स्याटेलाइट ट्याग ढाडमा बाँधेर छाडिएको गिद्ध भारत–पाकिस्तान चहार्दै

काठमाडौँ , नवलपरासी (पूर्व) को पिठौलीमा स्याटेलाइट ट्याग ढाडमा बाँधेर छाडिएको एउटा जंगली गिद्ध करिब ११ सय किलोमिटर यात्रा गर्दै पाकिस्तानको जम्मु कश्मीरसम्म पुगेको पहिल्यै हो । दोस्रो पटक त्यहाँ पुगेपछि ऊ फर्केको छैन ।
गिद्धको ढाडमा रहेको स्याटेलाइट ट्यागले पठाएको तथ्यांक केलाउँदा प्रजनन केन्द्रमा हुर्किएका र त्यहीँभित्र जन्मिएका ९ वटा गिद्धले करिब १७ हजार वर्ग किलोमिटर क्षेत्रमा विचरण गरेको देखिएको छ।
गिद्ध अनुसन्धानमा काम गर्दै आएका पन्छी संरक्षण संघ (बीसीएन) का कृष्णप्रसाद भुसालले २० किमि आसपासमा यात्रा गर्ने गिद्धहरू भारतको उत्तरप्रदेश, बलरामपुरसम्म पुगेको पाइएको जानकारी दिए। पखेटामा बाँधिएको १० नम्बर ट्यागको गिद्ध १ सय ९३ किमि यात्रा गर्दै बलरामपुर पुगेको छ। ४४ नम्बर ट्याग रहेको गिद्ध ९०.३ किमि यात्रा तय गर्दै उत्तर प्रदेशकै महाराजगन्ज जिल्लामा पुगेको छ। मुलुकभित्रै पनि तिनले लामो यात्रा तय गर्ने गरेका छन्।
‘प्रजनन केन्द्रभित्र हुर्किएका र त्यहीँ जन्मिएका स्याटेलाइट ट्याग बाँधेर छाडिएका गिद्धले पनि केही समययता लामो यात्रा तय गर्न थालेको देखिन्छ,’ भुसालले भने। विगतमा प्रजनन केन्द्रभित्र हुर्काएर छाडिएका गिद्धहरू नवलपरासीको कावासोतीमा रहेको जटायु रेस्टुरेन्ट आसपास क्षेत्र मात्र बस्ने गर्थे।
लामो यात्रा गर्ने क्रममा कतिपय गिद्ध भने थाकेर कमजोर हुने गरेको पाइएको छ। पिठौलीमा छाडिएको एक गिद्ध यसै साता कमजोर अवस्थामा गोरखाको मनास्लु संरक्षण क्षेत्रमा पुगेको थियो। धेरै उड्ने बानी नपरेकाले उक्त गिद्धलाई मनास्लु संरक्षण क्षेत्रका कर्मचारीले उद्धार गरेका थिए। त्यसलाई पिठौलीबाट गएका प्राविधिकले उद्धार गरेका हुन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रकृतिका गिद्ध लोप हुनबाट बचाउन चितवन राष्ट्रिय निकुञ्जको कसरामा गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा हुर्काइएका र त्यहाँ जन्मिएका गिद्धलाई प्राकृतिक वातावरणमा पुनस्स्थापना गर्दै आएको छ। विभागले बीसीएन र प्रकृति संरक्षण कोषको जैविक विविधता संरक्षण केन्द्रको सहयोगमा उक्त कार्य गरेको हो। विभागका महानिर्देशक गोपालप्रकाश भट्टराई प्राकृतिक बासस्थानमा दुर्लभ बन्दै गएका गिद्धलाई पुनस्स्थापना गर्न अघि बढाइएको प्रयास केही हदसम्म सफल भएको ठान्छन्। उनले भने, ‘प्रजनन गराएर हुर्काइएका गिद्ध पनि प्रकृतिमा बाँच्न सक्छन् भन्ने प्रमाणित भएको छ।’
सन् २००८, २००९ र २०१० मा नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, कैलाली, कञ्चनपुर, अर्घाखाँची, पाल्पा, स्याङ्जा र कास्कीबाट ६० वटा डंगर गिद्धका बच्चा ल्याएर संरक्षण थालिएको हो। केन्द्रमा रहेका गिद्धले सन् २०१२ देखि अन्डा पार्न सुरुवात गरेका थिए। अहिलेसम्म त्यहाँ १८ वटा बच्चा कोरलिएका छन्।
