जाजरकोटमा भोकविरुद्ध सहायता अभियान

जाजरकोट ः कोरोना महामारी र प्रकोप प्रभावित कर्णालीका समुदायका लागि भोकविरुद्ध सहायता अभियान जाजरकोटबाट सुरु गरिएको छ । सकारात्मक सोच तथा जीवन रुपान्तरणका विश्व प्रशिक्षक नरबहादुर कार्कीको पहलमा विभिन्न दाताहरुको सहयोगमा भोक विरुद्ध सहायता अभियान थालिएको हो ।

अभियान अन्र्तगत पहिलो चरणमा जाजरकोटका शिवालय गाँउपालिका, छेडागाड नगरपालिका र जुनीचाँदे गाँउपालिकाका एक सय विपन्न परिवारलाई खाद्यन्न वितरण गरिएको छ । प्रति परिवार २५ केजी चामल र ५ केजी दाल प्रदान गरिएको हो ।

शिवालय गाउँपालिकाका बाढी पहिरो प्रभावित अति विपन्न ३० परिवार खाद्यान्न सहयोग गरिएको अभियानका स्थानीय समन्वयकर्ता काशिराम कार्कीले बताए । त्यस्तै छेडागाड नगरपालिकाका ४० र जुनीचाँदे गाँउपालिकाका ३० परिवारलाई खाद्यान्न हस्तान्तरण गरिएको छ । अर्को चरणमा बाढीपहिरो प्रभावित जिल्लाका बारेकोट गाँउपालिका र जिल्लाका अरु स्थानिय तहमा खाद्यान्न वितरण गर्ने कार्यक्रम छ । खाद्यान्न पाएपछि जुनीचाँदे गाँउपालिका ४ का कलवीर नेपालीले खुसी ब्यक्त गरे । घरमा अन्न नभएपछि कसरी छाक टार्ने भन्ने समस्याले सताईरहेको थियो । चामल पाएपछि पेट भर्न पाईने भो । दाताहरुलाई भगवानको संज्ञा दिदै उनले सवैलाई धन्यवाद दिए ।

जाजरकोटबाट सुरु गरिएको भोक विरुद्ध सहायता अभियान क्रमशः कर्णालीका अन्य जिल्लामा पनि संचालन गरिने अभियान्ता कार्कीले बताए । खान नपाएर कोही पनि मानिस मर्न नपरोस भनेर अभियानको थालनी गरिएको बताउँदै कार्कीले भने, हामीलाई विभिन्न ब्यक्ति तथा संस्थाले गरिरहेको सहयोगबाट हामी उत्साहित छौ । हुनेबाट मागेर नहुनेलाई दिने गरि अभियान थालिएको हो । सवैको साझा प्रयासबाट नै यो अभियान सफल हुने हो । तपाई हाम्रो थोरै सहयोगले पनि विपन्न वर्गको चुल्हो बल्न सकोस भन्ने अभियानको उद्देश्य हो ।

सहायता अभियानका लागि डिस होम लगायत ६ वटा संस्थाले सहयोग गरेको डिसहोमका प्रतिनिधी बसन्तप्रसाद शर्माले जानकारी दिए । उनले सहयोगी हातहरुलाई धन्यवाद दिँदै कर्णालीका महामारी र प्रकोप पिडित समुदायका लागि भोक विरुद्धको अभियानमा सहयोग गरिदिन अन्य दाताहरुलाई पनि अपिल गरेका छन् ।





error: Content is protected !!