रामपुरमा पहिरोेले दुई घर पुरियो, तीन घर जोखिममा

सुशीला रेग्मी
रामपुर (पाल्पा), ५ साउन ः गएराती परेको वर्षाले रामपुर नगरपालिका १ स्थित स्याउलीबजारका दुई घर पहिरोले पुरेको छ । घर पछाडीबाट खसेको पहिरोले यहाँका स्थानीय लक्ष्मी मल्लको दुईतले कच्ची घर र गमबहादुर मल्लको दुईतले पक्की घर पुरिएको छ ।
घर पछाडीबाट आएको पहिरोले गएराती १२ ः ३० वजे घरको भित्ता नै भत्काउदा भलसहितको पानीले तल्ला तलामा राखिएका सामान बगाएको छ । पानी परेपछि पहिरोबाट क्षति रोक्न विभिन्न नियन्त्रणका उपाय अपनाउँदा पनि नसकिएको स्थानीय दानस मल्लले बताउनुभयो ।
पहिरो पिडितलाई अहिले स्थानीय रैनापानी सामुदायिक वनको भवनमा राखिएको छ । यहाँका बालकुमारी मल्ल, दानस मल्ल र सूर्य श्रेष्ठको घर पनि पहिरोको जोखिममा रहेको छ । पहिरो पिडितलाई वडाबाट आफूले सहयोगका लागि पहल गर्ने वडा अध्यक्ष मित्रलाल कंडेलले बताउनुभयो ।
पानी परिरहेको हुदा कच्ची सडक हिलाम्मे, ठाउँ ठाउँमा समस्या भएकाले पहिरो गएको ठाउँमा आफू पुगि नसकेको हुदा क्षतिको विवरण लिन बाँकी रहेको र वडा अध्यक्ष कंडेल बताउनुहुन्छ ।










