कालिकोटमा नगर उपप्रमुखलाई रित्तो जर्किन उपहार

कालिकोट ः कालिकोटको सदरमुकाम मान्ममा खानेपानीको अभाव भएपछि नागरिक समाज तथा स्थानीयले खाँडाचक्र नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई रित्तो जर्किन दिएका छन् । लामो समयदेखि जिल्ला सदरमुकाम मान्ममा खानेपानीको आपूर्ति नभएको भन्दै नागरिक समाजका अगुवा तथा स्थानीयहरूले नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई रित्तो जर्किन र पानीको पोका दिएका छन् ।

लामो समयदेखि जिल्ला सदरमुकाममा खानेपानीको अभाव हुँदा कसैले चासो नदिएका कारणले नागरिक समाजका अगुवा तथा स्थानीयवासीले आन्दोलन गर्नुपरेको कालिकोटका मानव अधिकारकर्मी कालीबहादुर मल्लले बताए । तत्काल खानेपानीको व्यवस्था गर्न माग गर्न पनि उनीहरूले माग गरेका छन् ।

जिल्ला सदरमुकाममा लामो समयदेखि खानेपानीको अभाव हुँदा कसैको ध्यान नपुगेकोले रित्तो जर्किन नगर उपप्रमुखलाई बुझाएको स्थानीय रमिता शाहीले बताइन् । ‘खानेपानीको अभाव हुँदा जिल्लामा ठूलाबडा कसैको ध्यान गएन,’ उनले भनिन्, ‘त्यसैले हामीहरू सांकेतिक आन्दोलन गर्न बाध्य भएका हौँ ।’

खानेपानीको समस्या तत्काल हल गर्नका लागि नगरपालिकाले पहल गर्ने खाँडाचक्र नगरपालिकाकी उपप्रमुख विजया विष्टले बताइन् । ‘कोही पनि खानेपानीबाट वञ्चित नहुन् भन्ने हाम्रो मान्यता हो,’ उनले भनिन्, ‘खानेपानीको समस्या हल गर्नका लागि म तत्काल पहल चाल्नेछु ।’





error: Content is protected !!