पीसीआरपछि मात्रै कर्णाली प्रवेश गराइने

चाँदनी कठायत
वीरेन्द्रनगर – प्रदेश सरकारले भारत वा अन्य प्रदेशबाट आउने नागरिकलाई पीसीआर जाँचपछि मात्र कर्णाली प्रवेश गराउने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लक्षणसहितका बिरामी देखा परेको भन्दै सक्रिय भाइरस कर्णाली प्रवेश गर्न नदिन नाकाहरु सिल गर्ने बताएका हुन् ।

मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले अहिलेसम्म कर्णालीमा समुदायमा संक्रमण नफैलिएको दाबी गरे । ‘संक्रमितको सेवामा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई संक्रमण देखिएको छ,’ उनले भने, ‘अब भाइरस सक्रिय बनेको अवस्था छ, अब बबईमा पीसीआर गरेर मात्र प्रदेश भित्रिन दिइनेछ ।’ संक्रमण समुदायमा फैलिनेतर्फ सरकार सचेत रहेको उनको भनाइ छ ।

मुख्यमन्त्री शाहीले अब प्रदेशभित्रै पनि विभिन्न समयमा भीडभाड गर्न नदिने बताए । ‘भाइरस पूरै नियन्त्रण गर्न कठिन छ,’ उनले भने, ‘भाइरसको संक्रमण कम गर्न नागरिक सबै सचेत हुन आवश्यक छ ।’

उनका अनुसार सरकारले १० वटै जिल्लामा अक्सिजन प्लान्ट राख्नका लागि तयारी गरिरहेको छ । परीक्षण किट अभाव हुन नदिने भन्दै उनले हरेक जिल्लामा आइसोलेसन र भेन्टिलेटर पनि थप गरिने जनाए । हरेक जिल्लामा १र१ सय बेडको आइसोलेसन राख्न सके उपचारमा सहज हुने उनको भनाइ छ । ‘स्थानीय तहमा पनि आइसोलेसन थप गर्न पैसा पठाएका छौं,’ उनले भने, ‘सके सबै स्थानीय तहमा नत्र २र३ वटा स्थानीय तहको केन्द्र पर्ने स्थानमा आइसोलेसन स्थापना गरिनेछ ।’

विपद्का लागि पनि तयारी
कर्णाली प्रदेश सरकारले विपद्पछिको राहत तथा उद्धार कार्यलाई पनि व्यवस्थित बनाउने तयारी गरेको छ । मुख्यमन्त्री शाहीका अनुसार हरेक जिल्लामा उद्धार टिम गठन गरी सुरक्षाकर्मीमार्फत उद्धार सम्बन्धी तालिम दिइनेछ ।

‘उद्धारको टिम तयारी अवस्थामा हुनेछ,’ उनले भने, ‘हामीले सुरक्षाकर्मीलाई पनि उद्धारका लागि आवश्यक पर्ने सामान खरिद गर्न हरेक जिल्लामा ५र५ लाख बजेट पठाइसकेका छौं ।’ राहतका लागि पनि विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी सुर्खेतमै वायर हाउस स्थापना गरी खाद्यान्न स्टोर गरिने उनको भनाइ छ ।

उनले जाजरकोटका बाढी पीडितलाई ३ महिना पुग्ने खाद्यान्न तथा अन्य सामग्रीको व्यवस्था सरकारले गरिसकेको जनाए । ‘राहत छिटो उपलब्ध गराउँछौं भन्दा पनि सडकका कारण समस्या हुन्छ,’ उनले भने, ‘त्यसैले अब भदौ अन्तिमसम्मका लागि हेलिकप्टर भाडामा लिने सोच बनाएका छौं ।’





error: Content is protected !!