





error: Content is protected !!