कसरी हटाउने डन्डीफोर


डन्डीफोर छालामा हुने आमसमस्या हो । अध्ययनका अनुसार ८५ प्रतिशत मानिसलाई एक न एकपटक डन्डीफोर आउँछ । किशोरावस्थामा देखिने डन्डीफोर उमेरसँगै हटेर जान्छ ।
सामान्यतया डन्डीफोर आउने कारणहरु यस्ता छन्–
शरीरभित्रको तेल ग्रन्थीले अधिक तेल उत्पादन गर्नु,
छालामा हुने रासायनिक प्रभाव,
छालाको पत्रहरु जम्मा हुनु,
छालामा संक्रमण हुनु,
यी कारणले छालामा डन्डीफोर आउनुलाई सामान्य मानिन्छ । तर, यीबाहेक पनि पछिल्लो समय तीस वर्ष उमेर कटिसकेका मानिसमा यो समस्या बढ्न थालेको छ । किशोरावस्थाबाहेक निम्न कारणले अनुहारमा डन्डीफोर देखिने गरेको पाइएको छ ।
तनाव,
वायु प्रदूषण,
छालामा हुने रासायनिक गडबडी,
मास्कको अधिक प्रयोग,
कोल्स्ट्रोलको मात्रा बढ्नु,
थाइराइड,
मधुमेह,
मोटोपन,
व्यायाम र जिमको बढ्दो अभ्यास,
कपाल सफा नहुनु,
छालाको स्याहार नमिल्नु,
छालामा नियमित डन्डीफोर आउनु, दाग बस्नु, दुख्ने गरी घाउ हुनु, खत छोड्नुलाई सामान्य डन्डीफोर भन्न मिल्दैन । यस्ता अवस्थामा छालारोग विशेषज्ञको सल्लाहमा उपचार प्रक्रियामा जानुपर्छ । अन्यथा, सामान्य देखिने डन्डीफोरले छालामा दीर्घकालीन असर देखाउनसक्छ ।
कसरी हट्छ डन्डीफोर ?
डन्डीफोर नियन्त्रणका लागि खानपानमा ध्यान दिनु नै पहिलो उपाय हो । स्वस्थकर खानपान र प्रशस्त पानी पिउनु डन्डीफोर रोकथामको एक उपाय हो । यदि, खानपानमा ध्यन दिँदै गर्दा पनि यो समस्या देखिएमा रेटिनोल क्रिमको प्रयोग एक प्रमुख नियन्त्रणको उपाय हो । हप्तामा केही दिन र थोरै–थोरै मात्रामा यो क्रिमको प्रयोग गर्नुपर्छ । दिउँसो सन्सक्रिम र राति रेटिनल क्रिम नियमित प्रयोग गर्नुपर्छ । यसरी प्रयोग गर्दा डन्डीफोर नियन्त्रण गर्न सकिन्छ । तर, घाउ हुने, पाक्ने खालको डन्डीफोरलाई एन्टी बायोटिक क्रिम वा औषधि नै प्रयोग गर्नुपर्ने हुन्छ । औषधि या एन्टी बायोटिक क्रिम प्रयोग गर्नुपरेमा छालारोग विशेषज्ञको सल्लाह लिनु अनिवार्य हुन्छ ।
कस्तो स्किनकेयर प्रयोग गर्ने ?
डन्डीफोरको समस्या भएका व्यक्तिहरुले जेल अथवा क्रिमबेस्ड सामग्रीहरु चलाउनुपर्छ । मोइस्चराइजरको नियमित प्रयोगले डन्डीफोर घटाउन मद्दत गर्छ । मोइस्चराइजरको नियमित प्रयोगले सुक्खापनबाट बचाउँछ र छालाको सतहको रक्षा गर्छ । मेकअपका सामग्री किन्दा बजारमा प्रचारमा आएका वा जथाभावी सामाग्री किन्नु हुँदैन । कागती, टुथपेस्टजस्ता छालालाई हानि हुने सामग्री अनुहारमा लगाउनु हुँदैन र सुत्नुअघि सधैँ मेकअप धोएर मात्रै सुत्ने गर्नुपर्छ ।
व्यायामपछि आउने डन्डीफोर कसरी हटाउने ?
