कृषकलाई आत्मनिर्भर बनाउन खेती प्रणाली बदल्दै

– हेमन्त केसी
जाजरकोट (रासस)ः दुई वर्षअघि हिउँदयाममा बाँझो रहने नलगाड नगरपालिका–३ ल्वारखेतमा अहिले प्याजखेतीले हराभरा भएको छ । नगरपालिकाद्वारा सिँचाइ सुविधा पु¥याएसँगै ल्वारखेतमा हिउँदयाममा प्याजखेती फस्टाएको हो ।

नगरपालिकाले प्याजखेतीका लागि पकेट क्षेत्र घोषणा गरी रु एक लाख सहयोग गरेपछि यहाँका कृषक प्याजखेतीमा आकर्षित भएका हुन् । प्याजखेतीसँगै बीउसमेत उत्पादन गर्न थालिएको छ । स्थानीय २४ कृषकको अगुवाइमा १०० रोपनी जग्गामा प्याजको बीउ उत्पादन गर्न थालिएको ल्वारखेत तरकारी तथा प्याज उत्पादन कृषक समूहका अध्यक्ष अमरबहादुर बुढाले जानकारी दिनुभयो ।

बीउ उत्पादन भइरहेको ठाउँमा नलगाड नगरपालिकाको कृषि तथा पशुपक्षी शाखाबाट प्राङ्गारिक विषादी, सिँचाइका लागि आवश्यक पाइप र प्राविधि सेवा सहयोग गरिँदै आएको शाखाका प्रमुख बालकृष्ण आचार्यले जानकारी दिनुभयो । ५०० रोपनी रहेको ल्वारखेतमा पहिलो चरणमा बीउ उत्पादनका लागि १०० रोपनीमा प्याजको व्यावसायिक खेती गरिएको स्थानीय कृषक जङ्गबहादुर पुनले बताउनुभयो । वर्षेनी तरकारीका लागि समस्या भोग्नुपर्ने अवस्थाको अन्त्य गरी आफैँ आत्मनिर्भर बन्नु अहिलेको प्रमुख आवश्यकता रहेको उहाँको भनाइ छ ।

रोजगारीका लागि देशका अन्य ठाउँ तथा भारत नै किन जानुपर्ने रु आफ्नै खेतबारीमा मेहेनत गरे पैसा घरमै आउने भन्दै अर्का अगुवा कृषक औसी पुनले भन्नुभयो, “वर्षायाममा आकाशेपानीको भरमा धान लगाउने गरेका थियौँ । हिउँदयाममा गहुँ लगाए पनि खासै राम्रो उत्पादन हुँदैनथ्यो । दुई वर्षदेखि खेती गर्ने तरिका बदलेर प्याजखेतीतर्फ लाग्दा फाइदा भएको छ ।”

गाउँका सबै कृषक प्याजखेतीतर्फ लागेका छौँ । अन्य तरकारी बाली पनि खेतबारीमा फलाउँदा बाहिर गएर तरकारी किन्नुपरेको छैन, बरु बाहिर लगेर बिक्री गरिरहेका कृषक दलबहादुर पुनले भन्नुभयो । नगरपालिकाले माटोको जाँच गरेर कुन ठाउँमा कुन बाली उपयुक्त हुन्छ, सोही खेती गर्न कृषकलाई अनुदान सहयोग गरी कृषि खेतीतर्फ आकर्षित गरिरहेको छ । नगरपालिकाले कृषि क्षेत्रमा भारी लगानी गरेर स्थानीयवासीको जीवनस्तर उकास्न विभिन्न पकेट क्षेत्रसमेत घोषणा गरिरहेको छ ।

