डोल्पाको धो गाउँमा चार सिकिस्त कर्मचारीको उद्धार

डोल्पा ः डोल्पाको उत्तरी क्षेत्रअन्तर्गत डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धो मा सिकिस्त बिरामी परेका चारजना कर्मचारीको आज हेलिकोप्टरबा उद्धार गरिएको छ।
चार दिनदेखि बिरामीले थला परेका स्वास्थ्य संयोजक सुरेन्द्र बिक, प्राविधिक खेमराज सिंह,प्राविधिक माधन पुन र तिन्जे स्वास्थ्य चौकी प्रमुख दिक्पाल रोकायको उद्धार उद्धार गरिएको हो।
बिरामीहरू आफैँ हिँडेर दुनै पुग्ने अवस्था नभएकाले हेलिकोप्टरबाट उद्धारका लागि मंगलबारदेखि पहल गरिए पनि मौसममा आएको खराबीले काठमाडौंबाट हेलिकोप्टर आउन नसकेर आज मात्र उद्धार भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले जानकारी दिए।
कार्यालयको कामको शिलशिलामा वैशाख ४ गते उपल्लो डोल्पा हिँडेका बिरामी कर्मचारीहरू रुखाखोकी, ज्वरो, शरीर दुख्ने र सास फेर्ने गाह्रो हुने समस्याले सिकिस्त भएको पंज्ञानीले बताए।
गाउँपालिकाकै रु छ लाख खर्चमा हेलिकोप्टर झिकाएर उद्धार गरिएको उहाँको भनाइ छ ।
यीमध्ये स्वास्थ्य संयोजक विकको स्वाथ्य अवस्था अन्य तीनको तुलनामा थप जटिल रहेको सँगै रहेका अर्का प्राविधिक कृष्णरुप बुढाले जानकारी दिए।



