गाउँ गाउँ प्रहरीले अफिम खेती नष्ट गर्दै 

डिल्लीराज विश्वकर्मा
रुकुम (पश्चिम) जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले गाउँ गाउँमा प्रहरी परिचालन गरी अबैध अफिम खेती नष्ट गरिरहेको छ ।
प्रहरीले जिल्लाका विभिन्न ठाँउहरुमा अवैध रुपमा भैरहेको लागु औषध अफिम खेती नष्ट गर्ने अभियानलाई अघिल्लो साता शुरु गरी अलिहे पनि तिब्रता दिएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) ठक बहादुर केसीका अनुसार जिल्लाका सानिभरी गाउँपालिका, बाँफिकोट गाउँपालिका र आठविसकोट नगरपालिकामा अवैध अफिम खेती नष्ट गरिएको हो ।
सानिभेरीका विभिन्न ठाउँमा करिव १० विगाहा क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको उहाँले बताउनुभयो । यस्तै आइतबार बाँफिकोट गाउँ पालिकाको १० नम्बर वडाका सेजे, ठुलीखर्क र जहारे गाँउमा करिव ४ बिगाह क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरिएको डिएसपी केसीले जानकारी दिनुभयो ।
प्रहरीले यस्तो अबैध खेती नगर्न सार्वजनिक रुपमै सबैलाइ पटक पटक आह्वान गदै आएको भएपनि जिल्लाका विभिन्न ठाउँमा अटेरी गरी अफिम खेती गरिएको छ । अफिमको अबैध खेती गर्नेलाई नेपालमा कडा कानुनी ब्यवस्था भएपनि यहाँका मानिसहरु लुकीछिपि खेती गरिरहेका छन ।
गाउँ गाऊँमा अवैध अफिम खेती भैरहेको भन्ने विशेष सूचनाको आधारमा बस्ती बस्तीमा प्रहरी गस्ती अभियान अन्तर्गत जिल्लाका विभिन्न ठाउँमा अफिम नष्ट गरिएको डिएसपी केसीले जानकारी दिुनभयो । सबै स्थानिय तह, वडाका सबै बस्तिबस्तिमा गएर अफिम खेती नस्ट गर्ने क्रम जारी रहेको उहाँले बताउनुभयो ।
यसैविच सोमबार आठविसकोट नगरपालिका १३ मा इलाका प्रहरी कार्यालय आठविसकोटबाट खटिएको प्रहरी टोलीले अफिम खेती नष्ट गरेको छ । प्रहरी नायब निरिक्षक तिलक बहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीद्धारा तल्लो हम्पा र माथिल्लो हम्पामा करिव १ बिगाह क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको इलाका प्रहरी कार्यालय आठविसकोटका इन्चार्ज प्रहरी निरिक्षक (इन्सपेक्टर) अच्युतराज आचार्यले बताउनुभयो ।
विशेष सूचनाको आधारमा बिहानै देखी प्रहरी टोली खटाई दिनभरी अफिम नष्ट गरिएको उहाँले बताउनुभयो ।।





error: Content is protected !!