कर्णालीका प्रहरी भवन बनाउन प्रदेश सरकारले दियो १२ करोड

कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका जिल्ला प्रहरी कार्यालयका भवन निर्माणका लागि १२ करोड ५९ लाख २ हजार ९७८ रुपैयाँ हस्तान्तरण गर्ने भएको छ।

माघ ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले भवन संरचना निर्माण पूरा गर्नका लागि जिल्ला प्रहरी कार्यालयले निकासा गर्न मिल्नेगरी रकम हस्तान्तरण गर्ने निर्णय गरेको हो।

कुल रकममध्ये ७ करोड रुपैयाँ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विनियोजित रकमबाट ब्यहोर्ने र ५ करोड ५९ लाख २ हजार ९७८ रुपैयाँ आर्थिक मामिला मन्त्रालयबाट निकासा गर्न मिल्नेगरी अख्तियारी दिइएको हो।

कर्णाली प्रदेशका सशस्त्र प्रहरी गण मुख्यालय र नेपाल प्रहरी स्कुल परिसरभित्र अस्थायी संरचना निर्माणका लागि ४० लाख रुपैयाँ दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

यस्तै कर्णाली प्रदेशभर हरेक वर्ष फागुन ६ गते प्राङ्गारिक कृषि दिवस मनाउने निर्णय पनि गरेको छ। यो प्रस्ताव प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको थियो।

 

कृषि मन्त्रालयकै प्रस्तावमा नेपाल कृषि सेवाअन्तर्गतका करार कर्मचारीहरू र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा नेपाल वन सेवाअन्तर्गतका करार कर्मचारीको म्याद थप गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।





error: Content is protected !!