सर्लाहीमा ७२ करोडको लगानीमा विषालु सर्प पालन

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा सर्प पालन तथा ‘एन्टी स्नेक भेनम’ औषधिसमेत उत्पादन गर्ने उद्देश्यले साढे आठ विघा जग्गामा विषालु सर्प पालन गरिने भएको छ ।

पुर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ ले सर्पको विष उत्पादनको लागि सर्प पाल्ने परियोजना ल्याएको हो ।सर्प उत्पादन गरि ‘एन्टी स्नेक भेनम’ औषधि स्वदेशमै उत्पादन गर्ने प्रतिष्ठानको उघेश्य रहेको छ ।

सर्प पालन तथा ‘एन्टी स्नेक भेनम’ औषधि उत्पादन परियोजनाका लागि संघीय सरकार, २ नं। प्रदेश सरकार र लालबन्दी नगरपालिकासँग प्रतिष्ठानले ७२ करोड रुपैयाँको परियोजनामा हस्ताक्षर गरिसकिएको नेकपाका सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तले जानकारी गराए ।

सम्झौता बमोजिम सर्प पालन तथा ‘एन्टी स्नेक भेनम’ औषधि उत्पादनका लागि प्रतिष्ठानले लालबन्दी नगरपालिका–१ मा प्रतिकठ्ठा साढे ३ लाख रुपैयाँका दरले टेण्डरमार्फत साढे आठ विघा जग्गा खरिद गरेको हो ।

प्रतिष्ठानले किनेको यो जग्गामा तीनै तहका सरकारको लगानी रहेको छ । औषधि उत्पादनका लागि भवनसमेत बनाउन सुरु गरिएको छ । अबको पाँच वर्षभित्र भवन, ल्याब लगायतका आवश्यक सबै संरचनाहरु बनिसक्ने र लगत्तै सर्प पालन तथा ‘एन्टी स्नेक भेनम’ औषधि उत्पादन सुरु गरिने अध्यक्ष पन्तले जनाए ।

विषालु सर्पले टोकेर तराई क्षेत्रमा प्रत्येक वर्ष २५ सयभन्दा बढीको हाराहारीमा मानिसहरुको ज्यान जाने गरेको छ । सर्पले टोकेको बिरामीलाई बचाउनका लागि प्रयोग गरिने ‘एन्टी स्नेक भेनम’ औषधि सर्पकै विषबाट बनाइने गरिन्छ ।

अहिलेसम्म नेपालले ‘एन्टी स्नेक भेनम’ औसधि उत्पादन गर्न नसकेको र सो औषधि भारतसँग आयात गर्दै आएको छ । सर्पको टोकाइ तराईको जल्दाबल्दा समस्या भएकोले पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले यस विषयमा चासो तथा चिन्ता देखाएका हुन् । नेकपा सर्लाहीका जील्ला अध्यक्ष पन्तको अध्यक्षतामा ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ को गठन गरिएको हो ।

अध्यक्ष पन्तका अनुसार २ नं। प्रदेशको ‘गौरवको आयोजना’ रहेको, परियोजनाको कार्यक्रम अघि बढीसकेको तथा सम्भाव्यता अध्ययन सम्पन्न सकेर डिपीआर समेत तयार भइसकेको छ ।

तराई मधेसमा बर्सेनि २५ सयभन्दा बढिको हाराहारीमा सर्पको टोकाइबाट मानिसहरुको ज्यान जाने गरेको छ । तर, यस विषयमा न त सरकारलाई कुनै चासो थियो । न त मधेसका नेतृत्व गर्ने मधेसी नेताहरुलाई नै ।

तर, प्रतिस्ठानले यस कुरालाई गम्भीरताका साथ उठान गरेकोमा सर्लाहीवासी लगायत देशकै लागि गर्व र खुशीको कुरा भएको मलङ्ग्वा नगरपालिका– ७ का स्थानीय युवा श्याम कुमार यादवले बताए ।





error: Content is protected !!