कृषि तथा वन विश्वविद्यालयका अनुसन्धानकर्ताले बनाए तितेपातीसहितको ह्यान्ड स्यानिटाइजर

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण मुलुक ‘लकडाउन’मा छ । लकडाउनले सबैतिर ठप्प हुँदा पनि तपाईं–हाम्रो भान्सासम्म तरकारीलगायत दैनिक उपभोगका सामग्री आइपुगेकै छन्

दाल, चामल, तरकारीजस्ता हाम्रा लागि अति आवश्यक वस्तु उत्पादन गर्ने कृषक र तपाईं–हाम्रो घरदैलोसम्म तरकारी ल्याइपुयाउने ठेलावालाहरू नै कोरोना भाइरसबाट संक्रमित भए भने के होला

यही कुरा मध्यनजर गर्दै रामपुर -चितवन स्थित कृषि तथा वन विश्वविद्यालयअन्तर्गतको ‘सेन्टर फर बायो टेक्नोलोजी जैविक प्रविधि केन्द्र का अनुसन्धानकर्ताले बजारमा पाइनेभन्दा भिन्न प्रकृतिको ‘ह्यान्ड स्यानिटाइजर’ निर्माण गरेका छन् । यसरी निर्मित स्यानिटाइजर चितवनको भरतपुर र वरिपरिका क्षेत्रका कृषक एवं तरकारीलगायतका दैनिक उपभोगका वस्तु बिक्री–वितरण गर्ने ठेलावालहरूलाई निःशुल्क वितरण सुरु पनि गरेका छन् ।

‘मानिस–मानिसबीच भौतिक दूरी कायम राखिए पनि खाद्यवस्तुको आदान–प्रदान भइरहेको छ, यस्तो वेला ठेलागाडामा तरकारी बेच्नेहरूमा संक्रमण नहोस् भनेर कसैले ध्यान दिएको छैन,’ सो केन्द्रका निर्देशक डा ईश्वरीप्रसाद कडेरिया भन्छन्, ‘त्यसैले, तत्कालका लागि उनीहरूलाई ध्यानमा राखेर हामीले स्यानिटाइजर निर्माण गरेका हौँ ।’

केन्द्रमा आबद्ध प्राध्यापकहरू कोरोना भाइरसको महामारीले विश्वव्यापी रूप लिनुअघि कृषि क्षेत्रको अन्य अनुसन्धानमा सक्रिय थिए । तर, महामारीले जब विश्वव्यापी रूप लिन थाल्यो र नेपालमा पनि त्यसको असर देखिन थाल्यो, त्यसपछि उनीहरूले तत्कालका लागि आफ्नो ध्यान महामारीबाट कसरी नेपाललाई जोगाउन सकिन्छ भन्नेतर्फ केन्द्रित गरे । कृषि विषयमा अध्ययन–अनुसन्धान गर्ने भएकाले उनीहरूको ध्यान पनि त्यसैतर्फ केन्द्रित भयो ।

डा। कडेरिया भन्छन्, ‘यतिवेला खेतीपाती र कृषिजन्य वस्तुको बिक्री–वितरणमा संलग्नहरूलाई कसैले ध्यान नदिएकाले हामीले उनीहरूलाई कसरी सुरक्षित गर्ने भन्नेमा केन्द्रित गर्न आवश्यक ठान्यौँ ।’

त्यसक्रममा उनीहरूले कृषक र ठेलावालहरूका लागि ‘ह्यान्ड स्यानिटाइजर’ निर्माणको आवश्यकता देखे । कृषक र ठेलावालहरूका हकमा अझ प्रभावकारी खालको स्यानिटाइजर आवश्यक पर्ने उनीहरूलाई लाग्यो । किनभने कृषिकर्मका क्रममा माटो–मलजस्ता फोहोर वस्तुसँग सम्पर्कमा रहनुपर्छ । त्यसैले, कोरोना भाइरसलाई निष्क्रिय बनाउन सक्ने स्यानिटाइजरमा ब्याक्टेरियालाई पनि निष्क्रिय बनाउन सक्ने तत्वको आवश्यकता बोध उनीहरूले गरे ।

