लगानी बोर्ड ः शक्तिनिकटको प्रतिस्पर्धा ?

रोविन पौडेल
काठमाडौं ः लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाइमलाइट (सार्वजनिक आकर्षण) को पद बनेको छ । वर्षवर्षमा लगानी सम्मेलनको आयोजना र त्यसको नेतृत्व, सरकारसँगको पहुँच, ठूलो रकम लगानी गर्न चाहने विदेशी लगानीकर्तासँगको डिल, विश्वभरका लगानी स्रोतमा नेपालको बजारीकरण, समय–समयमा हुने विदेश भ्रमणका कारण यो पद ‘ग्ल्यामरस’ बनेको छ ।

यसअघि यसको नेतृत्व दुईजनाले गरेका छन् । पूर्वबैंकर राधेश पन्त र वर्तमान गभर्नर महाप्रसाद अधिकारीले बोर्डको नेतृत्व गरिसकेका छन् । अधिकारी गभर्नर बनेपछि सरकारले बोर्डको सीईओका लागि खुला प्रतिष्पर्धाका लागि आवेदन माग गरेको थियो । त्यसमा १२ जनाको आवेदन परेको छ ।

ती बाह्रैजनाको विगत हेर्दा अहिले लगानी बोर्डको सीईओको वजन बढेको देखिन्छ । किनकि बोर्डको सीईओ पदभन्दा माथिल्लो पदमा बसिसकेका व्यक्तिले पनि यो पदमा आकांक्षा राखेका छन् ।

बोर्डको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । सीईओ सदस्य–सचिव हुन्छन् र बोर्ड बैठकमा पेस गरिने प्रस्ताव सीईओ नै बनाउँछन् । यो बैठक २–२ महिनामा बस्नुपर्छ । सीईओले महिनामा कम्तिमा एकपटक प्रधानमन्त्रीसँग छलफल गरेर बोर्डको बारेमा जानकारी गराउँछन् । यसकारण पनि बोर्डको सीईओलाई शक्ति निकट पद मानिन्छ ।

बोर्डमा अधिकार प्रत्यायोजन गर्ने क्रममा लगानी सम्मेलनपूर्व बोर्डलाई ६ अर्बभन्दा माथिका आयोजनाको समन्वय गर्ने व्यवस्था गरिएको हो । यसैगरी दुईसय मेगावाटभन्दा ठूला जलविद्युत् परियोजनाको समन्वय पनि बोर्डबाट नै हुने व्यवस्था छ । अहिले नेपाल पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी रहेका सुशील ज्ञवाली, राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टलगायतका व्यक्तिहरुको आवेदनले पनि बोर्डको सीईओको गरिमा बढाएको अधिकारीहरु बताउँछन् ।

राज्यमन्त्रीसरह रहेको प्राधिकरण प्रमुखको पद सकिँनै लाग्दा ज्ञवालीले सचिवस्तरको पदका लागि आवेदन दिनु र भट्टले सांसदसरहको पदबाट बोर्डको कार्यकारी बनेर जाने आकांक्षा देखाउनुले पनि बोर्डको गरिमा बढेको हो ।

प्राधिकरणमा कर्मचारी प्रमुख नेपाल सरकारका सचिव रहने प्रावधान छ । जबकि बोर्डमा सहसचिवले नेतृत्व गर्छन् । योजना आयोगको सदस्य उल्टै कार्यकारी पद हो । सेवा सुविधा सांसदलाई भन्दा बढी हुने गर्छ । यो छाडेर बोेर्डका प्रमुख कार्यकारी अधिकृतमा जान खोज्नुका कारण पनि सत्तासँगको नजिकी नै रहेको आवेदक स्वयं स्वीकार्छन् ।

एक आवेदकले बाह्रखरीसँग भने, “यो पदमा रहँदा जे जस्तो एक्स्पोजर हुन्छ । त्यो अन्त कतै छैन । र पक्कै पनि प्रधानमन्त्रीसँग नजिकिने अवसर पनि हुन्छ । त्यो अर्को आकर्षण हो ।”

