२५ वर्षदेखि छोराको पर्खाइमा

भारतीय सहरमा हराएका छोरालाई गोमाको सन्देश  श्रीराम तँ जहाँ भए पनि झट्टै आइज ‘छोरा हराएको २५ वर्ष भयो । चिठी पनि आउँदैन । मान्छे पनि आउँदैन । खै काँ गो काँ गो ।’ ७६ वर्षीया गोमादेवी सापकोटाले सुस्तरी सुनाइन् । त्यसपछि तौल नाप्ने मेसिन कपडाले पुछिन् । बटुकामा राखेको पाँच र दशका नोट हेरिन्, अनि सुनसान सडकको पश्चिमतिर नियालिन् ।

समाज अध्येताहरूको भाषामा गोमादेवी अनौपचारिक क्षेत्रकी श्रमिक हुन् । सरकारको भाषामा उनी मासिक ३ हजार दिनुपर्ने वृद्धा हुन् । सन्तानको भाषामा उनी हजुरआमा हुन् । तर, उनी तीनवटै परिभाषाबाट वञ्चित छिन् । यतिवेला उनी मात्र छिन्, सडक श्रमिक ।

०००

कोरानाको महामारीले सहरमा हुनेहरू गाउँ पुग्न चप्पल लगाएर निस्किए । सहरमै थातथलो हुनेहरू खानेकुराको जोहो गरेर घरभित्रै बन्दी भए । टुसाल चोकनजिकै सडक किनारामा तौल नाप्ने मेसिन राखेर जीविका चलाउँदै आएकी गोमादेवीले पनि सकेको जोहो गरिन्, अनि सरकारको आदेश पालना गर्दै घरभित्रै बन्दी भइन् ।

दैनिक ३(४ सय कमाउने गोमादेवीको कमाइले केही दिन त धानियो । तर, लकडाउन ६०औँ दिन नाघेपछि जोहो गरेको खानेकुरा रित्तियो । त्यसपछि गोमा सरकारको आदेश अवज्ञा गर्न बाध्य भइन् । दक्षिणढोकाको अँध्यारो कोठाबाट तौल नाप्ने मेसिन बोकेर निस्किइन्, सडकमा ।

सिन्धुपाल्चोकदेखि पशुपतिसम्म

गोमादेवीको कथा सुरु हुन्छ, सिपाघाटपारि सिन्धुपाल्चोकबाट । काभ्रे मण्डनदेउपुरमा उनको मामाघर । १३ वर्षको उमेरमा बिहे गरेर काभ्रे पाँचखाल आइन् । २ सन्तान जन्म दिइन्, दुइटैले बाल्यकाल काट्न पाएनन् । जाँड(रक्सीको कुलतमा डुबेका श्रीमान्ले तेस्रो सन्तान जन्मिएको केहीदिनमै अर्की बिहे गरे । घरबारी बेचे । गोमा भन्छिन्, ‘अर्की बिहे गरेपछि मलाई कुटेर घरबाट निकाले ।’ ०३५ साल माघ अन्तिम साता घरबाट निकालिँदा गोमा १५ दिनकी सुत्केरी थिइन् । शिशु श्रीराम च्यापेर गोमा पशुपति मन्दिरमा शरण लिन पुगिन् ।

‘मेरो फोटो टाँसेर एउटा समाचार लेखिदिनु न बाबु । छोराले थाहा पाएर आमा खोज्दै आउँछ कि ?’

चिसो सिरेटोमा लुगलुग काम्दै गोमादेवी पशुपति पुगिन् । ‘पशुपतिमा पुग्दा कतै वास पाइनँ,’ गोमाको अनुहारमा आक्रोश छचल्कियो । भन्छिन्, ‘मन्दिरवरपर बस्ने सबै जेमाराजहरू रै’छन् । कसैले वासै दिएन । जंगलनजिकै एउटा रित्तो पाटी रहेछ, त्यहीँ बस्न थालेँ ।’

भोलिपल्टदेखि गोमाको नयाँ दिनचर्या सुरु भयो । दिनभरि पशुपति मन्दिरवरपर माग्नु, बेलुकी त्यही पाटीमा आएर रात काट्नु उनको दिनचर्या हुन थाल्यो । भष्मेश्वर, श्लेषमान्तक वन, मृगस्थली, गुह्येश्वरी, आर्यघाट, कैलाशडाँडा उनको मागिहिँड्ने जक्सन बन्यो । बच्चालाई दूध नपुगेर कैयन् रात आमा(छोरा सँगै रोएको क्षण गोमाको आँखामा ताजै छ । झरीमा रुझ्दै र पुसको ठिहीमा लुगलुग काम्दै भिख मागेको तीतो समय पनि उनको स्मृतिमा जिउँदै छ । भन्छिन्, ‘बालखा बच्चा छाडेर अरू काम गर्न सकिनँ ।’

