ओलीलाई हटाएर नेपाललाई अध्यक्ष – ४४१ मध्ये ३१५ जनाले गरे दाहाल ,नेपाललाई समर्थन

काठमाडौं ः सत्तारुढ नेकपाको अध्यक्षमा माधवकुमार नेपाल चयन भएका छन् । बबरमहलमा म‌ंगलबार बसेको अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय समिति बैठकले नेता नेपाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा ३१५ केन्द्रीय सदस्य उपस्थित रहेको प्रवक्ता श्रेष्ठले बताए । नेकपामा ४४१ केन्द्रीय सदस्य थिए । पार्टी एकतापछि मनोनित ६ सदस्यको नाम निर्वाचन आयोगमा पठाइ नसकेकाले ४४१ सदस्यलाई आधिकारिक मानिएको हो । दाहाल- नेपाल समूहको गणनालाई आधार मान्दा दुई तिहाइ बढी केन्द्रीय सदस्य यो समूहसँग छन् ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरिएको केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए ।

केन्द्रीय सदस्य विरोध खतिवडाका अनुसार खनालले प्रस्ताव राख्‍दा विधानअनुरुप दुई अध्यक्ष राख्‍नै पर्ने व्यवस्था भएअनुरुप नेपाललाई अध्यक्षमा प्रस्ताव गरेको बताएका थिए । खनालको प्रस्तावमा अध्यक्ष दाहालले पार्टी विधानअनुरुप नचल्दा तानाशाहीपन प्रदर्शन हुन पुगेको बताउँदै अब पार्टी एकताको भावनाअनुरुप अघि बढ्ने विश्वास व्यक्त गरे ।

यही बैठकले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने निर्णय पनि गरेको छ । यसअघि ओली समूहको केन्द्रीय कमिटी बैठकले प्रवक्ता श्रेष्ठलाई हटाएको थियो । म‌ंगलबार बालुवाटारमा बसेको ‌ओली समूहको केन्द्रीय समिति बैठकले प्रवक्तामा प्रदीप ज्ञवालीलाई नियुक्त गरिसकेको छ ।

पूर्वप्रधानमन्त्री नेपाल तत्कालीन एमालेको महासचिव भइसकेका व्यक्ति हुन् ।





error: Content is protected !!