३० किलोमिटरको भाडा १२ सय !

जाजरकोट ः जाजरकोट – डोल्पा सडकको खलंगा कालीमाठी खण्डमा निजी तथा व्यवसायी समितिका यातायातका साधनले मनोमानी भाडा असुल्दा यात्रु मर्कामा परेका छन् । जिप, बस लगायत साधनले कालीमाठीदेखि खलंगासम्म प्रतियात्रु १ हजार २ सय भाडा लिँदै आएका छन् ।

यातायातका साधनले टिकट नकाटेरै मनलाग्दी भाडा लिएर यात्रुलाई मारमा पारेको बारेकोट ८ का कल्से कुमाईले बताए ।

‘करिब ३० किलोमिटर दुरीको सडकमा १ हजार २ सय, त्यो भन्दा अरु अन्याय के होला,’ उनले भने । ‘गत वैशाखसम्म उक्त खण्डमा प्रतियात्रु २ सय लाग्थ्यो । अहिले यस्तो महँगो भयो,’ उनले कुमाइले भने । उनका अनुसार एक वर्ष अघिसम्म उक्त खण्डमा २ सय रुपैयाँ भाडा कायम थियो ।

व्यवसायीले कोराना संक्रमणको वास्तै नगरेर गाडीमा कोचाकोच यात्रु राख्ने गरेको स्थानीय कमल केसीले बताए । ‘भेडाबाख्रा हुलेझैं यात्रु राख्छन्, भाडा पनि अचाक्ली महँगो भयो,’ उनले भने, ‘प्रहरी प्रशासनको बेवास्ताले व्यवसायीको मनपरी छ ।’ लकडाउनका कारण आर्थिक मार खेप्दै आएका स्थानीयलाई मनलाग्दी गाडी भाडाले मर्का परेको उनको भनाइ छ ।

अन्य सडकमा पनि निर्धारित भाडादरलाई बेवास्ता गर्दै व्यवसायीले मनपरी भाडा असुलेको स्थानीयको गुनासो छ । ग्रामीण सडकमा प्रतिकिलोमिटरको ४० रुपैयाँसम्म भाडा तिर्नुपर्ने बाध्यता रहेको नलगाड–६ की कौशिला घर्तीले बताइन् । उनका अनुसार जाजरकोटदेखि नेपालगन्जसम्मको भाडा पनि मनोमानी छ । कोराना संक्रमणअघि ६ सय रुपैयाँ भाडा लिने व्यवसायीले अहिले १ हजार ५ सय रुपैयाँसम्म असुलीरहेको उनको गुनासो छ ।

कोराना, बाढी–पहिरोलगायतका जोखिमका कारण नियमित दरभन्दा बढी भाडा लिने गरेको व्यवसायी भीमबहादुर बुढाले बताए । उनका अनुसार चिरा परेका सडक र खोलामा जवरजस्ती गाडी गुडाउनुपर्ने बाध्यता छ ।

गाडी सञ्‍चालकले स्थानीय प्रशासनको अनुमतिबिना यातायातका साधन चलाएर यात्रु ठग्ने गरेका छन् । त्यस्तै यातायात व्यवसायीले जाजरकोटदेखि नेपालगन्जसम्मको भाडा पनि मनोमानी असुल्ने गरेका छन् । कोराना संक्रमणअघि ६ सय भाडा लिने व्यवसायीले यतिबेला १ हजार ५ सय लिने गरेका छन् । तर सम्बन्धित निकायको त्यसतर्फ ध्यान पुग्न सकेको छैन । यसरी यात्रुबाट चर्को भाडा असुल्दा समेत नियमन निकाय मौन देखिएको छ ।

व्यवसायीले जिल्ला प्रशासन र यातायात व्यवसायीको अनुमतिबिना गाडी चलाएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । मनपरी भाडा असुल्ने तथा यात्रुका लागि कोरानाबाट असुरक्षा हुने भएकोले गाडी संचालनमा रोक लगाउनु पर्ने अवस्था आएको प्रजिअ पन्तको भनाइ छ ।

विभिन्न सडकमा व्यवसायीले चर्को भाडा असुलेको जनगुनासोबारे प्रशासनले निगरानी गर्न सुरु गरेको उनले बताए । चर्को भाडा असुल्ने व्यवसायीलाई कानुनी दायरामा ल्याई तत्काल कारबाही गरिने प्रजिअ पन्तले बताए । उनले यस सम्बन्धमा तत्काल अनुगमन गरिने पनि बताए ।

पहिरोले ग्रामीण सडक अवरुद्ध

बाढी–पहिरोको कारण गत असारदेखि यहाँका दर्जन ग्रामीण सडकमा यातायात अवरुद्ध भएका छन् । ग्रामीण सडकमा यातायात अवरुद्ध हुँदा स्थानीयलाई जिल्लाभित्र र बाहिर आउजाउ गर्न समस्या भएको छ ।

खलंगा–पैंक–छेडा, मनघाट–सुयाडा, खलंगा–थलह, थलहबजार– छेडाबजार, थहलबजार–टापुचौर, कालीमाटी–बारेकोट, खलंगा –पाँचकाटीया, खलंगा–कार्कीगाउलगायत सडकमा यातायात अवरुद्ध भएका हुन् । यातायात सेवा अवरुद्ध भएपछि स्थानीयबासी २र३ दिन पैदल हिँडेर खलंगा आउन बाध्य भएको बारेकोट–४ का गणेशबहादुर सिंहले बताए ।





error: Content is protected !!