चौरीपालनको हर्व बन्दै जगदुल्ला

हेमन्त न्यौपाने
जाजरकोट – जगदुल्ला गाउँपालिका –४ चौरीकोट मौरेलेख डोल्पामा ४ सय भन्दा बढी चौरीहरुको बथानले वातावरण नै रमाइलो बनाएको छ ।
सुरुमा ५३ वटा चौरीबाट सुरु गरिएको यो फारममा अहिले ४०० भन्दा बढी चौरीहरु रहेका छन् । स्थानीयले समूह मार्फत सामूहिक रुपमा पालन गरेको चौरी पालन व्यवसाय बिभिन्न निकायको सहयोगबाट फष्टाउँदै गएको छ । करिब ४ हजार मिटरको उचाइमा रहेको मौरे लेखमा गरिएको चौरीपालनको काम तीन वर्ष भित्र भारी फस्टाएको छ । भालु पाटन व्यवसायिक चौरी पालन फर्मको नामबाट चौरीकोटका स्थानीयले गाउँका सवैलाइ भाग पर्ने गरि यहाँ चौरी फारम स्थापना गरेका हुँन् । फर्मलाइ स्थानीय सरकार र प्रदेश सरकारले संयूक्त रुपमा लगानी गरि सहयोग गरेकोले आफूहरु सफल भएको समूहका अध्यक्ष शक्तप्रसाद रोकायले जानकारी दिनुभयो । सुरुमा दुइ वटा चौरीहरु एक घरको भागमा परेको थियो भने अहिले चौरीको संख्या बढेर एक घरको ६ भन्दा बढी भएको अध्यक्ष रोकायले जानकारी दिनुभयो ।
गाउँपालिकाको एक घर , एक रोजगार कार्यक्रम अन्तरर्गत र प्रदेश सरकारको आर्थिक सहयोगमा मौरेलेकमा ४०० भन्दा बढी चौरीहरु रहेको प्रदेशसभा सदस्य बीरबहादुर शाहीले जानकारी दिनुभयो ।
प्रदेश सरकारको रु ६३ लाख , गाउँपालिकाको रु ३३ लाखमा दुइ वर्ष अघि मात्र यो चौरी फारम सञ्चालना आएको थियो । चौरीले अहिले बच्चा जन्माएर चौरीको संख्य थपिएको छ । कर्णाली प्रदेशकै नमुना चौरीपालन फारम बनाउने उदेश्यका साथ काम भइरहेको प्रदेशसभा सदस्या शाहीले जानकारी दिनुभयो ।
पहिलो वर्षमै दुधबाट उच्चस्तरीय छुर्पी उत्पादन गरेर बिक्री सुरु गरेको अध्यक्ष रोकायले बताउनुभयो । उहाँले भन्नुभयो ,“ हामीले गाँउपालिकामै डेरी उद्योग पनि सञ्चालन गरेका छौं । जहाँबाट हरेक दिन कुनै पनि समयमा ताजा दुध, घिउ, नौनि, चुर्पी र दही खान पाइन्छ ।”
हिमालको नजिकैमा रहेको चौरी फर्ममा चौरी गाईहरु बाच्छा अनि भाले चौरीले फर्म भरिभराउ रहेको देखिन्छ । स्थानीय नरप्रसाद रोकायले भन्नुभयो , “ भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालय र स्थानीय सरकारलाई सम्मान गर्ने कुनै शब्द नै छैन हाम्रो जीवनस्तर सुधार बनायो चौरी पालन व्यसायले ।”
प्रदेश सरकारले नमुना चौरी पालन व्यवसायका लागि दिएको बजेटको सहि सदुपयोग भालु पाटन व्यवसायिक चौरी पालन फर्मका समूहले गरेको र यो फर्म कर्णाली प्रदेशकै उत्कृष्ट रहेको ठहर गरिएकोले अब थप व्यवस्थापनको लागि प्रदेश सरकारले सहयोग गर्ने प्रदेससभा सदस्य शाहीले बताउनुभयो ।
भौगोलिक बनावट पनि मिलेको र स्थानीयहरु पनि निकै सक्रिय रहेकोले व्यवसाय फष्टाउँदै जानेमा विश्वास्त रहेको प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिनुभयो । जैसीले भन्नुभयो , “ अब डेरी उद्योगमा नै सिमित नभएर उत्कृष्ट चौरीको चिज उद्योग समेत स्थापना गरी स्वदेश तथा विदेशमा समेत निर्यात गर्ने लक्ष्य रहेको छ । ” हाल एक जना व्यवस्थापक, ३ जना गोठालाले चौरी फर्म सञ्चालन गरीरहेका छन । जगदुल्लामा अहिले अन्य पशुपालनकै ९ वटा फारमहरु सञ्चालनमा रहेको जैसीले जानकारी दिनुभयो ।
पशुपालनको हर्व बनाउका लागि आफूहरु उत्पादनमा मोडेलमा गएको उहाँले बताउनुभयो । मेहनतका साथ काम गरे ,असम्भव भन्ने केही पनि नभएको उहाँको भनाइ रहेको छ । हिमाली क्षेत्रको यातायात भनेर चिनिने चौरीबाट बिभिन्न लाभहरु लिन सकिन्छ । भारी बोकाउने , दुध उत्पादन , घ्यू उत्पादनका साथै कपडा निर्माणका लागि उन समेत पाइने गर्दछ ।
उपल्लो डोल्पाका अधिकांश ठाउँमा यही चौरीको सहायाताले दैनिक उपभोग्य सामग्री ढुवानी गरिन्छ । खेतबारी जोत्ने काम समेच चौरीकै मदतले गरिन्छ । चिसो मौसममा राम्रो सँग ढुवानी तथा पालन गर्न किने चौरी लामा तथा बाक्ला रौँ भएको र छोटो खुट्टा भएकाले सामग्री राख्न सजिलो हुने गर्दछ । चौरीलाई पशुपालनको मुख्य पेशाको रुपमा लिइन्छ ।










