डोल्पाको डाँफे चिडियाखाना लगिँदै

डोल्पा ः मध्यवर्ती क्षेत्रका एक स्थानीयले उद्धार गरी शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडमा बुझाएको भाले डाँफे काठमाडौंस्थित चिडियाखाना लगिने भएको छ।

एक साताअघि त्रिपुरासुन्दरी नगरपालिका–२ रसी गाउँका वीरचन्द्र कठायतले चिलले लखेटेर घाइते बनाएको भाले डाँफे उद्धार गरी निकुञ्जमा बुझाएका थिए। संघीय सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज विभागको निर्देशनमा डाँफेलाई चिडियाखाना लैजान लागिएको निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए।

डाँफेलाई निकुञ्ज कार्यालयमा सुरक्षित राखिएकाले केही दिनभित्रै काठमाडौं लगिने पौडेलको भनाइ छ। एक महिना यता दुई घोरल र एक डाँफेसहित तीन वटा संरक्षित वन्यजन्तु स्थानीयलेनै उद्धार गरी निकुञ्ज कार्यालयमा बुझाएका छन्।

पछिल्लो समयमा निकुञ्ज र मध्यवर्ती क्षेत्रका स्थानीयलाई वन्यजन्तु संरक्षणमा जागरुक बनाउन निकुञ्ज सफल भएको सरोकारवालको भनाइ छ। संरक्षणका क्षेत्रमा उदाहारणीय काम गर्ने व्यक्ति वा संस्थालाई निकुञ्जले पुरष्कार समेत दिँदै आएको छ।





error: Content is protected !!