हिउँचितुवा जोगाउन किसानले पालेका पशुको गरियो बिमा

डोल्पा ः  दुर्लभ वन्यजन्तु हिउँचितुवा जोगाउनका लागि पशु बिमा कार्यक्रम लागू गरिएको छ । से–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पर्ने गाउँबस्तीमा पहिलोपटक पशुपालन गरिरहेका किसानलाई लक्षित गरी पशु बिमा कार्यक्रम लागू गरिएको हो ।

निकुञ्ज क्षेत्रमा पाइने हिउँचितुवा, ब्वाँसोलगायतका वन्यजन्तुबाट घरपालुवा जनावरहरुमा हुने क्षति न्यूनीकरण गर्दै कृषकहरूको हिउँचितुवाप्रतिको प्रतिशोध घटाई संरक्षण गर्न बिमा कार्यक्रम लागू गरिएको निकुञ्जले जनाएको छ ।

आय–आर्जनको प्रमुख आधार भनेकै पशुपालन व्यवसाय भएकाले स्थानीय कृषकहरूमा पशु बिमासम्बन्धी स्पष्ट धारणा बसाल्न सदरमुकाम दुनैमा कृषकहरूलाई बोलाएर चारदिने तालिमसमेत दिइएको निकुञ्जले जनाएको छ ।

डोल्पालीको प्रमुख चिनारीका रूपमा रहेको हिउँचितुवा जोगाउनु सबैको दायित्व भएको सहभागीहरूले जनाएका छन् ।

से–फोक्सुन्डो निकुञ्ज दुर्लभ वन्यजन्तु हिउँचितुवाको प्रमुख वासस्थान भएकाले यसलाई जोगाउन पहिलोपटक बिमा कार्यक्रम लागू गरिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए ।

 

तस्वीर सौजन्य ः सरोजमणी पौडेल

कृषकहरूले व्यावसायिक रूपमा पालन गरेका याक, चौँरी, भेडा, च्याङ्ग्रालगायतका घरपालुवा जनावरहरू वन्यजन्तुले क्षति पु¥याएमा आक्रोशित भएर दुर्लभ वन्यजन्तुलाई सिध्याउने रणनीतिमा नलागून् भन्ने कार्यक्रमको प्रमुख उद्देश्य रहेको निकुञ्जको भनाइ छ ।

पशु बिमा योजना स्थानीय समुदायको प्रिमियम र विश्व वन्यजन्तु कोषबाट प्रदान गरिएको अक्षय कोषको ब्याज रकमबाट वन्यजन्तुबाट हुने पशुधनको क्षतिलाई राहत प्रदान गर्नका लागि ल्याइएको नयाँ कार्यक्रम भएको विश्व वन्यजन्तु कोषका कर्मचारी गौतम पौडेलले बताए ।

विश्व वन्यजन्तु कोषको अनुदान सहयोगमा से–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित हिउँचितुवा तथा आहारा प्रजाति संरक्षण कार्यक्रमअन्तर्गत मुगुको डोल्फुमा दश लाख रकमको पशु बिमा योजना कार्यक्रम सञ्चालन हुन लागेको पौडेलले जानकारी दिए ।

यस योजनाबाट स्थानीय समुदायको जीविकोपार्जनमा सुधार हुने, पशुधनको क्षतिबाट हुने नोक्सानी वहन गर्न सकिने र हिउँचितुवाप्रति स्थानीय वासिन्दाको सोचाइमा सकारात्मक परिवर्तन भई प्रतिशोधले सिकार गर्ने कार्य कम भई दिगो संरक्षणमा टेवा पुग्ने विश्व वन्यजन्तु कोषको भनाइ छ ।

आफ्नो पशुको बिमा गर्ने सदस्यले बचत तथा प्रिमियम रकमको लगानीमार्फत सस्तो ब्याजमा कर्जा लिन सक्ने बताइएको छ ।

वन्यन्तुको आक्रमणबाट एक सय घरपालुवा पशुमा दुईदेखि तीनवटासम्म क्षति हुने गरेको निकुञ्जको भनाई छ ।





error: Content is protected !!