संसद बिघटनबिरुद्ध काँग्रेसको पाल्पामा बिरोध प्रदर्शन

सुशीला रेग्मी

रामपुर (पाल्पा) केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको बिरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पाल्पाले बिरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेसले सोमवार देशभर बिरोध प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार पाल्पा सहित देशभरका एक सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ । कांग्रेसले ओलीको कदमलाई असंबैधानिक रहेको भन्दै पाल्पाका दुईवटै प्रतिनिधि सभाका क्षेत्रमा ¥याली निकालेर बिरोध प्रदर्शनका कार्यक्रम भएको छ ।

क्षेत्र नम्वर १ को आयोजनामा रामपुर नगरपालिका र क्षेत्र नं २ को आयोजनामा तानसेन नगरपालिकामा व्यापक प्रदर्शन भएको छ । क्षेत्र नं १ पाल्पाको आयोजना तथा रामपुर नगर कार्यसमितिको सहआयोजनामा भएको बिरोध प्रदर्शन कार्यक्रममा ओली सरकारले गरेको संसद बिघटन कार्य असंबैधानिक रहेको भन्दै ¥याली निकालेर बिरोध गरिएको छ । बेझाड बजार नहरअफिस बगैचाबाट निस्केको ¥याली हुलाकटोल बेझाड बजार, बाङ्गेपसल, ईलाका प्रशासन कार्यालय हुदै पुनः बेझाड बजार प्रहरी बिटमा पुगेर कोण सभा भएको छ ।

क्षेत्र नं १ क पाल्पाका क्षेत्रीय सभापति सूर्यप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना नेपाली कांग्रेस पूर्व केन्द्रिय सदस्य राजनप्रसाद पन्त रहनुभएको हो । मुख्य पाहुना पूर्व केन्द्रिय सदस्य पन्तले कम्युनिष्ट नेतृत्व सरकारले संबिधान बिपरित काम गरेको बताउँनुहुदै प्रधानमन्त्री ओली नेतृत्वकै सरकारमा देशमा भ्रष्टाचार बढेको बताउनुभएको छ । प्रधानमन्त्री र राष्ट्रपतिले संबिधानको मर्म र भावना विपरित कार्य गरेको बताउनुहुदै उहाँले ओली सरकारले मुलुक र नेपाली जनतालाई समृद्धि दिन नसकेको, नेपाली कांग्रेसले लोकतन्त्रलाई बचाउने काम गरेको बताउनुभएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका उपसभापति देवराज ढकालले नेकपाभित्रै विभाजन भएको कुनै पनि पक्षबाट देशको प्रगति नहुने, अबको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएर सरकार चलाउने बताउनुभयो ।

नेपाली कांग्रेस महासमिति सदस्य तथा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले नेकपा नेतृत्वको सरकारले पार्टीभित्रको आन्तरिक समस्याले गर्दा देशलाई अन्यौलमा पारेको बताउनुभयो । नेकपाले आफ्नै पार्टीभित्र समन्वय गर्न नसक्दा पार्टीभित्रै विभिन्न पक्ष विभाजन भएको बताउनुहुदै नगर प्रमुख थापाले बहुमत सहितको नेकपा नेतृत्वको सरकार स्थायीत्व हुन्छ भन्ने नेपाली जनताले गरेको अपेक्षा विपरितको कार्य देशमा भएको बताउनुभएको छ ।

कोण सभा कार्यक्रममा नेपाल महिला संघ क्षेत्रीय सभापति विष्णुमाया ढकाल, क्षेत्र नं १ पाल्पाका तरुण दल विद्यार्थी प्रमुख किशोर पंगेनी, तरुण दल क्षेत्रीय सभापति प्रेमप्रकाश श्रेष्ठ लगायतले आफ्ना भनाई राख्नुभएको छ । कार्यक्रमको संचालन नेपाली कांग्रेस नगर कार्यसमितिका सचिव चिरन्जीवी सिग्देलले गर्नुभएको हो ।

यसैगरी क्षेत्र नं २ को तानसेनमा भएको बिरोध सभालाई सम्बोधन गर्नुहुदै नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद विरबहादुर रानाले बहुमत प्राप्त केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान माथि कुठराधात गरेको बताउनुभएको छ । उहाँले संविधान र लोकतन्त्रको सरंक्षणका लागि कांग्रेस सडकमा आएको भन्दै अब सबै नेता कार्यकर्ता सजग हुनुपर्नेमा जोड दिनुभएको छ ।

तानसेनको हुलाक चोकमा भएको बृहत जुलुशपछिको कोणसभामा नेपाली कांग्रेसका जिल्ला सचिवहरु झपेन्द्र गहिरे, अजयमान कर्माचार्य, महासमिति सदस्य यमलाल तिमिल्सीना, नेपाली कांग्रेस क्षेत्र नं २ प्रदेश सभा ‘क’ का सभापति कृष्णप्रसाद बस्याल, प्रदेश सभाका उम्मेदवार माधव नेपाल, कांग्रेस रिब्दीकोट गाउँपालिकाका सभापति रामचन्द्र पाण्डे, पार्टीका कानुनी सल्लाहकार लालकुमारी राना, नेपाल महिला संघकी केन्द्रीय सदस्य रमा पन्त, नेपाल तरुण दलका जिल्ला सभापति मेजरसिं केसी, नेविसंघका कार्यबाहक जिल्ला सभापति सुरेश बोहोरा लगायतका नेताहरुले बहुमत प्राप्त सरकार प्रतिगामी बनेको र जनतालाई धोका दिएको आरोप लगाउनुभएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!