पकेट क्षेत्र घोषण गरिएको ठाउँमा कृषि प्राविधिकहरु खेतीको अवस्था बुझ्न र समस्या परेको हल गर्न जाने गरेको कृषक बताउँछन् । पहिले गहुँबाली लगाउँदा कृषकका दुःखसमेत नउठ्ने गरेको समस्यालाई हल गर्न कृषकसँग व्यापक छलफलपछि खेती प्रणाली बदलेर प्याजखेती गर्न लागिएको वडा नं ३ का वडाध्यक्ष प्रचण्ड ओलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी प्रारम्भिक चरणमा छौँ, गहुँखेती गर्ने जमिनमा हामीले सम्भावनाका आधारमा कृषि विकास शाखाको आर्थिक तथा प्राविधि सहयोगमा प्याज खेतीको शुरुआत गरेका छौँ । अहिलेको अवस्था हेर्दा प्याज एकदमै राम्रो भएको छ ।” “ अहिले कृषक खुशी हुनुहुन्छ । यसको सफल उत्पादनपश्चात आगामी वर्षमा हामीले यो ल्वारखेतको पूरै जमिनमा प्याजखेती विस्तार गरी नलगाड नगरपालिकालाई प्याजखेतीमा आत्मनिर्भर बनाउने छौँै”, वडाध्यक्ष ओलीले भन्नुभयो, “यसबाट नलगाड नगरपालिकावासीको आयआर्जनमा वृद्धि हुने अपेक्षा हाम्रो छ ।”

स्थानीयवासी तथा नलगाड बहुमुखी क्याम्पस प्रमुख कालीबहादुर पुनले व्यावसायिकरूपमा प्याजखेती गरी यसलाई पकेट क्षेत्रको रुपमा विस्तार गर्ने तथा अग्र्यानिक प्याज र प्याजको बीउ उत्पादन गर्न सके नलगाडवासीको आर्यआर्जन उकास्न सकिने बताउनुभयो । नलगाड नगरपालिकाका वडा नं ८, ९ र १० का घरैपिच्छे लसुनखेतीको आकर्षण देखिन्छ । मैदे, रोली, रग्दालगायत गाउँका कृषकलाई पछिल्लो समय लसुनखेतीमा मोह बढेको पाइएको छ । उक्त गाउँका किसानले खेतबारीमा गहुँ, तोरी र तरकारी खेतीको साटो लसुनखेती गरेका हुन् । गहुँ लगाउँदा रु दुई हजार प्राप्त हुने एक रोपनीको खेतमा लसुनबाट रु २४ हजार आम्दानी भएको वडा नं ९ का डम्बर रावतले जानकारी दिनुभयो । रग्दालगायत क्षेत्रका १०० किसानले ४०० रोपनी खेतबारीमा लसुनखेती गरेका छन् । उक्त नगरपालिकाले वडा नं ८, ९ र १० लाई लसुन उत्पादनको पकेट क्षेत्र घोषणा गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो ।

उक्त वडाका किसानलाई बीउ, मललगायतमा ७५ प्रतिशत अनुदान सहयोग गरेर लसुनखेती गर्न लगाएको जानकारी दिँदै उहाँले नलगाडको रग्दा, कायामैदे, रोली जिउलालगायत क्षेत्र लसुन उत्पादनको राम्रो सम्भावना भएकाले पकेट क्षेत्र घोषणा गरिएको उहाँले बताउनुभयो । नगरपालिकाले गत वर्ष लसुनखेती गर्ने किसानलाई रु १० लाख अनुदान दिएको थियो । लसुनको पकेट क्षेत्रमा कुनै पनि समस्या आउन नदिन नियमित प्राविधिक परिचालन गरिएको र लसुनलाई बजारीकरण गर्ने जिम्मासमेत लिइएको जानकारी उहाँले दिनुभयो ।

नगरपालिकाले वडा नं १, २, ४ लाई मह, वडा नं ३ लाई प्याज, वडा नं ५ लाई मकै, वडा नं ६ लाई आलु, वडा नं ७, ८ लाई धान र वडा नं। ८, ९ र १० लाई लसुन उत्पादनको पकेट क्षेत्र घोषणा गरी त्यसैअनुरुप गतिविधि सञ्चालन गरेको छ । कृषि पकेट क्षेत्र कार्यक्रम सञ्चालन कार्यविधि २०७६ समेत पारित भइसकेको छ ।
–––





error: Content is protected !!