उनले भनेझैं बोर्ड प्रमुख कार्यकारी पदभन्दा डाइनामिक अरू छैन । १–१ वर्षमा लगानी सम्मेलन हुन्छ । देशविदेशका ठूला लगानीकर्तासँग डिल गर्ने अवसर हुन्छ । विदेशी डेलिगेसनसँग प्रत्यक्ष भेटघाट हुन्छ । ठूलो स्केलको वैदेशिक लगानी यहीमार्फत् आउने कारण उनीहरूमाथि प्रत्यक्ष–अप्रत्यक्ष नियन्त्रण हुन्छ ।
महाप्रसाद अधिकारी हुँदा अलि ब्युरोक्रेटिक बने पनि राधेश पन्त हुँदा यो पद लाइमलाइट ९सार्वजनिक आकर्षणको केन्द्र० मा भएको ठाउँ हो ।

ज्ञवाली वा भट्ट वा अरू कोही आवेदक जे पदमा आसिन भए पनि त्यसलाई छाडेर त्यहाँ जान किन लालायित हुन्छन् रु यो प्रश्नको जवाफ अब बाँकी रहेन । तलब, सेवा सुविधा प्राधिकरण–आयोग–नियामक निकायमा बढी हुन्छ । पद पनि ठूलो हो । तर, लगानी बोर्ड जानुको कारण एकमात्र हो, अहिलेको पदभन्दा बढी ‘एक्स्पोजर’ पाउनु ।

बोर्ड कार्यकारी प्रमुख पदका लागि पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत, विद्युत् नियमन आयोगका पूर्वसदस्य, चार्टर्ड एकाउन्टेन्ट संस्था नेपालका पूर्वअध्यक्ष, प्रदेशको लगानी प्राधिकरण प्रमुखलगायतले पनि आवेदन दिएका छन् । उसो त महाप्रसाद बोर्डमै रहँदा यो पदलाई राज्यमन्त्रीस्तरको बनाउने कुरा नचलेको होइन ।

कुनै पनि बेला अहिले सचिवसरहको पद राज्यमन्त्री सरहको हुन सक्ने आकलन गरेर नै अहिले धेरैजसोले आवेदन दिएको हुन सक्ने अनुमान छ । वैदेशिक लगानी र लगानी बोर्डबारे जानकार स्रोतले भन्यो, “यी केही आवेदक पद घटेर किन आउँथे रु केही नभई त पक्कै आवेदन दिएनन् होला । मैले सुन्दै छु बोर्डमा आएपछि प्रमुख कार्यकारी अधिकृत पदलाई मन्त्री वा राज्यमन्त्रीसरहको बनाउने योजना छ रे ।”

अरू व्यक्ति आउन खोज्नु स्वभाविक भएको स्रोत मान्छ । नत्र मर्यादाक्रममा घटेर अर्को पदमा जान खोज्नुलाई नीतिगत भ्रष्टाचारको सुरुवात मान्न सकिन्छ । एक ठाउँमा कार्यकाल सकिन लाग्दा अर्को ठाउँमा गएर सेवा सुविधा पाउने व्यवस्था गर्ने मनशायले शक्तिलाई गलत ढंगले भजाउन खोजेको प्रस्ट पार्ने दाबी स्रोतको छ ।
बोर्डको प्रमुख कार्यकारी अधिकृतको क्षमता व्यवस्थापन, नेतृत्व र कम्युनिकेसन सीपले निर्धारण गर्छ ।

व्यावसायिक, गैर–राजनितिज्ञ चाहिन्छ – पूर्वप्रमुख कार्यकारी अधिकृत पन्त

बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत राधेश पन्तका अनुसार बोर्ड प्रमुख कार्यकारीको पदमा आसिन हुने व्यक्ति प्रोफेसनल, गैर राजनितिज्ञ हुनुपर्छ । उनले भने, “लगानी बोर्ड भनेको लगानी जुटाउने सरकारी निकाय भए पनि निजी क्षेत्र जस्तै हुनुपर्छ ।”

पन्तका अनुसार लगानीकर्ताको मर्म बुझ्न सक्ने, उनीहरूसँग नेगोसिएट गर्न सक्ने व्यक्ति यो पदका लागि उपयुक्त हुन्छ । यसका साथै उच्च नैतिकवान् व्यक्ति चाहिन्छ । पन्तका अनुसार समन्वय गर्ने क्षमता उत्तिकै आवश्यक छ । परिपक्वता र धैर्यता पनि उत्तिकै आवश्यक छ । पन्तले भने, “योभन्दा पनि नेतृत्व गर्ने क्षमता हुनुपर्छ जसले अरूलाई सजिलै बुझ्न सकोस् ।” पूर्वप्रमुख कार्यकारी अधिकृत पन्तका अनुसार यो पद हाई–लेभल टक गर्ने पद हो जसका लागि व्यवस्थापन तथा प्राविधिक र वित्तीय पक्षबराबर बुझेको मान्छे चाहिन्छ ।

