राउटेको मासिक भत्ता अब ५ हजार

दिपकजंग शाही
सुर्खेत ः फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख राउटे समुदायका लागि कर्णाली प्रदेश सरकारले मासिक २ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।


प्रदेश सरकारले थपिदिएसँगै अब राउटेहरुको भत्ता मासिक ५ हजार रुपैयाँ पुगेको छ। यसअघि नेपाल सरकारले उनीहरुलाई प्रतिव्यक्ति मासिक ३ हजार रुपैयाँ भत्ता दिने गरेको थियो। नेपाल सरकारले पनि गुराँस गाउँपालिकालाई नै उक्त रकम पठाउने गरेको छ।

‘लोपोन्मुख राउटे जातिको संरक्षण र सम्वद्र्धन गर्न प्रतिव्यक्ति मासिक २ हजार रुपैयाँ दिने निर्णय भएको छ,’ प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भनिन्।

मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेशबाट दिइने भत्ता रकम आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत दैलेखको गुराँस गाउँपालिकालाई वित्तीय हस्तान्तरण गरिनेछ। गाउँपालिकाले राउटेहरुलाई त्यो रकम वितरण गर्ने छ।

कर्णाली दैलेखको गुराँस गाउँपालिकाले राउटेहरुलाई स्थायी परिचयपत्र दिएको छ। हाल सुर्खेत र दैलेखका विभिन्न भागमा बस्ती बस्ने राउटेहरुलाई गाउँपालिकाले दिएको परिचयपत्र जन्मदर्ता परिचयपत्र जस्तै भएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए।

‘हामीले उनीहरुलाई स्थायी परिचयपत्र दिएका छौं, राउटे नेपालको जुनसुकै ठाउँमा गएर बसेपनि हाम्रा नागरिक हुन्,’ अध्यक्ष ओलीले भने, ‘आगामी फागुन वा चैतसम्म हामी उनीहरुलाई नागरिकता पनि वितरण गर्छौं।’

राउटे समुदाय हाल सुर्खेतको चिङ्गाड गाउँपालिका–५ हलेदीमा बसिरहेका छन्। ४५ परिवार रहेको यो समुदायमा १४५ जना सदस्य छन्।





error: Content is protected !!