डीपीआरको ढिलाइले सेनाले नलगाड छाड्दै

जाजरकोट ः ६ महिनाभन्दा बढी समयसम्म नलगाड जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम रोकिएपछि सुरक्षामा खटिएको सेनाले हात झिक्ने चेतावनी दिएको छ ।

सुरक्षामा खटिएको सेनासँग दुई वर्षको सम्झौता गरेको भए पनि सम्झौता मिति सकिएको र अहिलेसम्म सम्झौताअनुसारको व्यवस्थापनसमेत नगरेको सेनाले जानकारी दिएको छ । सम्झौताअनुसार नेपाली सेनालाई १५ लाख रुपैयाँ भुक्तानी दिइएको र ४३ लाख रुपैयाँ दिन बाँकी छ । डीपीआरको जिम्मा लिएको स्मेक, एमडब्लुएच र स्वदेशी कम्पनी उदय कन्सल्ट्यान्टले लिएका छन् । आयोजनाको डीपीआर बनाउने जिम्मा लिएको कन्सल्ट्यान्टले नै सेनालाई सम्झौताअनुसार पैसा भुक्तानी नदिएको नलगाड जलविद्युत आयोजना ले जनाएको छ ।

योभन्दा पहिला सेनालाई १५ लाख रुपैयाँ उदय कन्सल्ट्यान्टका बसन्त डिसीले उपलब्ध गराएका थिए । डीपीआरको काम गर्दा बिस्फोटको जिम्मा नेपाली सेनाको रहेको थियो । सेनासँग दुई वर्षका लागि सम्झौता भएकोमा सो सम्झौतासमेत भाका नाघिसकेको छ । सेनाले दैनिक कामको बारेमा छलफल गर्न खोज्दा कोही पनि सम्पर्कमा नआएको बताएको छ ।

अहिले आयोजनास्थलमा खटिएको सेनाले व्यवस्थापनको कुनै पनि कुरा नहेरेको सेनाले जनाएको छ । चिसो मौसममा आयोजनास्थलमा रहेका व्यवस्थापनविहीन अवस्थामा सेना बस्नुपरेको सेनाले गुनासो गरेको छ । रासस





error: Content is protected !!