जाजरकोटमा गिद्ध गणना

हेमन्त केसी
जाजरकोट ,  प्रकृतीको कुचिकारको रुपमा रहेको गिद्धको गणना गरिएको छ ।   जाजरकोटको नलगाड नगरपालिका , भेरी नगरपालिका , छेडागाड नगरपालिका ,र बारेकोट गाउँपालिका र कुशे गाउँपालिकामा एक महिना लगाएर गणना गरिएको पंछी संरक्षण आजिवान सदस्या गोविन्दबहादुर सिंहले जानकारी दिनुभयो ।

गिद्धका सँगै गुढको गणना समेत गरिएको थियो ।  विश्वमा दुर्लभ सुन गिद्ध ४ वटा , गुढ १, सेतो गिद्ध ६ गुढ ३ , हिमाली गिद्ध ७६ गुढ ३३, हाड फोर गिद्ध ८ गुढ ३, र राज गिद्ध २ वटा गणना गरिएको सिंहले जानकारी दिनुभयो । करिव एक महिना लगाएर गरिएको गणनाबाट यो तथ्यांक आएको सिंहले जानकारी दिनुभयो । सिंहको पहलमा उक्त गणना गरिएको थियो ।
नेपालमा गिद्ध संरक्षणका प्रयास

गिद्ध शिकारी चरा समूह अर्न्तगत पर्ने ठूला मांसहारी पंंक्षी हो । यिनले आफै शिकार नगरी मरेका जनावरको मासु अर्थात सिनो मात्र खाँने गर्दछन् । मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थलाई खाई हाम्रो वरपरको वातावरणलाई प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई ‘प्रकृतिको कुचिकार’ भनिन्छ । गिद्धहरूले विभिन्न हानीकारक किटाणुहरू भएको सडेगलेको मासु खान्छन् र त्यसलाई पचाउँछन् ।

पर्यावरणीय चक्र र सनातन खाद्य श्रृङखला सन्तुलन र गतिशीलताको संवाहक गिद्धको उपस्थिति पारिस्थितिकीय स्वस्थताको अनिवार्य आवश्यकता हो । गिद्धको अभाव भएमा सिनो प्रकृतिमा यसै सड्छ, जसमा भुस्याहा कुकुर, स्याल, मुसा र भिंगाको संख्यामा बृद्धि हुन्छ । फलस्वरुप मानिसमा रेविज, प्लेग हैजा, आउँ, झाडापखाला आदि घातक सरुवा रोगहरू फैलिन सक्छन् भने पशुचौपायाहरुमा एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग (टीबी) जस्ता रोगहरुको संक्रमणले महामारीको रुप लिन सक्दछ । गिद्धको पर्यावरणीयसँगै धार्मिक र सांस्कृतिक महत्व पनि छ ।

हिन्दू धर्ममा गिद्धलाई शनि देवताको बहानको रुपमा पुजिन्छ । प्रसिद्ध धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ । नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्तीयन मूलका लामा समुदाय आफन्तको शव गिद्धलाई खुवाउँछन र गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पुराउने दूतका रुपमा पुज्ने गर्छन् । यसर्थ गिद्ध खाद्य श्रृंखलाको संयोजक, वातावरणीय सन्तुलन र जैविक विविधताको महत्वपूर्ण सूचक मात्र नभई कतिपय समुदायको धार्मिक र सांस्कृतिक आस्थाको धरोहर पनि हो ।

विश्वमा २३ प्रजातिका गिद्ध पाईन्छन भने दक्षिण एसियामा ९ प्रजाति । ती मध्ये ९ प्रजातिका गिद्धहरु नै नेपालमा पाईन्छन् । एउटै सिनो र बासस्थानलाई विभिन्न प्रजातिहरु सामुहिक उपयोग गर्ने गिद्धहरु अग्ला बलिया रुख र चट्टानी पहराहरुमा गुँड बनाई मानववस्ती वरपर बस्न रुचाउँछन् । मानिस भन्दा आठगुणा टाढासम्म देख्ने गिद्ध सिनोको खोजीमा तीनसय किमी टाढासम्म उड्छन् ।

गिद्धहरु औषत तीन दिनमा एक केजी सिनो खाने गर्छन् । यस हिसाबले यउटा गिद्धले मात्र पनि एक वर्षमा १२० केजी सिनोको खपत गर्दछ । आजीवन जोडी बनाउने गिद्धले गुँड निर्माण, बच्चा कोरल्ने र हुर्काउने काम दुवै भाले पाथीको साझेदारीमा सम्पन्न गर्दछन् । गिद्धले एक वर्षको एक प्रजनन अवधिमा एउटा मात्र फूल पार्दछ भने प्रजनन् कार्य कार्तिकदेखि शुरु भई जेठ महिनामा सम्पन्न हुन्छ ।





error: Content is protected !!