औषधिको रुपमा लसुन नपाउने ठाउँमा अव क्विन्टल निर्यात

हेमन्त केसी
जाजरकोट ,   पाँच वर्ष अघि तरकारी , दालमा लसुन प्रयोग गर्नका लागि नलगाड नगरपालिका – १० रग्दाका डम्वर रावत एक दिनको पैदल बाटो हिडेर रुकुम पश्चिमको राडीमा पुग्नुहुथ्यो ।

यातायातको सहज पहुँच नभएको त्यतिबेला पिठ्यूमा बोकेर ल्याएको लसुनले गाउँभरी अलि, अलि सहायता गथ्यो । टाउको दुख्दा होस वा झाडापखाला लाग्दा यहाँका सर्वसाधारणहरु लसुन पकाएर झोल बनाई खादा अचुक औषधिको काम गरेको डम्वर सम्झनुहुन्छ । डम्वर भन्नुहुन्छ , “औषधिका लागि एक गानो (१ पिस) लसुन खोज्न गाउँभरी भौतारिने हामी , अहिले गाउँमा क्विन्टलका , क्विन्टल लसुन विक्री गर्ने अवस्थामा पुगेका छौँ ।” त्यस्तै अर्का कृषक रामबहादुर ध्यार डम्वरको सिको गदै लसुन लगाउन सुरु गरेको बताउनुहुन्छ ।

पर्याप्त सिँचाई सुविधा नभएको रग्दामा लसुन खेती गर्नु यहाँका सर्वसाधारणको लागि सहज नहुँदा , नहुँदै पनि मेहनती कृषकहरु जुटेपछि अहिले भारी लसुन विक्री हुँन थालेको छ । जनयूद्धको समयमा जनसरकार प्रमुख हुँदा नलगाड नगरपालिकाको रग्दा लगाएत गाउँ , गाउँमा भूमिगत जीवन विताएका हालका नगरप्रमुख टेकबहादुर रावलले लसुनको सम्भावना अध्ययन गरेको बताउदै सो ठाउँमा तीन वर्ष अघि लसुनको पकेट क्षेत्र बनाउन विशेष कार्ययोजना बनाउनुभएको थियो । सो कार्ययोजनालाई प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले तुरुन्तै कृषिशाखा मार्फत सल्लाह गरी नीति तथा कार्यक्रममा समावेश गदै लसुनको पकेट क्षेत्र घोषण सम्मका काम गर्नुभएको थियो ।

रग्दालाइ नलगाड नगरपालिकाको पकेट क्षेत्र बनाएको नगरले पछिल्लो तीन वर्षमा वडा नं ८,९,१०र ११ लाई समेटेर पकेट क्षेत्र घोषण गरेको प्रमुख प्रशासकीय अधिकृत सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “ सुरुका दिनमा सानो क्षेत्रमा लसुनको बीउ उत्पादन गर्नका लागि लगानी गरिएको थियो , अहिले १ देखि १३ नम्वर वडामा विस्तार गरी सवै कृषकलाई व्यवसायिक खेती तर्फ उन्मुख गराएका छौँ ।” लसुनलाइ व्यवसायिक रुपमा अगाडी बढाउन नगरको लगानीसँगै अहिले भारी मात्रामा बाहिर जिल्लामा लसुन निर्यात हुँन थालेको छ । उक्त वडाहरुमा किसानलाई बीउ, मललगायतमा ७५ प्रतिशत अनुदान सहयोग गरिएको छ । सुरुको वर्षमा लसुन खेती गर्ने किसानलाई १० लाख रुपैयाँ अनुदान दिइएको थियो । किसानको सहजताका लागि उक्त क्षेत्रमा कृषि प्राविधिक पनि परिचालन गरिएको छ । नगरपालिकाले सहकारी संस्थासँग समन्वय गरी लसुनको बजारीकरण गर्ने जिम्मा लिएको छ ।

कृषि शाखाका बालकृष्ण आचार्यका अनुसार तीन वर्षमा लसुनको उत्पादन दर पहिलो वर्ष ३०० , दोस्रो ६०० , तेस्रो ३५० क्विन्टल रहेको छ ।  यो वर्ष रोगका कारण अघिल्लो वर्ष भन्दा कम उत्पादन भएको छ । गहुँ , जौँ , उत्पादन गरेर दुख समेत उठ्न धौँ ,धौँ भएको बताउने कृषकहरु लसुनखुतीबाट मनग्य आम्दानी भएपछि खुसी भएका छन् । अर्थआर्जन सँगै घरियासी काम देखि छोरा,छोरी  पढाउने  सम्मको खर्च लसुन विक्रीबाट भएको आम्दानीले टरेको कृषक कालीबहादुर डिसीले बताउनुभयो ।

नलगाडको लसुन सुर्खेत , नेपालगन्ज र काठमाडौँ सम्मा पुगेका प्रमुख प्रशासकीय अधिकृत सिंहले बताउनुभयो । आफ्नै गाउँमा उत्पादन भएको बस्तु लिएर व्यपार गर्न पाउदा खुसी भएको नलगाड नगरपालिका –७ का हेमराज गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “ म लगाएत धर्मबहादुर शाही लगाएतको टिमले लसुनको व्यापार गरिरहेका छौँ । नलगाडको लसुन राम्रो भएको उपभोक्ताको सल्लाह आएको छ र सोही अनुसार माग पनि बढेको छ । अहिले लसुन उत्पादन हुँने सवै ठाउँमा यातायातका साधनहरु सहज रुपमा सञ्चालन हुने गर्दछन् ।

नलगाड नगरपालिकाले वडा १, २ र ४ लाई मह, वडा नं. ५ लाई मकै, वडा नं. ६ लाई आलु, वडा नं. ७ र ८ लाई धान तथा ८, ९ र १० लाई लसुन उत्पादनको पकेट क्षेत्र घोषणा गरेको छ । वडा नं. ३ लाई अलैंची र १३ लाई स्याउ उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको छ । जिल्लाको सवै भन्दा कृषि उत्पादनका साथै विद्युतको हर्वको रुपमा विकास हुँदै गरेको नलगाड नगरपालिका आत्मनिर्भरको दिशा तीर गएको छ ।

सरदर राष्ट्रिय उत्पादन प्रति रोपनीमा ६०० देखि १ हजार केजी सम्मा रहेको छ । नलगाडको १० हेक्टरमा लगाएको लसुन तीन वर्षको नतिजा हेर्दा पहिलो वर्ष ३०० , दोस्रो ६०० , तेस्रो ३५० क्विन्टल उत्पादन भएको छ । गाउँ , गाउँमा उत्पादन भएको लसुनको हिसाव भने गणना गरिएको छैन ।





error: Content is protected !!