आफू बोर्डमा रहेको सम्झँदै उनले भने, “सरकार, निजी क्षेत्र तथा बाह्य क्षेत्रलाई सहकार्य गराउन सक्नुपर्छ । मैले त बोर्डलाई संस्थागत गराएँ । अब आउने साथीहरूले यसलाई प्रोफसनल बनाइदिनु हुन्छ कि भन्ने आश छ ।”

नयाँ अनुहार अवसरबाट वञ्चित, मर्यादाक्रममा खेल

बोर्ड प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन दिएर चर्चा चलेका सबै पुरानै अनुहार हुन् । यस अर्थमा पुरानै अनुहारले शक्तिको नजिक पुगेर आफ्नो पावर एक्सरसाइज गर्न खोजेको देखिन्छ । बोर्डको सीईओका लागि आवेदन दिएका अर्का व्यक्ति हुन् रामकृष्ण खतिवडा । उनी विद्युत् नियमन आयोगका सदस्य थिए । त्यहाँबाट उनले राजीनामा दिइसकेका छन् ।

लगानी बोर्ड भनेको नेपालको मार्केटिङ गर्ने ठाउँ हो । नेपालमा लगानी गर भनेर प्रोजेक्ट बेच्ने ठाउँ हो । पूर्वकार्यकारी अधिकृत पन्तले भनेझैं यो पदका लागि डाइनामिक व्यक्ति चाहिन्छ, भाषामा कमान्ड राम्रो हुनुपर्छ र डिल गर्ने क्षमता हुनुपर्छ । यो पदका लागि एकपल्ट बोर्डका सहसचिव बलाराम रिज्याल आफैं लागि परेका थिए ।

राम्रो पर्फमेन्स गरेर बढाउनेभन्दा बार्गेन गरेर मर्यादा बढाउने विषयलाई जानकारले नीतिगत भ्रष्टचार मानेका छन् । प्रणालीले चिनेर मर्यादा बढ्ने हो भने त्यसमा कमेन्ट गर्न नमिल्ने तर क्षमतावान् व्यक्तिलाई ल्याइन्छ भने केही फरक नपर्ने सरकारी ओहोदामा बसेर काम गरिसकेका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री बताउँछन् ।
उनी भन्छन्, “शक्तिको नजिक जो छ उसले पद हात पार्छ । तर, यहाँ काम गर्ने मान्छेको अभाव भने होइन ।”

माथिल्लो निकायमा पुगेको व्यक्ति उक्त पदका लागि घटेरै जानुको कारणबारे पूर्वगभर्नर क्षेत्रीको धारणा छ, “मुलुकको हितका निमित्त छाती फुकाएर मैले योगदान दिन सक्छु भन्ने छ भने पदको रिगार्ड गर्नु हुँदैन ।” क्षमता र दक्षतालाई प्रयोग गर्न सक्छु भन्ने छ भने ओहोदालाई ध्यान नदिनु ठीक रहेको उनको दाबी छ ।
क्षेत्रीले थपे, “तर नेपालमा सुविधा र शक्तिका लागि ओहोदामा घटुवा भएर काम गर्ने चलन छ ।”

मातृकाप्रसाद कोइरालाले राजाको सिन्दूर भन्दै राजदूत पद खाएका थिए । अर्थमन्त्रीसमेत रहेका डा। युवराज खतिवडा आफैं गभर्नर भएर फेरि उपाध्यक्षमा फर्कन चाहेनन् । उनलाई मन्त्री पद नै चाहियो । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको दौडधूप गर्नेमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र सानिमा बैंकका भुवन दाहालको पनि नाम चर्चामा आएको थियो ।

आवेदक भन्छन्– छनोट प्रक्रिया कर्मकाण्डी मात्र हो, बोर्डका कर्मचारी भन्छन्– नयाँ अनुहार आऊन्

