कोरोनाको समस्या खेपेका कृषकलाई बिद्युत् समस्याले दुध फाल्नुपर्ने बाध्यता

सुशीला रेग्मी

रामपुर,  कोरोनाको कहरले कृषकलाई समस्या त पारेकै थियो तर यसै बखत बिद्युत् आपूर्तिमा समस्या आएपछि पाल्पा रामपुरमा उत्पादन भएको दुध फाल्नुपर्ने अवस्था आएको छ । होटल, व्यापार, व्यवसाय सबै ठप्प रहदा बजारमा दुध खपत हुन सकेको छैन । बजारमा झट्ट दुध बिक्रि नभएपछि पनिर, छुर्पी जस्ता दुग्धजन्य पदार्थ बनाएर राखिने गरिन्छ ।

बारम्बार दुध सङ्कलन गरिएको क्षेत्रमा पछिल्लो समय बिद्युत् समस्याका कारण रामपुर नगरपालिका ८ स्थित लक्ष्यधेनु उन्नत गाईफार्ममा सङ्कलित दुध फालिएको छ । यहाँ गाउँका कृषकबाट उत्पादित दुध सङ्कलन गरी बजार पठाउने गरिन्छ । बजारमा दुध कम बिक्रि हुनु, फार्ममा स्टक गरेर राखेको दुध बिद्युत् समस्याका कारण अन्य परिकार बनाउन नसक्ने अवस्था भएकाले सङ्कलन केन्द्रमा नै दुध फाल्ने गरिएको संचालक गणेश आचार्य बताउनुहुन्छ ।

“बजार नभएपनि नियमित दुध सङ्कलन गर्ने कृषबाट दुध उठाइएको छ तर सङ्कलन केन्द्रबाटै फाल्ने गरिएको छ, विभिन्न परिकार बनाउन बिद्युत् ट्रान्सफर्मर समस्याले बनाउन पाइएको छैन, तीन दिनको अवधीमा एक हजार एक सय ५० लिटर जति दुध फ्याँकी सकेका छौँ” उहाँले भन्नुभयो ।

यहाँको सङ्कलन केन्द्रबाट ९९ जना दुध उत्पादक कृषक लाभान्वित भएका छन् । नियमित दुध ल्याउने ग्राहकलाई पनि दुध फालिएको अवस्था देखेपछि ल्याउन अप्ठ्यारो स्थिती परेको कृषक स्वदेश पोखरेलले बताउनुभयो । दैनिक पाँच सय लिटर भन्दा बढी दुध सङ्कलन हुने गरेको छ । जसमा दुई सय ५० लिटर दुध मुस्किलले बजारमा खपत भएको छ भने बाँकी दुध फार्ममा नै फालिदै आएको संचालक बताउँछन् ।

बिद्युत् आपूर्तिको समस्याले दुध चिस्यान गर्न नपाउँदा दुग्धजन्य परिकार बनाएर राख्न नपाएर सङ्कलित दुध फाल्नु परेको अर्का संचालक माधव आचार्यले बताउनुभयो । उहाँका अनुसार बिद्युत् आपूर्तिको राम्रो व्यवस्था भएको खण्डमा विभिन्न परिकार बनाएर राख्न सकिनेछ ।

रामपुर नगरपालिका भित्र दैनिक डेरी पसलमा एक हजार ६०० लिटर दुध सङ्कलन हुने गर्दछ । जसमा भैसीको एक हजार एक सय र गाईको पाँच सय लिटर रहेको छ । यहाँ २२ वटा भैसीफार्म र आठ वटा गाईफार्म संचालित छन् ।

रामपुरका विभिन्न क्षेत्रमा आठ वटा दुग्ध डेरी पसल संचालनमा रहेका छन् । दुध उत्पादन तथा बजारीकरण गर्दै आइरहेको सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थामार्फत सात वटा डेरी पसलले कृषकबाट दुध सङ्कलन तथा बिक्रि गर्ने गरेका छन् । अहिलेको अवस्थामा बजारमा दैनिक एक हजार २०० लिटर दुध खपत भइरहेको छ ।

सङ्कलन केन्द्रले कृषकबाट दुध उठाएर फाल्नु पर्दा हामीलाई पनि दुध लैजाने कि नलैजाने भन्ने अप्ठ्यारो परेको अगुवा कृषक नारायणप्रसाद भट्टराई बताउनुहुन्छ । उहाँले दैनिक ३० देखि ४० लिटर दुध सङ्कलन केन्द्रमा लैजाने गर्नुहुन्छ ।

बन्दाबन्दी, निषेधाज्ञाका कारण पशुपालन व्यवसायीलाई समस्या परिरहेको सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णकुमार अर्याल बताउनुहुन्छ ।

डेरी पसलबाटै दुध बिक्रि कम भएपछि कृषकलाई दुध बेच्न अप्ठ्यारो परेपछि कतिपयले दुध दुहेर गाईभैसीलाई नै खुवाउनु परेको छ भने कतिपयले गोठमै फाल्न बाध्य भएको उहाँले बताउनुभयो ।

गत असार १ गतेबाट लागु हुने गरी सीताकुण्ड दुग्ध उत्पादक सहकारीले मुल्य बृद्धि गरी दुधको गुणस्तर नाँप गरेर भैसीको प्रतिलिटर रु ९०, गाईको रु ७० कृषकबाट खरिद मुल्य कायम भएको छ । मुल्य बृद्धि हुनु भन्दा अघि दुधको गुणस्तर हेरेर भैसीको प्रतिलिटर रु ८०, गाईको ६५ सम्ममा डेरी पसलले खरिद गर्ने गर्दथे ।

मुल्य बृद्धि नहुदा डेरी पसलले दुध भैसीको प्रतिलिटर रु ८५, गाईको रु ७५, दही रु एक सय २०, पनिर प्रतिकिलो रु छ सय ६०, घ्यु रु नौ सयमा बिक्रि भएको थियो भने अहिले भैसीको दुधको मुल्य प्रतिलिटर रु एक सय, गाईको ८०, पनिर प्रतिकिलो ७००, दही प्रतिलिटर रु एक सय ३० कायम गरिएको छ ।

कुराउनी प्रतिकिलो रु ९००, छुर्पी प्रतिकिलो रु एक हजार १००, घ्यु प्रतिकिलो एक हजार २०० मा डेरी पसलले बिक्रि गर्ने गरेका छन् ।





error: Content is protected !!