मन्दिरवरपर माग्दामाग्दै गोमाले ७ वर्ष बिताए । पशुपति मन्दिरपरिसरकै राम मन्दिर विद्यालयमा भर्ना भए, श्रीराम । गोमा अरूको घर(खेतमा काम गर्न जान थालिन् । गोमाले पनि ‘बाह्रखरी’ किनेर ल्याइन् अनि एबिसिडी र वानटु पढ्न थालिन् ।

श्रीरामले ३ कक्षा पास गरे । आमाछोरा पशुपतिवरपर रिङ्गिएको ११ वर्ष बितिसकेको थियो । श्रीराम स्कुल जान छाडेर साथीहरूसँग घुमिहिँड्न थाले । बिस्तारै आमा–छोराको भेट कम हुँदै गयो । श्रीराम हप्ता दिन, महिना दिन कहिलेकाहीँ त वर्ष दिन नै हराउन थाले ।

गोमालाई वानटुदेखि हन्ड्रेडसम्म पढ्न आउने भएपछि तौलिने मेसिन किन्ने सोच बनाइन् । घरबाट निकालिँदा मुस्किलले जोगाएको सानो तिलहरी र मुन्द्री २५ सयमा बेचिन् । भन्छिन्, ‘त्यही बेचेर १९ सयमा मिसिन किनेँ ।’

एकपटक जोखेको १ रुपैयाँ लिन्थिन् गोमा । अब गोमाको दैनिकी परिवर्तन भयो । केही पैसा पनि जोहो गरिन् । पशुपतिछेउमा डेरा लिएर बस्न थालिन् । ६ महिनादेखि डेरामा नआएको श्रीराम एकरात हुरीजस्तै बत्तिएर आइपुगे । त्यसरात आमाछोरा धेरैबेर घरसल्लाह गरिरहे । श्रीरामले होटेलमा भाँडा माझ्ने काम गरिरहेको र अब त्यो काम छाड्ने आमालाई सुनाए । भोलिपल्ट बिहानै श्रीरामले आमालाई भने, ‘आमा १ रत्नपार्कमा जोखेको २ रुपैयाँ लिन पाइन्छ रे । म त उतै लागेँ ।’

असार महिनाको दिन घमाइलो थियो । रातभरि पानी परेर आकाश छ्याङ्ग खुलेको थियो । आकाशजस्तै गोमाको अनुहार पनि त्यस दिन निकै हँसिलो थियो । १८ वर्षे लक्का जवान छोराले अब आफ्नो बिँडो धान्न सुरु गरेको महसुस गरिन् ।

साँझपख आकाशमा बादल मडारिन थाल्यो । झम्के साँझसँगै असारे झरी पर्न फेरि सुरु भयो । राति सडकमा गाडी गुड्न छाडिसकेको थियो । श्रीराम निथु्रक्क रुझेर रित्तै डेरा पुगे । आँसु झार्दै आमालाई सुनाए, ‘मिसिन नगरपालिकाले लिएर गयो आमा ।’ गोमा झस्किइन् । केही बोल्न सकिनन्, आँसु पुछ्दै भनिन्, ‘मसँग अरू पनि पैसा छ, भोलि अर्को किनुँला । चिन्ता नगर् ।’ श्रीराम राति अबेरसम्म निधाएनन् । रातभरि नै पानी परिरह्यो । आधाराततिर श्रीरामले आमालाई भने, ‘आमा म अब बम्बई जान्छु । पैसा कमाउँछु, अनि तिमीलाई सुखसँग राख्छु ।’

गोमा एकछिन अकमक्क भइन् । केही बोलिनन् । त्यसपछि जानुपर्दैन भनिन् । तर, उनको आग्रहले श्रीराम रोकिनेवाला थिएनन् । बिहान छोरालाई बिदा गर्न गोमा बाध्य भइन् । भन्छिन्, ‘नगरपालिकाले मिसिन लगेको रनाहामा ऊ गएको हो । अझै फर्केन । काँ गो, काँ गो  ?’

