किन बटुलिन्छन् गोही अन्डा ?

काठमाडौँ ः चितवन राष्ट्रिय निकुञ्जले नारायणी र राप्ती नदीमा गोहीले पारेका दुई सय ५० वटा अन्डा संकलन गरेको छ । घडियाल गोहीले नदी किनारमा बालुवाभित्र गुँड बनाएर अन्डा पार्छ । नदी किनारको बालुवामा घडियाल गोहीले पारेका ति अन्डा संकलन गरिएको हो ।
हात्ती, गैंडालगायतका वन्यजन्तुले कुल्चिएर नष्ट गर्ने र बाढीका कारण जोखिममा रहेका अन्डा टिपेर निकुञ्जको मुख्यालय, कसरामा रहेको गोही प्रजनन केन्द्रमा लगिन्छ । त्यहीँबाट बच्चा निकालिन्छ ।

निकुञ्जका सहायक वार्डेन तथा गोही विशेषज्ञ वेदबहादुर खड्काको टोलीले दुई साताअघिदेखि अन्डा टिप्न थालेको हो । गोहीको अन्डा टिप्ने काम असारसम्मै चल्छ । बिहीबारसम्म संकलन गरिएका ती अन्डा गोही प्रजनन केन्द्रमा ओथारोका लागि राखिएको छ ।

केन्द्रमा ५ सय वटा घडियाल गोही छन् । प्रजनन केन्द्रमा रहेका अन्य गोही ओथारो बसेर ७५ दिनदेखि अधिकतम एक सय दिनमा गोहीको बच्चा कोरल्छन् । त्यसरी निस्केका बच्चा फेरि नारायणी र राप्ती नदीमै छोडिन्छ ।

प्राकृतिक बासस्थानमा गोहीको संख्या बढाउने उद्देश्यले निकुञ्जले हरेक वर्ष बच्चा नारायणी र राप्ती नदीमा छाड्ने गरेको छ । अहिलेसम्म नारायणी, राप्तीसहित कोशी, कालिगण्डकी, कर्णाली र बबईमा गरी एक हजार पाँच सय १५ वटा गोहीको बच्चा छाडिएको छ ।नारायणी नदी किनारमा यसपल्ट एउटा गुँडमा २५ देखि ४७ वटासम्म अन्डा फेला परेको खड्काले जानकारी दिए । गुँडका सबै अन्डा भने संकलन गरिन्न ।

केही प्राकृतिक प्रजननका लागि त्यहीँ छाडिन्छ भने केही संकलन गरेर कसरामा प्रजनन गराइन्छ । ‘नदी किनारमा अन्य जीवजन्तुबाट जोगाउन र बाढीको जोखिममा रहेका यस्ता अन्डा संकलन गरिन्छ,’ खड्काले कान्तिपुरसँग भने, ‘यो काम २०३५ सालदेखि नै जारी छ, जुन वर्ष कसरामा गोही प्रजनन केन्द्र स्थापना भयो ।’

नारायणी नदी गोहीका लागि उपयुक्त बासस्थान हो । नेपालमा दुई प्रजातिका गोही पाइन्छन्, घडियाल र मगर । घडियाल गोहीले स्वच्छ वातावरणको संकेत गर्ने संरक्षणविद्हरू बताउँछन् । चितवन निकुञ्जतर्फ पूर्वी नवलपरासीको बबुअनदेखि दक्षिणको त्रिवेणीधामसम्म गोहीको संख्या धेरै छ । यस क्षेत्रमा तुलनात्मक रूपमा शान्त र अनुकूल वातावरण रहेकाले गोहीको संख्या धेरै रहेको खड्का बताउँछन् ।

गोहीले बालुवामा अन्डा पारेर बालुवाले नै छोप्छ र बेलाबेलामा आएर ओथारो बस्छ । पोथी गोहीले १५ वर्षको उमेर पुगेपछि अन्डा निकाल्छ । गोहीको गुँड हेर्न हाल ५ जना हेरालु ९गोही गोठाला० खटिएका छन् । उनका अनुसार कहाँ गोहीको अन्डा छ भन्ने हेरालुले सूचना दिएपछि अन्डा टिप्ने टोली खटिने गर्छ । खड्कासहित ६ जनाको टोली अन्डा टिप्न तीन महिनासम्म डुंगा चढेर नारायणीमा खटिनेछन् ।

गोहीको गुँडबाट अन्डा टिपेर निश्चित स्थानमा बालुवाले पुर्दै स्याउलाले छोपेर नियन्त्रित तापक्रममा नहल्लाई राखेर डुंगाबाट नै कसरा लगिन्छ । हल्लिँदा गोहीको उत्पादन क्षमतामा असर पर्ने भएकाले खास सावधानी अपनाउने गरिएको खड्काले सुनाए ।

संसारमै दुर्लभ मानिने घडियाल गोही नेपाल र भारतमा मात्र पाइन्छ । प्राकृतिक वासस्थानमा गोहीले आफैं माछाको सिकार गरेर खान्छ । प्रजनन केन्द्रभित्र रहेका गोहीलाई पनि ताजा माछा नै खुवाइन्छ । नेपाल र भारतमा प्रजनन गर्ने वयस्क उमेरका करिब ६ सय वटा घडियाल गोही छन् । म्यानमार, पाकिस्तानबाट घडियाल लोप भइसके । बंगलादेश र भुटानमा केवल चिडियाखानामा मात्र बाँकी छन् । संसारमै दुर्लभ मानिएको घडियाल गोही नेपालमा धेरै संख्यामा पाइन्छ ।

खड्काका अनुसार नारायणी, राप्ती, बबई र कर्णाली नदीमा विभिन्न उमेरका एक सय ९८ घडियाल गोही छन् । वन्यजन्तु ऐनमा संरक्षित सूचीको घडियाल गोही ७० देखि ८० वर्षसम्म बाँच्छ । नारायणीमा मात्रै हाल एक सय ३० वटा गोही रहेको अनुमान छ ।

नदीमा वातावरणीय प्रदूषणका कारण गोही संकटमा पर्दै गएका छन् । यद्यपि यसबारेमा विस्तृत अध्ययन भएको छैन । कतिपय अस्थामा नदी किनारका बासिन्दाले माछा मार्न थापेको जालमा परेर गोही मरेका छन् । स्थानीयले गोहीको मासु र अन्डासमेत खाने चलनले पनि यो प्रजाति थप संकटमा परेको जानकारहरूको विश्लेषण छ ।




सम्बन्धित समाचार


error: Content is protected !!