व्यायाम गर्नुअघि मुख धोएर जेलबेसको मोइस्चराइजर लगाउने तर मेकअप नगर्ने गर्नुपर्छ । व्यायामका समयमा आएको पसिना पुछ्न रुमालको प्रयोग गर्नुपर्छ र व्यायामपछि नुहाउने र फेसवासले मुख धुने गर्नुपर्छ । कसै–कसैको शरीरका अन्य भागमा पनि डन्डीफोर आउने हुनाले व्यायामपछि नुहाउनु नै उपयुक्त हुन्छ । बाहिर निस्कँदा सन्सक्रिम र वा मोइस्चराइजर लगाएर हिँड्नुपर्छ । घामले डन्डीफोर बढाउने हुँदा छाताको प्रयोग गर्नु राम्रो हुन्छ ।
खानेकुराले पनि डन्डीफोर बढाउँछ ?
चिल्लो पदार्थ, चिनी र क्यालोरी बढी भएका खानेकुराले डन्डीफोर बढाउँछन् । चकलेट, दूधको परिकार, प्रोटिन पाउडरजस्ता खानेकुराले पनि यो समस्या बढाउँछन् । त्यस्तै, अमिलो–पिरो खानेकुरामा पाइने हिस्टामिन नामक रसायनले पनि डन्डीफोर बढाउने गरेको पाइएको छ ।
कस्तो छाला भएका व्यक्तिमा डन्डीफोर बढी आउँछ ?
रसायन र उमेरको प्रभावले आउने डन्डीफोर सबै किसिमको छाला हुने व्यक्तिमा देखिनसक्छ । आजकाल एक्सफोलिएट गर्ने चलन बढेको देखिन्छ । आफ्नो छालाको प्रकार थाहा नपाइ धेरै एक्स्फोलिएट गर्दा सुक्खापन बढ्न जान्छ । जसले गर्दा डन्डीफोर आउने सम्भावना बढी हुन्छ । तेलीय छाला हुनेले हप्तामा एकपटक र सुक्खा छाला हुनेले महिनामा दुईपटकभन्दा बढी एक्सफोलिएट नगर्दा राम्रो हुन्छ ।
मास्क्ने भनेको के हो ?
कोभिड–१९ को प्रकोपसँगै सबैतिर अहिले मास्क अनिवार्य गरिएको छ । यसले गर्दा धेरैमा मास्क्नेको समस्या बढेको देखिन्छ । पहिले स्वास्थ्यकर्मीमा मात्रै देखिने यो समस्या अहिले आमरूपमा देखिन थालेको छ । मास्क धेरै बेरसम्म लगाएकै कारण धेरै गुम्सिनु, जलन हुनु, पसिनाले छाला सुक्खा बनाउनु, मोइस्चराइजर नपुग्नु यो समस्याको मुख्य कारणहरु हुन् । अमेरिकन डर्माटोलोजी सोसाइटीका अनुसार मास्क्ने आउने व्यक्तिलाई जेलबेस्ड मोइस्चराइजर लगाउन, मेकअप कम गर्न, छालालाई तीन–चार घण्टाको फरकमा मास्क फ्री राख्न, सफ्ट फेसवासको प्रयोग गर्न सुझाव दिइएको छ । मास्क लगाउँदा पनि कटन वा सिल्कको कपडावाला मास्क प्रयोग गर्ने, समय–समयमा मास्क फेर्ने र सुत्नुअघि सफासँग मुख धुने अभ्यास गर्न सोसाइटीको सुझाव छ ।
छालारोग विशेषज्ञका रूपमा कार्यरत् डा स्मृति श्रेष्ठ धुलिखेल अस्पतालका असिस्टेन्ट प्रोफेसर हुन् ।






