प्रदेश र स्थानीय सरकारको सहयोगमा वाइन उद्योग

रुकुम पश्चिम ः आठबीसकोट नगरपालिका–१२ स्थापना भएको कर्णाली वेभरेज इन्डस्ट्रिज प्रालिले प्रदेश र स्थानीय सरकारको सहयोगमा डिमुरको वाइन उत्पादन गर्न थालेको छ । डिमुर र डिमोर गरी दुई ब्रान्डबाट वाइन बजारमा आउन थालेको हो ।

उद्योगमा ब्राजिलबाट ल्याइएको रासायनिक पदार्थबाट डिमुरको वाइन तयार पारिएको छ । अहिलेसम्म करिब ९ करोड रुपैयाँ लगानी भएको उद्योगमा नगरपालिका र प्रदेश सरकारले २ करोड ४६ लाख रुपैयाँ लगानी गरेका छन् । ४३ जना सेयर सदस्यले पनि लगानी गरेको कम्पनीले जनाएको छ । दुई वर्षअघि उद्योग स्थापना गरी स्थानीय सामुदायिक वनमा खेर गइरहेको डिमुरको वाइन बनाउने तयारी थालिएको थियो । कम्पनीले वाइनका साथै विभिन्न जुस पनि उत्पादन गर्ने तयारी गरेको छ । कम्पनीको यो पहिलो उत्पादन हो । गत वर्ष कम्पनीले साढे २६ लाख रुपैयाँको डिमुर खरिद गरेको थियो । आठबीसकोट नगरपालिकाको साथै बाँफीकोट गाउँपालिका, छिमेकी जिल्ला जाजरकोट र डोल्पाबाट समेत डिमुर खरिद गरी ल्याइएको कम्पनीका अध्यक्ष दलबहादुर शाहले बताए ।

उनका अनुसार ७ सय ५० एमएलका बोतलमा वाइन बजार पठाइँदै छ । तत्काल ५ सय ७५ रुपैयाँ प्रतिबोतलका दरले वाइन बिक्री हुने उनले जानकारी दिए । ‘दाङ, नेपालगन्ज, सुर्खेत र काठमाडौंमा डिलर नियुक्त गरी बिक्रीको व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘अर्गानिक वाइन भएकाले धेरै ठाउँबाट माग आइरहेको छ ।’ पहिलोपटक ५० हजार बोतल वाइन बजार पठाउने तयारी कम्पनीको छ ।

पहिलो उत्पादन बजारमा पुर्‍याएपछि मेलको वाइन पनि तयार पारिनेछ । त्यसका लागि कम्पनीले जंगलमै पाइने मेल किनेको छ । यो वर्ष झन्डै १७ लाख रुपैयाँको मेल संकलन गरिएको छ । मेल र डिमुरको मिक्स वाइन तयार पार्ने योजनासमेत रहेको अध्यक्ष शाहले बताए । कम्पनी सञ्चालनमा आएपछि नगरपालिकाका विभिन्न ठाउँमा फलफूल खेती गरिएको छ । विशेषगरी कम्पनीलाई लक्ष्य गरी किबी उत्पादन सुरु भएको हो । वाइन तथा जुस उत्पादनका लागि नगरपालिकाले सबै वडामा किबीका बेर्ना वितरण गरेको नगरप्रमुख गोर्खबहादुर केसीले जानकारी दिए ।





error: Content is protected !!