हिउँ चितुवाका लागि दौड

सुन्दा अनौठो लागे पनि शनिबार र आइतबार सुन्दर यो जीवको बचाउ, संरक्षण र बासस्थलको पर्यावरणीय स्वास्थ्यबारे सचेतना जगाउन हिउँ चितुवा पाइने १२ वटै देशमा दौड आयोजना भएको छ ।

हिउँ चितुवा बचाउन र यसले बासस्थलमा सामना गर्नु परेका चुनौतीबारे सर्वसाधारण र नीति निर्माताहरुलाई जानकारी गराउन संरक्षणकर्मी, अनुसन्धानकर्ता, नागरिक वैज्ञानिक, विद्यार्थी र कर्मचारीले दौड पूरा गरेका हुन् । आइतबार बिहान पनि विभिन्न देशमा साइकलयात्रा, मर्निङ वाक र हाइकिङ भएको छ।

हिउँ चितुवाका नाममा यो जीवको उपस्थिति रहेको नेपालसहित १२ वटै देशमा विभिन्न क्षेत्रका व्यक्तिहरु र सेलिब्रेटीहरूले शनिबार र आइतबार बिहानदेखि दौड सुरू गरेका छन् । दौडको नाम सबैतिर ‘रन फर स्नो लियोपार्ड २४’ दिइएको थियो ।

स्नो लियोपार्ड ट्रस्टका कार्यकारी निर्देशक चारूदत्त मिश्रले हिउँ चितुवाका लागि २४ घण्टा दौडिने अभियान गरेका थिए । उनले १ सय ६१ किलोमिटर दौड पूरा गरेको आफ्नो ट्वीटरमा उल्लेख गरेका छन् । उनलाई पछ्याउँदै विभिन्न देशमा हिउँ चितुवामा काम गर्ने व्यक्तिहरुले पनि दौड सुरु गरेका हुन् ।

नेपालमा शे–फोक्सुण्डो निकुञ्ज, डोल्पाका सहायक वार्डेन गोपाल खनालसहित ५ जना निकुञ्जको मुख्यालय सुलिगाडबाट फोक्सुण्डो तालसम्म दौडेका थिए । उनलाई निकुञ्जका २ जना गेम स्काउट र फोक्सुण्डो हिउँ चितुवा संरक्षण समितिका सदस्यहरूले साथ दिएका थिए ।

सुलिगाडदेखि फोक्सुन्डोसम्मको नक्सा

बिहान करिब ६ बजे निकुञ्जको मुख्यालय रहेको सुलिगाडको २ हजार १ सय मिटरबाट सुरु भएको उनीहरुको दौड ३ हजार ६ सय ५० मिटर उचाईमा रहेको फोक्सुण्डो तालमा गएर सकिएको थियो । उनीहरुको टोली करिब ४ बजे बेलुकी फोक्सुण्डो ताल पुगेका थिए । फोक्सुण्डो हिउँ चितुवा संरक्षण समितिले विशेष कार्यक्रम समेत गरेको थियो ।

‘हिमाली र पर्वतीय क्षेत्रको इकोसिस्टमको वातावरणीय अवस्था स्वस्थ्य हुनुपर्छ भनेर हामी दौडिएका हौं’, सहायक वार्डेन खनालले डोल्पाबाट कान्तिपुरलाई भने, ‘हिउँ चितुवाको बासस्थल भएको हिमाली क्षेत्र करिब साढे १ अर्ब मानिसको स्वच्छ पिउने पानीको स्रोत हो, त्यसको बचाउ हुनुपर्छ भन्ने यसको सन्देश हो।’

पोखराको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० मा कार्यरत कर्मचारीहरुले पनि हिउँ चितुवाको बचाउको सन्देश दिन शनिबार दौड पूरा गरेका छन् ।

हिउँ चितुवामा विद्यावारिधी गरिरहेका अशोक सुवेदी र ऋषि बराल, शैलेन्द्र यादव, लेखनाथ गौतमलगायत उक्त अभियानमा सहभागी थिए ।

हिउँ चितुवा नेपालसहित अफगानिस्तान, भुटान, भारत, चीन, काजकस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, मंगोलिया, पाकिस्तान र रूसमा पाइन्छ ।

ती सबैजसो देशमा हिउँ चितुवा संरक्षण र अनुसन्धानमा काम गर्नेहरुले शनिबार हिउँ चितुवाको संरक्षणका लागि दौड पूरा गरेका थिए । हिउँ चितुवा पाइने विभिन्न देशका अनुसन्धानकर्ता, सेलिब्रेटी र यसको बचाउका लागि परेका हजारौं व्यक्तिहरु यो अभियानमा सहभागी भएका थिए ।

 

मनाङमा हिउँ चितुवा

हिउँ चितुवाको मुख्य आहार हिमाली भेगमा पाइने नाउर, झारल, ठूलो मुसा, लिँडे मुसासहित याक, चौंरी र घोडालगायतका घर पालुवा जनावर समेत हुन् । हिउँ चितुवाले घर पालुवा जनावर खाइदिने भएकाले हिउँ चितुवालाई मान्छेले मार्ने गरेका छन् । यसले हिउँ चितुवा–मानवद्वन्द्व समेत बढाएको छ ।

हिउँ चितुवा पाइने देशमा २३ बासस्थल ९भू–दृश्य० पहिचान गरिएको छ । तीमध्ये नेपालमा तीन वटा पर्छन् । पूर्वमा कञ्चनजंघादेखि लामटाङ, मध्येमा मनास्लुदेखि अन्नपूर्ण र पश्चिममा धौलागिरीदेखि अपिनाम्पासम्म पर्छन् ।

लजालु स्वभावको यो जीव धेरैजसो समय उच्च हिमाली भागमा बस्ने भएकाले नेपालमा यिनीहरुको संख्या अद्यावधिक गर्न सकिएको छैन । ३ देखि ५ सयको संख्यामा हुनसक्ने सरकारी अनुमान छ । विश्वभर भने यिनको संख्या करिब ४ हजारदेखि ७ हजार ५ सय छ ।

यी हुन् हिउँ चितुवाका चुनौती
वासस्थान खण्डीकरण
अवैध चोरीसिकारी, अंगहरुको व्यापार
कमजोर ट्रान्सबाउन्ड्री सहयोग
जनचेतनाअभाव
वैज्ञानिक सूचनाको अभाव
अव्यवस्थित घर पालुवा जनावरको चरन क्षेत्र





error: Content is protected !!