बोर्डमा बसेर काम देखाउने सोचमा आफूले प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन दिएको एक आवेदकले बताए । उनले भने, “आफू अहिले भएकोभन्दा खासै ठूलो पोस्ट नभए पनि देशको मार्केटिङमा काम गरौं भन्ने इच्छा जागेको हो ।” सरकारको योजना तथा बाह्य लगानीमा आफ्नो ज्ञानको सदुपयोग गरौं भनेर आवेदन दिएको उनको भनाइ छ ।

तर, यो खालको बुझाइले त्यहाँ काम नगर्ने उनको ठोकुवा छ । “त्यही भएकाले आश पनि गरेको छैन,” उनले भने, “त्यसो हुँदा–हुँदै पनि नाम निस्किएछ भने काम गरौंला । जाँचको पास र फेलको कुरा होइन । पूर्णतः राजनीतिक नियुक्ति हो ।” अन्तर्वार्ता भने पनि जे भने पनि प्रधानमन्त्री र अर्थमन्त्रीले जो भन्यो त्यही नियुक्त हुने उनको भनाइ छ ।

उनले थपे, “थोरै विश्वास गरेर मात्रै पनि नियुक्त गरिहालेछन् भने राम्रोसँग काम गर्ने हो । नभए पनि बाहिर बसेर सघाउने हो । आखिर देश त हाम्रै हो ।”

व्यवस्थाअनुसार आवेदकको प्रस्तुति, अनुभव र योग्यताका आधारमा तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिस हुन्छ । जसमध्ये एकजना प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनेछन् ।

लगानी बोर्डका कर्मचारीहरू पनि नयाँ र क्षमतावान् व्यक्तिले संस्थाको नेतृत्व गर्नुपर्ने धारणा राख्छन् । बोर्डका एक कर्मचारीले भने, “जो आए पनि ब्युरोक्रेटिक नआए हुन्थ्यो । नयाँ मान्छेलाई नेतृत्व दिनुनर्छ भन्ने हो । क्षमतावान् व्यक्ति आए हामीलाई पनि काम गर्न सन्तुष्टि हुने थियो ।”

एउटै मान्छेलाई पदमा घुमाउन देशको अभ्यासमा उनी सन्तुष्ट छैनन् । उनले थपे, “मेरो सामान किन्देऊ भन्न जान्ने मान्छे चाहिन्छ । विदेशीलाई कन्भिन्स गर्ने मान्छे चाहिन्छ । सम्बन्धित विषय बुझेको मान्छे चाहिन्छ । आफ्नो सामान बुझेको मान्छे चाहिन्छ ।”

अरू को–को छन् आकांक्षी ?

आवेदकमध्ये डा। सरोज कोइरालाले प्रत्यक्ष वैदेशिक लगानी विषयमा विद्यावारिधि गरेका छन् । उनी प्रदेश १ को लगानी प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पनि हुन् । त्यस्तै, पूर्वबैंकर सुमन शर्मा, बोर्डका कन्सल्ट्यान्ट आशिष गजुरेल, विद्युत् नियमन आयोगका सदस्य रामकृष्ण खतिवडा, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका सह–प्राध्यापक डा। रमेश पौडेल, कृष्ण आचार्यलगायत छन् ।

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, विशेष आर्थिक क्षेत्र ९सेज० का पूर्वकार्यकारी निर्दशक चण्डीका भट्टले पनि सीईओ पदका लागि आवेदन दिएका छन् । बोर्डको सीईओका लागि अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियर वा विकास परियोजनासम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान छ ।

त्यसैगरी, परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय तथा औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव हुनुपर्ने कानुनी व्यवस्था छ ।

बोर्डका अनुसार सीईओका लागि आवेदन दिएका १२ जनामध्ये तीन जनालाई छनोट गर्न समिति गठन गरिएको छ । अर्थमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडा संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेल र अर्थशास्त्री गोविन्द नेपाल सदस्य रहेको छनोट तथा सिफारिस समितिले १२ प्रतिस्पर्धीमध्ये तीनजनाको नाम तयार गरी नियुक्तिका लागि मन्त्रिपरिषदमा पेस गर्नेछन् ।

मन्त्रिपरिषदमा पेस गरेपछि मन्त्रिपरषद्ले तीनमध्ये एकजना लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको कार्यकाल चार वर्षको हुन्छ । चैतमा महाप्रसाद नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएदेखि लगानी बोर्ड प्रमुख कार्यकारी अधिकृतको पद रिक्त छ ।





error: Content is protected !!