प्रसूति भवन अलपत्र

जाजरकोट ः जुनीचाँदे–१ मजकोटस्थित बडकुले स्वास्थ्य चौकीमा प्रसूति भवन निर्माण सुरु भएको ९ वर्ष बितेको छ। निर्माण कम्पनीको चरम लापरबाही र सरकारी उदासिनताका कारण उक्त भवन नबन्दा महिलाहरू सुरक्षित सुत्केरी सेवाबाट वञ्चित छन्।

निर्माण कम्पनीले पेटी ठेकेदारलाई काम जिम्मा दिएपछि काम नभएको देखिएको छ। फ्राइन्डस कन्स्ट्रक्सन प्रालि काठमाडौंले जिम्मा लिएको भवन डेढ वर्षभित्र
काम सम्पन्न गर्ने गरी २०६९ वैशाख २१ गते सम्झौता भएको थियो। एक करोड २७ लाख ११ हजार ६ रुपैयाँमा निर्माणको जिम्मा लिएपछि ठेकेदार कम्पनी सम्पर्कविहीन हुँदा भवन निर्माण पूरा हुन नसकेको संघीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतले जनाएको छ।

कार्यालयमा भएको सम्झौताअनुसार वित्तीयतर्फ १०।६ प्रतिशत र २० प्रतिशत भौतिक कार्य गरी ठेकेदार कम्पनी फरार रहेको कार्यालय प्रमुख निलमकुमार डंगोलले जानकारी दिए। पटकपटक ताकेता गर्दा पनि ठेकेदार कम्पनी सम्पर्कमा नआउँदा समस्या भएको उनको भनाइ छ।

ठेकेदार कम्पनीले समयमा काम सम्पन्न नगर्दा सुरक्षित प्रसूति सेवालगायत कार्यालयका नियमित काममा सास्ती भएको जुनीचाँदे गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक योगेश्वर बस्नेतले बताए। ठेकेदार कम्पनीले समयमै भवन निर्माण नगर्दा संस्थाबाट हुने सुरक्षित सुत्केरी सेवा प्रभावकारी हुन नसकेको बस्नेतको भनाइ छ।
फ्राइन्डस कन्स्ट्रक्सनका सञ्चालक पुष्प बजगाईंले नेतादेखि बैंकसम्मले पैसा खाएका कारण काम गर्न नसकेको आरोप लगाए। ‘मैले निर्माणको जिम्मा लिए पनि पेटी ठेकेदार, बैंकदेखि नेतासम्मले पैसा खाए,’ उनले भने।





error: Content is protected !!