०००

गोमाले अर्को मेसिन किनिन् । फेरि उही दैनिकी सुरु गरिन् । छोरा आउने आशामा पशुपतिवरपर वर्षौं बिताइन् । सडकमा मान्छे कुरिरहनु उनको आदत नै बन्यो । सडकमा बसिरहनु उनका लागि दुई कारणले महत्वपूर्ण बन्यो । एउटा, जीविकोपार्जनको माध्यम त्यही बन्यो, अर्को सडकमा हुँदा छोरा भेटिने सम्भावना पनि हुने भयो ।

बितेको २५ वर्षमा गोमा छोरा पो हो कि भनेर सयौँपटक सडकमा हिँड्ने मान्छेसँग झुक्किएकी छिन् । भन्छिन्, ‘कोही मान्छे झोला बोकेर लम्किँदै मतिर आयो भने छोरा पो हो किजस्तो लाग्छ । नजिकै आउँदा हेर्छु, छोरा होइन । यस्तो कति भयो कति ।’

बोल्दाबोल्दै गोमाको गला अवरुद्ध भयो । बोलिनन् । पछ्यौरीको टुप्पाले आँसु पुछिन् । भनिन्, ‘दुःखले हुर्काएको छोरा हो । एकदिन पक्कै फर्किन्छ भन्ने आशा छ ।’ मेसिन पुछिन् । अनि फेरि भनिन्, ‘अझै उस्तै रित्तै दौडिहिँडेको छ कि । परिवारले पो बाँधिएको छ कि १ खै के भो के भो १’

हिँड्ने वेला श्रीरामले भनेका थिए, ‘आमा म बम्बईको महालक्ष्मी रोडमा रहेको आनन्द सेटको दोकानमा काम गर्न जान्छु ।’ छोराले भनेको विरानो ठेगानामा जाने हिम्मत पनि गोमासँग भएन । त्यसपछि गोमाले चिठी पठाउने विचार गरिन् । अरूलाई चिठी लेख्न लगाइन् र श्रीरामको नाममा पठाइन् । तर, वर्षौं बित्दा पनि चिठीको उत्तर आएन । केही वर्षपछि फेरि चिठी पठाइन्, उत्तर आएन । फेरि अर्को चिठी पठाइन्, त्यसको पनि उत्तर आएन । भन्छिन्, ‘पाँचपटक चिठी पठाएँ । कुनै उत्तर आएन ।’

सडकमा बस्दाबस्दै एकजनाले गोमालाई सुझाए(ज्योतिषीलाई हात देखाऊ, उसले तिम्रो छोरा फकाइदिन सक्छ ।’ त्यसपछि गोमा हात हेराउने ज्योतिषी खोज्दै गइन् । ज्योतिषीले भने, ‘तिम्रो छोरा दक्षिण दिशातिर जिउँदै छ ।’ खुसी हुँदै गोमाले आग्रह गरिन्, ‘छोरालाई फर्काइदिनुप(यो हजुर ।’ ज्योतिषीले भने, ‘छोराले लगाउने कपडाको टुक्रा र फोटो ल्याउनुस् ।’

गोमासँग छोराको चिनो भन्नु नै सम्झना र माया मात्र थियो । नदेखिने चिनो ज्योतिषीलाई काम लागेन । त्यसपछि उनी निराश भएर फर्किइन् । भन्छिन्, ‘सबै ज्योतिषीले छोराको फोटो र लुगाको टुक्रा माग्छन्, कहाँबाट ल्याउनु १ त्यसपछि जानै छाडेँ ।’

गोमा पशुपतिबाट गुह्वेश्वरी सरिन् । तर, त्यहाँ उनलाई बस्न दिइएन । त्यसपछि उनी बौद्ध सरिन् । बौद्धबाट पनि दक्षिणढोकामा मासिक ३ हजार पर्ने डेरामा बस्न थालिन् र टुसाल चोक धाउन थालिन् ।

बितेको करिब ३ दशकमा उनले २५ भन्दा धेरै मेसिन फेरिसकिन् । मेसिन किन्न कम्तीमा ५ हजार लाग्ने र सरकारको मान्छेले पटकपटक मेसिन लगेको गोमासँग तितो अनुभव छ । भन्छिन्, ‘नगरपालिकाले धेरै दुःख दिन्छ । ४ वटा मिसिन लगिसक्यो । दुइटा त चोरले लग्यो ।’

गोमाको तौल नाप्ने ‘मिसिन’मा थरीथरीका मानिसले तौल नापेर गए । अघाएकाहरूले पनि तौल नापेर गए, भोकाएकाहरूले पनि तौल नापेर गए । प्रहरीदेखि पाकेटमारसम्म, घुसखोरीदेखि समाजसेवीसम्म सबैसबैले तौल नापेर गए । कसैले भनेको भन्दा बढी पैसा दिएर गए, कसैले उल्टै लिएर गए ।

