स्वादिलो खानाको लागि हिमाली जिम्बु

हिमाली जडिबुटी जिम्बु यतिखेर धेरैजसोका घरका भान्छामा पाउने गरिन्छ । पछिल्ला समयमा बढ्दै गएको थकाली खाना प्रतिको मीठो स्वादमा जिम्बुको ठूलै भूमिका छ । हिमाल पारीको जिल्ला मुस्ताङको , कर्णालीको डोल्पा , हुम्ला र मुगु जिम्बु यतिखेर ठुला सहरमा प
पुगेको छ । आसपासका जिल्लामा पुग्ने गरेको छ । विशेष गरी दाल झान्ने प्रयोजनमा सर्वसाधारणले यसको उपयोग गर्दछन् । वास्नादार जिम्बुले झानेको दालमा छुट्टै स्वाद त हुन्छ नै यो स्वास्थ्यका लागि पनि बहुउपयोगी मानिन्छ ।

रुघाखोकी लागेका व्यक्तिले जिम्बु राखेर पकाएको पानी पिएमा निको हुने र स्वासप्रस्वासजन्य अन्य समस्यामा पनि यसले फाइदा पुर्याउने गर्दछ । समुद्री सतहबाट तीन हजार मिटर भन्दा माथिको हिमाली क्षेत्रमा जिम्बु पाइन्छ । मुस्ताङको वारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका वडा नं ३ छुसाङका स्थानीय समाजसेवी एवम् मुखिया विनोद गुरुङ पछिल्ला समयमा मुस्ताङमा उत्पादित जिम्बुको पोखरा र आसपास क्षेत्रमा निकै माग हुने गरेको बताउँछन् ।

हिमाली क्षेत्रका वासिन्दाको आयआर्जनको राम्रो विकल्प जिम्बु हुने भएपनि कानूनी रुपमा यसको बेचबिखनलाई भने अझै खुल्ला नगरिँदा समस्या हुने उनले बताए । ‘जिम्बुको बजारमा निकै माग छ, खुल्ला व्यापारलाई सरकारले कानूनी रुपमा नै व्यवस्था गरिदिनुपर्छ’, उनले भने, ‘हिमाली क्षेत्रका सर्वसाधारणलाई आयआर्जनमा जोड्न यसको व्यापारले बैधानिकता पाउनुपर्छ ।’

छुसाङ तथा उपल्लो मुस्ताङका विभिन्न भागमा जिम्बु पाइन्छ । टिप्न जान भने जोखिमी हुने गरेको र कतिपय सर्वसाधारणले टिप्न जाँदा ज्यान नै गुमाउनुपरेको बताइन्छ । टिप्ने समय असार साउनको समय भए पनि यस वर्ष कोरोनाले विगतका तुलनामा कमी आएको छ । अहिले हरियो भएर जिम्बु देखिने भएकोले टिप्नु उपयुक्त मानिन्छ । टिपेर ल्याएको जिम्बु सुकाएर मात्रै बेचिन्छ ।

यसको मूल्य प्रतिकिलो न्युनतम तीन हजारदेखि अधिकतम पाँच हजार रुपैयाँ पर्छ । व्यापारीले साना प्याकेट बनाएर बजारमा बेच्छन् । मुस्ताङबाट वर्षेनी चार पाँच सय किलोसम्म जिम्बु बजारमा जान्छ । मुक्तिनाथ दर्शन गर्ने दर्शनाथीले यहाँको कोशेलीस्वरुप जिम्बु लिएर फर्कन्छन् । नेपाल–चीन बीचको कोरला नाकाका साथै उपल्लो मुस्ताङ लगायतका स्थान घुम्न जाने सर्वसाधारणको चाप बढेका कारण यहीँबाट जिम्बुको ब्यापार हुने गरेको छ ।

हिमाली भूभागमा चीसो बढेपछि जिम्बु तथा अन्य हिमाली जडिबुटी लिएर पहाड तथा तराई झर्ने यहाँका सर्वसाधारण पहाडी तथा तराईका सर्वसाधारणसँग मितेरी साइने गाँस्ने गर्दछन् । मितेरी साइनो गाँसिएसँगै हिमाल, पहाड र तराईका वासिन्दाबीच एकआपसमा अन्तरघुलन हुन सहयोग पुग्छ । हिमाली भेगबाट विगतमा जिम्बु लिएर घरघर आउने क्रम अत्याधिक हुने गर्दथ्यो ।

पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीका हरिबहादुर थापा पछिल्ला समयमा यातायातको बढ्दो सुविधासँगै घरघरमा जिम्बु लिएर आउने प्रचलन घटेको बताउँछन् । अचेल डिपार्टमेन्टल स्टोर्सका साथै ठाउँ ठाउँका पसलमा साना प्याकेटमा जिम्बु किन्न पाइन्छ ।

अधिकांशको रोजाइमा पर्ने थकाली खानाको मुख्य पहिचान जिम्बु नै रहेकोे मुस्ताङको लेतेस्थित होटेल सि यु लजका सञ्चालक अमित तुलाचनले बताए । ‘जिम्बुले झानेको दालको मगमग वास्ना सहितको थकाली खानाले जो कोहीलाई लोभ्याउँछ,’ उनले भने, ‘हिमाली जडिबुटी जिम्बुलाई राज्यस्तरबाटै संरक्षण र उपयोग गर्ने वातावरण तयार गरिनुपर्छ ।’





error: Content is protected !!