हिमालपारीको गाउँ लिमी छोड्ने बढे, अस्तित्व मेटिने डर

राजन रावत
हुम्ला ः हिमालपारीको गाउँ लिमीबाट गाउँ छोड्नेको संख्या वर्सेनि रबढ्दै गएको छ । गाउँमै ब्यापार ब्यवसायको बिकल्प नदेखिनु र गाउँ छोड्ने स्थानीय शहरमुखी भएपछि घर नै बन्द गरेर गाउँ छोड्नेको संख्यामा बृद्धि भएको हो ।
लिमी उपत्यकामा तीन वटा गाउँ भएकोमा हल्जी, तील र जाङ गाउँबाट वर्सेनि गाउँ छोडेर काठमाडौं हुईकिने संख्या बढ्दै गएको तील गाउँका राङडोल तामाङले बताउनुभयो । यद्यपि अन्य दुई गाउँ भन्दा एक हजार दुई सय वर्ष पुरानो गुम्वाको कारण हल्जी गाउँबाट गाउँ छाड्नेको संख्या ज्यादै न्यून छ ।

विशेष गरे ब्यापार व्यवसाय गर्ने सिलसिलामा राजधानी काठमाडौ, भारतको दिल्ली, हंङकङ र अमेरिका जस्ता देशमा पुगेपछि गाउँ फर्कन नमान्ने संख्या बढेपछि गाउँ छोड्नेको संख्या बढेको उहाँले बताउनुभयो । हालसम्म सबै भन्दा बढी गाउँ छोड्नेको संख्या जाङ गाउँमा रहेको छ । ६७ घरधुरी मध्य ३३ घरधुरीले हालसम्म गाउँ छोडेर काठमाडौ पलाएन भएको स्थानीय कुन्जोक तामाङले बताउनुभयो । त्यसै गरि तील गाउँबाट ३२ घरधुरीमा १२ र हल्जीका ८७ घरधुरी मध्य दुई घरधुरीले गाउँ छाडेको उहाँले बताउनुभयो । दुख धेरै र काम बढी गर्नु पर्ने भएको कारण र पशुपालन ब्यवसाय लिमीबाट हराउन थालेपछि गाउँ छोड्नेको संख्या बढ्दै गएको उहाँले सुनाउनुभयो ।

बढ्दो आधुनिकीकरणमा लिमीका युवार आर्कषित हुन थालेपछि पनि गाउँ छोडेर काठमाडौं केन्द्रित हुने बढ्नु भएको हो । आखिर सुविधाका अगाडि कसैको केही नलाग्ने उहाँले बताउनुभयो । चलन पनि लिमीमा अचम्मको छ । यसरी गाउँ छोडेर जानेको घरमा ताला लाग्ने र जग्गा जमिन बिक्री गर्न नपाउने नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । गाउँ छोडेर जानेले जिन्सी सामान बिक्री गर्न वा आफुसंगै लिन पाउने भएपनि जग्गा जमिन भने बिक्री गर्न नपाउने चलन पुरानै भएको उहाँले बताउनुभयो । यसरी छोडेर जानेको जग्गा जमिन अन्य गाउँलेले भने उपभोग गर्न पाउनु हुन्छ । उक्त जग्गा पछि फर्केमा लिन भने पाईने ब्यबस्था छ ।

यसरी वर्सेनि स्थानीयले गाउँ छाड्दै जाने हो भने भोलि लिमीको अस्तित्व मेटिन्छ कि भन्ने चिन्ता वडा अध्यक्षको छ । धेरै कुरा भएको लिमीमा स्थानीयको पलाएनले समस्या नआउला भन्न नसकिने अबस्था छ । वडा अध्यक्ष तामाङले तीनै तहका सरकारसंग आधुनिक सेवा सुबिधा उपलब्ध गराएर गाउँ छोड्ने चलनलाई घटाउन आग्रह गर्नुभयो । लिमीमा गाउँ छोड्नेको संख्या बृद्धि भएकोमा कर्णाली प्रदेश सभा ख नम्बर क्षेत्रका सासद जीवन बहादुर शाही चिन्ता ब्यक्त गर्नु हुन्छ । उहाँले अब लिमीलाई सडक सञ्जाल जति सक्दो चाँडो जोडेर बिधुतीकरण गर्दै सञ्चारको पहँच पुर्याउने हो भने लिमी मै बस्ने बातबरण तयार हुने बताउनु हुन्छ ।





error: Content is protected !!