जिल्लाबाहिर रहेका विद्यार्थी झिकाउँदै स्थानीय तह

डोल्पा ः डोल्पाका स्थानीय तह विद्यार्थी झिकाउने तयारीमा जुटेका छन् । अध्ययनका लागि जिल्लाबाहिर गएका विद्यार्थी र कामविशेषले जिल्लाबाहिर गएका अन्य नागरिकलाई जिल्ला फर्काउन तयारी थालेका हुन् ।
विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड– १९)का कारण जिल्लाबाहिर रहेका नागरिकहरूमा खाद्यान्नलगायतको समेत समस्या पर्ने हो कि भन्ने डरले पनि डोल्पाली विद्यार्थी घर फर्कन चाहेको धारणा बुझिएको स्थानीय तहको भनाइ छ ।
अहिले डोल्पाका स्थानीय तहले विभिन्न माध्यमबाट घर फर्कन चाहने व्यक्तिको लगत संकलन गरिरहेका छन् । जिल्लाको ठूलीभेरी नगरपालिकाले विपत् व्यवस्थापन समितिको निर्णय नै गरेर तीन सदस्यीय उद्धार समिति खटाउँदै नागरिक झिकाउन लागेको छ ।
सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै फर्किन चाहने विद्यार्थीलगायतलाई सम्पर्क गर्न भनिएको छ । लम्बिँदो लकडाउनका कारण जिल्लाबाहिर रहेका विद्यार्थीलगायतका अन्य नागरिक समस्यामा परेकाले उनीहरूलाई एक–दुई दिनभित्रै फर्काउने तयारी थालिएको वडा नं। ९ का अध्यक्ष बिर्मलकुमार भण्डारीले जानकारी दिए ।
जिल्लाबाहिरबाट भित्रिने सबैका लागि खाने, बस्ने र स्वास्थ्य जाँचको व्यवस्था गरिसकेको बताउँदै क्वारेन्टाइन बस्दा आवश्यक पर्ने लत्ताकपडा भने सम्बन्धित व्यक्तिले नै ल्याउनुपर्ने बताए । सम्बन्धित ठाउँबाट नगरपालिकासम्म पुग्न आवश्यक खर्च ठूलीभेरी नगरपालिकाले नै व्यहोर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
त्रिपुरासुन्दरी नगरपालिकाले जिल्लाबाहिर रहेका विद्यार्थी फर्काउने वा उतै व्यवस्थापन गर्ने निर्णय भइनसकेको बताएको छ । जिल्लाका मुड्केचुला, जगदुल्ला गाउँपालिकालगायतका स्थानीय तहले पनि जिल्लाबाहिर रहेका विद्यार्थीलगायत अन्य नागरिक फर्काउने तयारी थालिएको जानकारी दिएका छन् ।










