चौरजहारीमा कोरोना उपचार ः तीन खालका बिरामीलाई फरक फरक वार्ड

रुकुम पश्चिम ः चौरजहारी अस्पतालमा आइसोलेसन वार्डको काम धमाधम भइरहेको छ। २४ बेड तयार भइरकेका छन् भने अरु निर्माणको अन्तिम चरणमा छन्। हाल यहाँ २ जनाको उपचार चलिरहेको छ।

५० बेडको आइसोलेसन अस्पताल निर्माण गर्नुपर्नेमा अब बाँकी बेड निर्माण भइरहेको छ। शीतल मावि चौरजहारीको एउटा भवनमा २० बेड, चौरजहारी अस्पतालभित्रै ४ बेड तयार छन् भने अस्पताल परिसरमा अरु २० बेडको अन्तिम काम हुँदै छ। १० दिनमा सक्नेगरी सुरु भएको उक्त वार्डको अन्तिम काम भइरहेको छ।

शीतल माविमा बनाइएको आइसोलेसनका बिरामी, बन्दै गरेको भवनमा राख्ने बिरामी र अस्पतालभित्रैको वार्डमा राख्ने बिरामी फरकफरक हुनेछन् र उनीहरुको उपचार पनि त्यसरी नै हुनेछ।

शीतल माविको आइसोलेसन वार्ड सञ्चालनमा आइसकेको छ। अस्पतालले उक्त वार्डमा रहेकाहरुको उपचार, खानपिनदेखि अरु सम्पूर्ण व्यवस्थापन सोही ठाउँबाट गरिरहेको छ। यहाँ शंकास्पद, संक्रमण भएका तर लक्षण नदेखिएका तथा आफै औषधि खान सक्ने, हिँडडुल गर्न सक्नेलाई राखिनेछ। अबको केही दिनमा तयार हुने वार्डमा भने सलाइन चढाउनुपर्ने, सामान्य खालको अक्सिजन दिनुपर्ने र हिँडडुलमा समस्या हुनेलाई राख्ने तयारी गरिएको छ। अस्पतालभित्रको वार्डमा गम्भीर अवस्थाका बिरामीलाई राखिनेछ। उक्त वार्ड २४ सै घन्टा चिकित्सकको रेखदेखमा हुनेछ। त्यसपछि पनि बिरामीको अवस्था गम्भीर भए र भेन्टिलेटरमा राख्नुपर्ने अवस्थामा मात्रै बिरामी रिफर गर्ने गरी अस्पतालले व्यवस्थापन गरेको छ।

‘कर्णाली प्रदेश सरकारको निर्णय र निर्देशनअनुसार काम भइरहेको छ,’ अस्पतालका प्रशासक डिलबहादुर गिरीले भने, बन्दै गरेको वार्ड पनि ३ दिन सम्ममा तयार भइसक्नेछ।

अस्पतालभित्रको आइसोलेसन वार्ड थप व्यवस्थित बनाइएको छ। ४ जना बिरामी भर्ना गरिने उक्त वार्डका लागि एउटा भवन तयार छ। विरामी भर्ना गर्ने रुमसहित नर्सिङ स्टेसन, स्वास्थ्यकर्मी बस्ने कोठा र उपचारमा संलग्न, चिकित्सक, स्टाफ नर्स, सहयोगी सबैको क्वारेन्टाइन समेत सोही भवनमा बनाइएको छ। तल्लो तलामा उपचार कक्ष, स्वास्थ्यकर्मीको निवास बनाइएको छ भने माथिल्लो तला निश्चित दिन बिरामीको उपचारपछि क्वारेन्टाइनका लागि तयार पारिएको प्रशासक गिरीले बताए। ४ वटा मेडिकल टिमले बिरामीको उपचार गर्ने र पालैपालो क्वारेन्टाइनमा बस्ने उनको भनाइ छ।

चौरजहारी अस्पतालमा आइसोलेसन वार्ड बनाउने निर्णय गत चैत १३ गते कर्णाली प्रदेश सरकारले गरेको थियो। त्यसका लागि ५० लाख बजेट अस्पताललाई निकासा गरिएको छ। भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं सरकारकी प्रवक्ता विमला केसीले कर्णाली प्रदेशका तीन आइसोलेसन वार्डमध्ये चौरजहारी अस्पतालमा बिरामी भर्ना गर्नेगरी तयारी भइसकेको बताइन् कान्तिपुरमा खवर छ ।





error: Content is protected !!