‘भोकमरी पर्‍यो, चामल पठाइदेऊ सरकार’

डोल्पा ः भण्डार गरेको अन्न रित्तिएपछि उपल्लो डोल्पामा खाद्य संकट सुरु भएको छ । कोरोना भाइरसका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपल्लो डोल्पामा चामल पनि पुर्‍याउन नसक्दा खाद्य संकट सुरु भएको हो ।

‘बारीको अन्न पाकेको छैन, घरभित्रको सकियो, चामल आउँदै नआएपछि हामी समस्यामा छौं,’ डोल्पोबुद्ध गाउँपालिकाका ग्याल्जेन गुरुङले भने, ‘हाम्रोतिर भोकमरी सुरु भइसकेको छ, भोक मेटाउन कतैबाट पहल पनि भएको देखिन्न ।’ सर्वसाधारण समस्यामा पर्दासम्म चासो नदिइनु सर्वसाधारणप्रतिको बेवास्ता भएको उनले बताए ।

स्थानीयबासीले स्थानीय तह हुँदै जिल्लासम्म समस्याको बारेमा जानकारी गराएका छन् । डोल्पोबुद्ध गाउँपालिकाले भोकमरी सुरु भएकाले चामलको व्यवस्थापन गरिदिन भन्दै मन्त्रीलाई पत्र लेखेको छ । गाउँ कार्यपालिका बैठकबाट माथिल्लो डोल्पामा भोकमरी सुरु भएको निष्कर्षसहित चामल ढुवानीको व्यवस्थापन गरिदिन माग गरिएको चिठी आपूर्ति मन्त्रीलाई लेखिएको छ ।

भोकमरी सुरु भइसकेकाले हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानीको व्यवस्था तत्काल गर्नुपर्ने कार्यपालिका बैठकले निर्णय गरेको वडा नम्बर १ का वडाध्यक्ष क्याल्पो थापा भोटेले बताए । स्थानीय उत्पादन आलु, उवा र गहुँ पाकि नसक्दै पूरानो खाद्यान्न सकिएको थापाले बताए । तर उपल्लो डोल्पाका लागि निर्धारित कोटामध्ये कत्ति पनि चामल पुगेको छैन । माथिल्लो डोल्पाका तीन स्थानीय तहमध्ये केही ठाउँमा गहुँ उत्पादन हुन्छ भने धेरै ठाउँमा उवा र आलुको खेती गर्ने गरिन्छ ।

डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाले खाद्यान्न आपूर्तिका लागि आपूर्ति मन्त्रालयलाई लेखेको पत्र ।

उपल्लो डोल्पाको लागि काठमाडौंबाट सोझै चीन भएर खाद्यान्न ढुवानी गर्ने गरिन्छ । कोरोनाको कारण केरुङ नाका बन्द भएपछि उपल्लो डोल्पामा चामल ढुवानी हुन पाएको छैन । चीनको बाटो भएर डोल्पोबुद्ध गाउँपालिकाको मोरिम्लादेखि तिन्जेसम्म चामल ढुवानी हुने गर्दथ्यो । त्यहीँबाट अन्यत्र वितरण गर्ने गरिएको भए पनि गत आर्थिक वर्षभर चामल गएको छैन ।

डोल्पा सदरमुकाम दुनैसम्म सडक पुगिसकेकाले अब त्यहीँबाट खाद्यान्न ढुवानको व्यवस्था हुनुपर्ने माग उपल्लो डोल्पाबासीको छ । डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङले उपल्लो डोल्पाका ३ स्थानीय तहमा अब चीनबाट नभई दुनैबाटै चामल ढुवानीको व्यवस्थाका लागि माग गरिएको बताए ।

तत्काल हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्नुपर्ने र पछिसम्मका लागि जिल्ला सदरमुकाम दुनैबाटै खाद्यान्न ढुवानी गर्ने व्यवस्था मिलाउनुपर्ने अध्यक्ष गुरुङले बताए । दुनै शाखा कार्यालय तथा आसपासका डिपोहरुमा भने पर्याप्त चामल रहेको छ । डोल्पोबुद्ध, शे फोक्सुण्डो र छार्काताङसोङ गरी उपल्लो डोल्पामा ३ स्थानीय तह छन् ।





error: Content is protected !!