विभागका अनुसार सन् २०१७ मा ६, सन् २०१८ मा १२ र सन् २०१९ मा १३ गरी ३१ वटा डंगर प्रजातिका गिद्धलाई स्याटेलाइट ट्याग बाँधेर प्राकृतिक बासस्थानमा छाडिएको छ। विभागले गिद्ध पुनस्स्थापना कार्ययोजना २०१६–२०१९ अनुसार ती कार्य अघि बढाएको थियो।
प्रजनन केन्द्रमा हुर्काएर छाडिएका गिद्धमध्ये ३ जोडीले प्रजनन अवधिमा जोडी बनाई गुँड बनाउने प्रयास गरेको देखिएको छ। यसले संरक्षणकर्मीलाई उत्साहित बनाएको छ। ती गिद्धको नियमित अनुगमनका लागि ढाडमा बाँधिएका स्याटेलाइट ट्यागमार्फत प्राप्त हुने संकेतलाई पछ्याउने गरिन्छ।
विभागका इकोलोजिस्ट उपसचिव हरिभद्र आचार्यका अनुसार प्रजनन केन्द्रभित्रै जन्मेका र बाहिरबाट बच्चा ल्याएर हुर्काइएका ३१ बाहेक जंगलमै रहेका थप ३० वटा गिद्धलाई पनि ट्याग बाँधेर छाडिएको छ। प्रजनन केन्द्र (क्याप्टिभ) मा हुर्किएका र जंगलमा (प्राकृतिक वातावरणमै) रहेका गिद्धबीचको अन्तरक्रिया तथा तुलनात्मक अध्ययनका लागि त्यसो गरिएको हो।
स्याटेलाइट ट्याग बाँधिएका जंगली (प्राकृतिक वातावरणमै रहेका) गिद्धले करिब २० जिल्ला घुमफिर गरिरहेको देखिएको छ। ती ३० वटा गिद्धले २५ हजार वर्ग किलोमिटर क्षेत्रमा विचरण गरेको देखिएको छ। त्यहीमध्येको एउटा गिद्ध कावासोतीको पिठौलीबाट करिब ११ सय किलोमिट यात्रा गर्दै भारत र पाकिस्तानको सीमा जम्मु कश्मीर क्षेत्र पुगेर फर्किएको हो।
स्याटेलाइट ट्याग जडान गरिएका गिद्धहरू कुन–कुन ठाउँमा जान्छन्, कस्तो सिनो खान्छन्, तिनको बासस्थान कस्तो छ र कतातिर विचरण गरिरहेका छन् भनेर सम्बन्धित ठाउँमै गएर निरीक्षण गर्ने गरिएको छ।
स्याटेलाइट ट्याग गरिएका गिद्धको प्रकृतिमा मृत्यु भए तिनको संकलित नमुनामा डाइक्लोफेनेकको अवशेष शून्य पाइयो भने ती गिद्ध सुरक्षित क्षेत्रमा छन् भनेर वैज्ञानिक प्रमाणीकरण गरिन्छ।
सन् १९९० तिर नेपालसहित दक्षिण एसियामा पशु उपचारको क्षेत्रमा डाइक्लोफेनेक सर्वव्यापी र सर्वप्रिय दुखाइ कम गर्ने औषधिका रूपमा प्रख्यात थियो। त्यतिबेला ५० लाखदेखि एक करोड रुपैयाँसम्मको डाइक्लोफेनेक पशु उपचारमा प्रयोग भएको पाइएको छ। त्यही डाइक्लोफेनेक खुवाइएका पशु उपचारकै क्रममा वा ७ दिनभित्र मरे त्यसको विषाक्तपन सिनो खाने गिद्धमा सर्छ। जसका कारण रगतमा युरिक एसिडको मात्रा बढी भित्री अंगमा पत्थर जमेपछि मृगौलाले काम गर्न छाड्ने र केही दिनमै गिद्ध मर्ने गरेको अध्ययनले देखाएको छ। सरकारले २०६३ जेठ २३ देखि डाइक्लोफेनेकको आयातमा रोक लगाएको छ। त्यो बेच्ने, उत्पादन गर्ने र भण्डारण गर्नेलाई जरिवानासमेत तोकेको छ। त्यसको सट्टा सन् २००६ देखि नै ‘मेलोक्सिक्याम’ आविष्कार गरी प्रवद्र्धन गरिएको छ।










