राहतमा कुहिएको दाल वितरण गर्ने मेयर पक्राउ

वीरगंन्ज ः कुहिएको दाल राहत बाँडेको आरोपमा मंगलबार कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव पक्राउ परेका छन्।

लकडाउनबाट प्रभावित विपन्न नागरिकलाई कुहिएको दाल राहत बाँडेको पाइएपछि उनलाई पक्राउ गरिएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए। मंगलबार बिहान ११ बजे कलैया उपमहानगरपालिकाबाट जिल्ला प्रहरी कार्यालयतर्फ आउँदै गर्दा बाटोबाटै यादवलाई नियन्त्रणमा लिइएको मिश्रले जानकारी दिए।

सर्वसाधारणलाई वितरण गर्न कलैया उपमहानगरपालिकाले वडा कार्यालयहरूलाई दाल उपलब्ध गराएको थियो। त्यो दाल मेयर यादवकै गोदामको भएको स्थानीयले बताएका छन्। कुहिएको दाल बेचेको घटनामा मेयर यादवको नाम मुुछिएपछि उनलाई नियन्त्रणमा लिइएको मिश्रले बताए। ‘मेयर यादवसँग बयान लिन सुरु गरेका छौँ,’ मिश्रले भने।

घटनामा संलग्न वडाध्यक्ष, वडासचिव, कोल्डस्टोरका कर्मचारी र दाल मिलका सञ्चालक गरी नौजनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। गएको आइतबार प्रहरीले कलैया– २० का वडा सचिव खेदु मियाँ, वडा नम्बर १ का वडाध्यक्ष हरिओम साह, ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैयास्थित यादव आइस एन्ड कोल्ड स्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई नियन्त्रणमा लिएको थियो।

घटनामा जोडिएका वडा नम्बर ११ का अध्यक्ष सर्वनारायण चौधरी, १३ का अध्यक्ष राजनप्रसाद कुर्मी र वडा नम्बर २६ का अध्यक्ष महेश साहलाई पनि प्रहरीले सोमबार पक्राउ गरेको थियो। कुहिएको दाल बिक्री गरेको पाइएपछि स्थानीय प्रशासनले कलैया उपमहानगरपालिका– ७ मा रहेको यादव आइस एन्ड कोल्ड स्टोरमा रहेको गुणस्तरहीन ३२ हजार किलो दाल नियन्त्रणमा लिएको छ। स्टोर सिल गरेर दाल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।





error: Content is protected !!