घोषित मितिमा प्रदर्शन हुन्छन् त यी नेपाली फिल्म ?

काठमाडौं– भारतमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर चलेको छ ।

यसैको प्रभाव एकपछि अर्को गर्दै फिल्म प्रदर्शन रोकिएका छन् ।

भारतमा सङ्क्रमण बढे सँगै खुला सिमानाको कारण नेपालमा समेत सङ्क्रमण दर उच्च हुँदै गएको छ ।
फिल्मका गतिविधिहरू चलायमान हुँदै गर्दा सङ्क्रमण बढ्नाले यसको असर कला क्षेत्रमा देखिने पक्का छ ।

नयाँ नेपाली फिल्म ‘गोर्खे’ प्रदर्शन भएपछि सिनमा हलमा अन्य नयाँ फिल्म प्रदर्शन हुन सकेका छैनन् ।

चैत २० गते ‘गुड फ्रेण्ड’ फिल्म प्रदर्शनको तयारीमा छ ।

बिजी बर्मा फिल्मस् प्रालिको लागि वसन्त बर्मा प्रस्तुतकर्ता रहेको फिल्ममा मुकेश ढकाल, सविना कार्की, एलबी कटुवाल, वसन्त बर्मा, राजन महर्जन, पूजा महर्जन, राज सिंह लगायतको अभिनय रहेको छ ।

फिल्मका निर्देशक राज बहादुर सानेले फिल्म चैत २० गते नै प्रदर्शन हुने बताएका छन् ।

२७ गते प्रदर्शन हुने भनिएका तीन वटा नयाँ नेपाली फिल्महरुमध्येका एक नचल्ने पक्का भएको छ ।

‘लप्पन छप्पन(२’ बढ्दो कोरोना सङ्क्रमणलाई कारण देखाउँदै पछि सरेको हो ।

फिल्मका निर्देशक मुकुन्द भट्टले अब आफ्नो यो फिल्म कहिले प्रदर्शनमा आउँछ समेत टुङ्गो नभएको बताउँछन् ।

त्यस्तै अर्को फिल्म ‘मन सँग मन’ समेत प्रदर्शन नहुने हल्ला चल्न थालेको छ ।

फिल्मका अभिनेता पुष्प खड्कासँग कुराकानी गर्दा उनले यस विषयमा आफूलाई जानकारी नभएको बताए ।

टिमका अन्य व्यक्ति सँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

दीपक वलीद्वारा निर्देशित फिल्म ‘कृष्ण लीला’ भने प्रदर्शन हुने सम्भावना रहेको छ ।

फिल्मका लेखक लक्ष्मण सुवेदीले अहिलेसम्म फिल्म प्रदर्शन नै गर्ने योजना भएको बताउरछन् ।

‘प्रदर्शनको मिति आउँदासम्म परिस्थिति परिवर्तन भएन भने लाग्छ’, भन्दै उनले अहिलेसम्म लगाउने तयारी मै टिम रहेको उल्लेख गरे ।

यसै पनि अधिकांश नेपाली फिल्म चल्न सकेको थिएन ।

त्यहीमाथि कोरोना सङ्क्रमणले गर्दा त स्थिति दयनीय छ ।

भारतमा समेत एकपछि अर्को गर्दै निर्माता आफ्ना फिल्मको प्रदर्शन रोक्न लागेका छन् ।

नेपालमा समेत त्यसको असर देखिन थालेको छ ।





error: Content is protected !!