०००

लकडाउन भएको दुई हप्तापछि गोमा बसेको गल्लीमा हल्ला चल्यो– लौ सरकारले राहत दिँदै छ रे । हस्याङफस्याङ गर्दै गोमा राहत दिइरहेको ठाउँमा पुगिन् । लामो लाइनको अन्तिममा गएर उभिइन् । राहत दिने ठाउँमा पुगेपछि सरकारी मान्छेले भन्यो, ‘नागरिकता देखाउनुस् ।’ गोमा अकमक्क परिन् । भनिन्, ‘नागरिकता बनाएकै छैन ।’ सरकारी मान्छेको अर्को आदेश जारी भयो, ‘त्यसो भए श्रीमान्को नागरिकता ल्याउनुस् ।’ गोमाको आँखा तिर्मिरायो । रिसले रातोपिरो भइन्

मनमनै सोचिन्( जुन श्रीमान्ले घर निकाला गरी चार–चारवटा बिहे गर्दै हिँड्यो अब त्यही श्रीमान्को नागरिकता चाहिने रु गोमा केही बोल्न सकिनन् । सरकारी मान्छेलाई झम्टिन पनि उनको हिम्मत पुगेन । गोमालाई लाइनबाट हटाइयो । त्यसपछि ल्याम्पोस्टमुनि बसेर रोइरहिन् । भन्छिन्, ‘के(के जाती मागेर बेकारमा धरधरी रुवाइदियो । त्यसपछि राहत थाप्न कतै गइनँ ।’ नागरिकता नभएकै कारण गोमाले वृद्धाभत्तासमेत पाएकी छैनन् ।

‘बाह्र वर्षपछि खोला पनि फर्किन्छ’ भन्ने नेपाली उखान गोमालाई थाहा छ । राम–लक्ष्मण र सीता १४ वर्षपछि वनवासबाट फर्किएको कथा पनि उनले सुनेकी छिन् । तर, श्रीराम घर नफर्किएको २५ वर्ष बितिसक्यो, अझै फर्किएका छैनन् ।

मोदीले भारतीय सहरमा अचानक लकडाउन गरेपछि लाखौँ मजदुर हिँड्दै गाउँ फर्किए । कोही सिमेन्टी घोल्ने मेसिनमा कोचिएर फर्किए । कोही साइकलमै लालाबाला लिएर फर्किए । कोही हिँड्दाहिँड्दै मरे । गोमाले पनि सुनिन्– बम्बई, दिल्ली, कोलकाताबाट हजारौँ मजदुर हिँडेरै घर फर्किँदै छन् रे । उनको आँखामा छोराको अनुहार नाच्न थाल्यो ।

मनमनै कल्पना गरिन्, घर फर्किएको त्यो लस्करमा श्रीराम पनि पक्कै छ । तर, यतिका दिन बित्यो, बम्बईबाट फर्किएको लाखौँ मदजुरको लस्करमा श्रीराम भेटिएको खबर गोमालाई कसैले सुनाएको छैन । बिहारी रेलको लिकैलिक हिँडेर श्रीराम नेपाल पसेको खबर पनि कतै सुनिएको छैन । सिमानाछेउछाउ कुनै क्वारेन्टाइनमा श्रीराम नाम गरेको मजदुर थुनिएको हल्ला पनि कतै चलेको छैन ।

०००

आफ्नै जीवनकथा र छोराको सम्झना सुनाउँदासुनाउँदै टुसाल चोकमा केही बटुवा देखिए । उनीहरूले तौल नापेर गए । सडकतिर फेरि एकोहोरो हेर्न थालिन् । केही सम्झिएजस्तो गर्दै भनिन्, ‘चिठीभन्दा समाचार लेख्यो भने सबैले पढ्छ रे, सबैतिर पुग्छ रे । मेरो फोटो टाँसेर एउटा समाचार लेखिदिनु न बाबु । छोराले थाहा पाएर आमा खोज्दै आउँछ कि १’ सोधेँ, ‘के भनेर लेखिदिउँ त आमा रु’ पछ्यौरीले आँसु पुछिन् । केही बोलिनन् । एकछिनपछि भनिन्, ‘श्रीराम तँ जहाँ भए पनि झट्टै आइज । तेरो आमा टुसाल चोकको सडकछेउमा रोएर बसिराछ भनेर लेखिदिनू ।’ नयाँ पत्रिकाबाट साभार !!





error: Content is protected !!