स्थायी कमिटि ः दोधारमा ओली , ओली नआए पनि वैठक चल्ने अर्को पक्षको भनाइ

काठमाडौँ – चौतर्फी घेराबन्दीमा परेका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आइतबार प्रस्तावित स्थायी कमिटि बैठकमा सामेल हुने या नहुने भन्ने विषयमा निर्णय लिन एकाबिहानै आफू निकट नेताहरुसँगको छलफलमा जुटेका छन्।

बालुवाटार स्रोतका अनुसार ओली र नेताहरु सुवास नेम्वाङबीच अहिले छलफल भइरहेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल बालुवाटार पुग्दैछन्।

नेकपा स्थायी कमिटि बैठक आइतबार एक बजेका लागि तय गरिएको छ। शुक्रबार ओलीले आफ्ना प्रतिद्वन्द्वी पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफूविरुद्धको प्रस्ताव फिर्ता नगरेमा स्थायी कमिटिमा सहभागी नहुने चेतावनी दिएका थिए।

तर प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता गर्ने स्थितिमा आफू नभएकाले आइतबार प्रस्तावित स्थायी कमिटि बैठकमा आउन आग्रह गरेका थिए। तर प्रस्ताव फिर्ता नभएसम्म बैठकमा नआउने चेतावनी दिएका ओलीले आइतबार प्रस्तावित बैठकमा जाने या नजाने भन्नेबारेमा आफू निकट नेताहरुसँग बिहानै परामर्शमा जुटेका हुन्।

प्रचण्ड र ओलीसँग असन्तुष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने आइतबार ओली सहभागी नभए पनि बैठक नरोकिने बताएको छ।

प्रचण्ड–नेपाल पक्षका पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आइतबारको बैठक रोकिने कुनै सम्भावना नरहेको बताए।

उनले भने,‘आजको बैठकमा प्रधानमन्त्री आउनुहुन्छ भन्नेमा हामीलाई विश्वास छ। तर उहाँ आउनु भएन भने बैठक रोक्ने भन्ने जस्तो सल्लाह भएको छैन।’

पछिल्लो पटक नेकपा स्थायी कमिटि बैठक पुस एक गते बसेको थियो। उक्त बैठकले ओलीले जारी गरेको संवैधानिक परिषद् ऐन संशोधन अध्यादेश र संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपतिलाई बुझाउन ठिक्क पारिएको समावेदन फिर्ता लिन ओली र प्रचण्डको सहमतिलाई अनुमोदन गरेको थियो।

तर ओलीले यो बीचमा पूर्वसहमति अनुसार अध्यादेश फिर्ता लिएनन्। उनले प्रचण्डको आफूविरुद्धको ‘अभियोग’ पत्र फिर्ता नभएसम्म अध्यादेश फिर्ता गर्न नसक्ने नयाँ शर्त अघि सारेका छन्।

यसैबीच ओली पक्षका नेताहरुले पार्टी अध्यक्ष पद ओलीले छोडेर सहमति हुने अवस्थामा ओलीको सट्टामा पछिल्लो विवादमा हालसम्म प्रचण्डलाई साथ दिइरहेका पार्टी उपाध्यक्ष गौतमलाई ल्याउने प्रस्ताव अघि सारेपछि नेकपामा नयाँ कोणबाट छलफल सुरु भएको छ।

तर यसमा प्रचण्ड र नेपालको स्पष्ट धारणा आइनसकेको गौतम निकट केन्द्रीय सदस्य हरि पराजुलीले बताएका छन्।





error: Content is protected !!