स्यानिटाइजरमा ८० प्रतिशत अल्कोहल (इथानोल) , १.५ प्रतिशत डिस्रोल (ग्लिसरिन) र ० .२५ प्रतिशत हाइड्रोजन पेरोअक्साइड र बाँकी अन्य वस्तुको सम्मिश्रण हुन्छ । केन्द्रले निर्माण गरेको स्यानिटाइजरमा उल्लिखित वस्तुको सम्मिश्रणका साथै नेपालमा पाइने तितेपातीको तेल ० .१२ प्रतिशत थपिएको छ । खासमा ब्याक्टेरियालाई निष्क्रिय बनाउन सक्ने भएकाले तितेपातीको तेल प्रयोग गरिएको हो । तितेपातीको तेल थप गर्दा स्यानिटाइजर अझ प्रभावकारी हुने उपाय सोही विश्वविद्यालय तथा केन्द्रमा कार्यरत उपप्राध्यापक सरोज सापकोटाले सुझाएका थिए ।

उपप्राध्यापक सापकोटा सोही विश्वविद्यालयबाटै तितेपातीका विषयमा विद्यावारिधि गर्दै छन् । विद्यावारिधिको तयारीका क्रममा अध्ययन गर्दा सापकोटाले तितेपातीमा ‘एन्टिब्याक्टेरियल’ क्षमता अत्यधिक मात्रामा हुने पत्ता लगाएका थिए । सापकोटा भन्छन्, ‘विभिन्न देशका अध्येताहरूले यो कुरा पुष्टि गरिसकेका छन्, स्यानिटाइजरमा प्रयोग हुने अल्कोहलले भाइरसलाई मार्न सक्छ । तर, ब्याक्टेरियालाई त्यसले मार्न सक्छ भन्ने छैन । त्यसैले, हामीले एन्टिब्याक्टेरियल क्षमताका लागि तितेपातीको तेल प्रयोग ग(यौँ ।’

खासमा कोरोना भनेको भाइरस हो, ब्याक्टेरिया होइन । त्यसो भए किन स्यानिटाइजरमा ब्याक्टेरियालाई मार्न सक्ने तितेपातीको तेल प्रयोग गरियो त ?

सापकोटाका भनाइमा, खेतीपाती गर्ने, ठेलागाडा चलाउनेहरूको हातमा सानोतिनो घाउ लागेको पनि हुन सक्छ, घाउमा ब्याक्टेरियाहरू हुन सक्छन् । ‘स्यानिटाइजरमा अल्कोहलको मात्रा बढी भएकाले चह(याउन सक्छ, त्यसले घाउमा जोखिम पनि बढाउन सक्छ,’ सापकोटा भन्छन्, ‘स्यानिटाइजरमा एन्टिब्याक्टेरियल क्षमताको तितेपातीको तेल पनि मिसाएपछि त्यसले घाउलाई निको पार्न सहयोग गर्छ ।’

खेतीपाती वा गाईगोठालो जाँदा हातखुट्टामा सानोतिनो चोटपटक लाग्यो र बढी रगत बग्यो भने तितेपातीको रस हाल्ने चलन छ । डा। कडेरिया त्यसमा वैज्ञानिक कारण रहेको बताउँछन् । ‘घाउमा तितेपातीको रस हाल्दा रगत बग्न बन्द त हुन्छ नै, घाउ चाँडै निको पनि हुन्छ,’ उनी भन्छन्, ‘तितेपातीमा भएको एन्टिब्याक्टेरियल क्षमताको कारणले यस्तो भएको हो ।’

स्यानिटाइजर निर्माणमा सो विश्वविद्यालयअन्तर्गतको अनुसन्धान एवं प्रसार निर्देशनालयले आर्थिक एवं प्राविधिक सहयोग गरेको केन्द्रले बताएको छ । ‘हामीले एक सय ८० लिटर स्यानिटाइजर निर्माण गरिसकेका छौँ,’ डा कडेरियाले भने, ‘निर्माण गरिएको स्यानिटाइजर दुई सय मिलिलिटरको बोटलमा राखेर वितरण गरेका छौँ ।’





error: Content is protected !!